पुवाखोला–एक आयोजना विरुद्ध स्थानीयबासी


इलाम, १२ भदौ ः इलाम नगरपालिका र शान्तिडाँडा गाविस बीच भएर बग्ने पुवा खोलामा निर्माणाधिन पुवाखोला–एक जलविद्युत आयोजनाले स्थानीयबासीलाई गुमराहमा राख्दै गोदकस्थित काबेली कोरिडोरको स्टेशनसम्म तेत्तीस केभी लाईन लैजानको लागि इलाम नगरको वडा नं. ४ स्थित संगम टोलमा जथाभावी पोल गाडेको भन्दै उनीहरु आक्रोशित भएका छन् ।
आइतबार उनीहरुले यसको विरुद्ध जिल्ला प्रशासन कार्यलय, जिल्ला विकास समिति, इलाम नगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल विद्युत प्राधिकरण तथा पुवाखोला जलविद्युत आयोजनालाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले ज्ञापन पत्रमा हाल पुवाखोला–एक आयोजनाबाट उत्पादन भएको  विद्युत बिक्रीको लागि लैजाने क्रममा गरिएको पोलिङ कार्य स्थगित गरी सम्बन्धित निकायले अन्य स्थानको विकल्प खोजी गरियोस् र आगामी दिनमा यसरी उत्पादन गृहबाट सबस्टेशनमा लैजाने कुनैपनि प्रकारका तारहरु जडान गर्नको लागि यस वडाबासीहरुको कुनै स्विकृति नभएको व्यहोरा अनुरोध छ साथै वडाबासीको स्विकृति बिना पोलिङ तथा तार बिस्तार कार्य नगरियोस भन्ने समेत उल्लेख गरेका छन् ।
इलाम नगरपालिकामा ज्ञापन पत्र बुझाउने क्रममा १० गते शुक्रबार आयोजनाले तार तथा पोलिङ बिस्तार गर्नको लागि नगरमा अनुमति लिन आएको र सो बखत आयोजनाले उक्त क्षेत्रमाा पोलिङ गर्नको लागि पैत्तीस दिने सार्वजनिक सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गरेको आयोजनाका कर्मचारीले जानकारी दिएको निमित्त कार्यालय प्रमुख राम श्रेष्ठले स्थानीयबासीलाई जानकारी दिएका थिए । तर नेपाली कांग्रेस वडा नं. ४ वडा कमिटिका अध्यक्ष नेत्रमणी भट्टराईले सूचना जारी गरेको कुरा ठाडै अस्विकार गरे । उनले भने– ‘समस्या गाउँमा छ राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गरेर हामीलाई गुमराहमा राख्न खोजेको हो । सम्बन्धित स्थानमा पोलिङ र तार जडान गरी लैजाने कुनै पनि जानकारी वा सूचना गरिएको छैन् ।’
यस अघि निर्माण सम्पन्न भएको पुवाखोला जलविद्युत आयोजनाले इलामको वडा नं. ४ लाई प्राकृतिक रुपमा भूधरातल कमजोर बनाएको, करेन्ट प्रवाह भएर गाईवस्तुहरुको मृत्यु भएका घटनाहरुले गर्दा सो क्षेत्रमा समन्वय गरेर मात्र तार विस्तार गरिनु पर्ने नेकपा माओबादी केन्द्रका प्रतिनिधि कृष्ण तामाङले बताए । पुवाखोला एक आयोजनाले उत्पादन गरेको विद्युतलाई गोदकस्थित सबस्टेशनमा जडान गर्नका लागि भईरहेको पोलिङ कार्य इलाम न.पा. वडा नं. ४ संगम टोलमा पु¥याईएको छ, उक्तक्षेत्रमा स्थानीयबासी करिब एघार मिटर जमीन निःशुल्क छाड्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ जसले हाम्रो घाउमा नुनचुक लगाएको अनुभूति भएको छ । यस वडामा विद्यालय, वडा कार्यालय, चोक र चौबीसै घण्टा आवतजावत गर्ने मुख्य सडक पर्दछ । आयोजनाको कर्मचारीहरुले तार बिस्तारको लागि स्थानीय महिला बृद्धबृद्धाहरुलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गरेको नेकपा एमाले वडा कमिटि अध्यक्ष रुद्रबहादुर विष्टले चियाबारी दैनिकलाई बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment