मैले भोगेको इलामे लाखेजात्रा

 बुद्धिमान राई ‘मुर्ख’

करिब आज भन्दा पच्चीस तीस वर्ष अगाडी तिर यो लाखेजात्रा सामाजिक संधसंस्थाहरुको निम्ति आम्दानीको मूख्य स्रोतको रुपमा लिईन्थ्यो । सामाजिक संस्थाको अन्य स्रोतमा रोपाईजात्रा र मारुनी नाच पनि प्रचलनमा थियो । त्यतिखेर नेवारी समुदायमा नाम चलेका ब्यक्तिहरु नै नाच्ने चलन थियो । तर जातिय संस्थागत रुपमा भने थिएन । तत्कालीन अवस्थामा मलाई याद भए अनुसार यो लाखेजात्राका सामाग्री टाउकोमा मकुण्डो अडाउने, मलो बनाउने तथा लाखेजात्राको पहिलो दिन पुजा गर्ने पुजारी मालापथ निवासी भक्तबहादुर श्रेष्ठ मामा, अनि लाखे–भुत्लेको जोडी बनेर दमदार नाच्नु हुने पुरानाहरु मलाई नाम थाहा भएनुसार मोहन श्रेष्ठ (श्रीदल बडा ईन्द्र श्रेष्ठको बुबा), मन श्रेष्ठ (कृष्णप्रसाद श्रेष्ठ ’ख’ं नरेश श्रेष्ठको बुबा), केशर श्रेष्ठ बडा (कुमार श्रेष्ठको बुबा), माईप्रसाद श्रेष्ठको बुबा, हुनुहुन्थ्यो । यो लाखे–भुत्लेको मकुण्डो भने कृष्णप्रसाद श्रेष्ठ (उपमेयर) दाजु कहाँ हुन्थ्यो । विशेष गरी यो लाखेजात्रा र रोपाईजात्रा मालापथबासीहरुले निकाल्ने गरेको जात्रा भनेर पनि बुझ्ने गर्दथे । 
त्यसपछिका पिढीमा अर्जुन श्रेष्ठ, रामबाबु श्रेष्ठ, विष्णु श्रेष्ठ, ईन्द्र श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ ’ख’, गोपाल श्रेष्ठ, कृष्ण श्रेष्ठ ’ग’ भेषबहादुर थापा, सानु देवान, अनिल देवान, प्रदिप श्रेष्ठ, नरेश श्रेष्ठ, प्रवीण श्रेष्ठ, महेश श्रेष्ठ, कुमार श्रेष्ठ, नयेन्द्र देवान, प्रेम दियाली, रमेश श्रेष्ठ, म लगायत निकुञ्जपथका दाजुभाईहरु सकृय थियौ । यो लाखेजात्रा प्रायः सुनगाभा क्लब इलामको सहयोगार्थ मालापथबाट निकाल्ने गरिन्थ्यो । तत्कालीन अवस्थामा सुनगाभा क्लबका फाउण्डर मेम्बरहरु समेत यस जात्रामा लागि पर्नुहुन्थ्यो । यो जात्रा पहिला–पहिला गोपाल दाजु (माईप्रसाद)को घरबाट सिंगारेर निकालिन्थ्यो । पछि कृष्ण होटल र कहिले कालुमान देवान काकाको घरबाट निकालिन्थ्यो । त्यस समय पेट्रोलमेक्स बालेर गाउँ गाउँ लाखेनाच नचाउन लाने प्रचलन थियो । 
सुनगाभा क्लब पछि यो जात्रालाई नवज्योति युवा क्लब चोकबजार सदस्यहरु हामी (सन्तोष भक्तराज, सरोज खवास, रमेश श्रेष्ठ, कुमार निरौला, प्रेम दियाली र म लगायत) नवज्योति फूटबल क्लब सदस्यहरुले मालापथमा गई कृष्णप्रसाद श्रेष्ठ दाजु (उपमेयर)लाई हाम्रो संस्थाबाट जुनियर फुटबल क्लब सहयोगार्थ लाखेजात्रा निकाल्नलाई लाखेको मकुण्डो दिई सहयोग गर्नुप¥यो भनेर मागेर लिन्थ्यौ र नवज्योति युवा फुटबल खेलको निम्ति आयस्रोत जुटाउथ्यौ । त्यसपछिको समय यो लाखेजात्रा कंचन कल्चर ग्रुप निकुञ्ज पथबाट निकाल्न थालियो । 
लाखेजात्राको पहिलो दिन पूजाआजा गरेर बजार परिक्रमा गरेर दोस्रो दिनबाट नगरपालिकाका विभिन्न वार्डहरुमा लगिन्थ्यो । अनि कृष्ण जन्मष्टमीको दिन राँको बालेर नगर परिक्रमा गरी नारायणस्थानमा लगेर लाखे मार्ने चलन थियो, जो अहिले पनि प्रचलित नै छ । लाखेजात्रा प्रत्येक घरमा नचाईसकेपछि घरमूलीले स्वेच्छिक आर्थिक सहयोग दिने प्रचलन थियो । यसरी प्राप्त रकमबाट खर्च कटाएर संस्थाको आम्दानी बाँध्ने चलन थियो । नगरको वार्डहरु बाहेक यो लाखेजात्रा नाचलाई इलामको उत्तरी भेग देउराली बजार र जसबिरे लैजाने चलन थियो । पछिल्लो पटक कंचन कल्चर ग्रुपबाट यो लाखेनाच झापाको विर्तामोड र शनिश्चरे बजार पनि लिएर गएको कुरा स्मरणीय छ । यो लाखेजात्राको फोटो देखेर उहिले नै हामीले विभिन्न संस्था सहयोगार्थ लाखे नाच लिएर हिडेको स्मरण गरायो । 
मैले यो साल भन्ने चाही बिर्से एकसाल सदा झै इलामबाट लाखे जात्रा लिएर शुक्रबारको दिन सुलुबुङ गाविसमा पर्ने देउराली बजारमा गयौ । फर्किएर जसबिरेको चापगैरी माथिको घरमा म भुत्ले भएर नाच्ने क्रममा घरको आँगन चिप्लो त्यसमाथि पाण्डा जुत्ता लाएर नाचेको थिए, जुत्ता चिप्लेर लड्दा घोप्टो परेर मकुण्डोको नाक चेप्टिदै मेरो वास्तविक नाक नै फुटेर रगत निस्केको थियो, जसलाई मैले कहिल्यै भुल्दिन् । त्यसैगरी एकपटक लाखेजात्रा लिएर फूलगाँछी तिर गयौ । फूलगाँछीमा लाखे नचाउदै जाँदा धिरेन चेम्जोङग दाजुको घरमा पुग्दा रात निक्कै परेको थियो । सबै नाच हेर्न ब्यस्त रहेको बेला म र केही साथी मिलेर धिरेन दाजुको बारीमा भएको काँक्रोलाई चौथी हानेर अलिक पर लगेर खादैथ्यौ त्यसबेला दमाहा बजाउने पदम चाहार (घैटेदाई) पिशाब फेर्नु आउदा हामीले काँक्रा खाएको देख्नु भयो । हामीले काँक्रा खाएको हल्ला गर्ला भनेर उहाँलाई पनि काक्रा भाँचेर खान दियौ । काँक्रा चौथी हानेर खाईसकेपछि धिरेन दाजुको घरमा लाखेनाच पनि नचाईसकेको थियो । त्यसपछि लाखे लिएर ताराकुटी हुदै रातको दश बजे पछि फर्किएर गयौ ।
भोलिपल्ट बिहान दमाहा बजाउने पदम दाई (घैटेदाई) बिरामी हुनुभएछ । मैले पनि बिरामी भएको सुनेर के भयो दाजु भनेको ? तिमीहरुले काँक्रा चोरेर मलाई देवा लाग्यो भन्नु भो । हामीले पनि साँच्चै हो कि भनेर धामीलाई बोलाएर फुकफाक ग¥यौ तर बिहान नौ बजे सम्म पनि निको भएन । तसर्थ हस्पिटल लग्यौ । अस्पताल दुई दिन राखे पछि निको हुनु भो । तर त्यसपछिको दिन लाखे लिएर जादा काँक्रो चोर्लास, मलाई देवा लाग्ला भन्दै घैटे दाईले कराउनु हुन्थ्यो हामीलाई । हुन त यो समय पदम दाई (घैटेदाई) परलोक भै सक्नुभयो तर आज नेवा समाजको दाजु ईन्द्र श्रेष्ठले मुहारपुस्तिकामा लाखेजात्राको फोटो अपलोड गर्नुहुँदा विगत लाई स्मरण गर्नपुगे ।
आजकल यो लाखेजात्रा इलाम नगरपालिका भित्र सिमित बनेको छ । जेहोस अब दिन दिनै इलाममा विभिन्न पर्वहरु भित्रिएको आभाष यो परदेशबाट गरेको छु । “कला संस्कार र संस्कृतिको धनी हाम्रो इलाम, सफा सुग्घर हाम्रो इलाम ।” लेखक प्रवासस्थित चियाबारी सहकर्मी हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment