इलाममा हरियो तरकारी खरिद गर्न महाभारतको युद्ध बराबर

राजेश पराजुली

इलाम, १७ साउनः इलाम सदरमुकामको चोकबजारमा हप्तामा दुई पटक हाट लाग्छ आइतबार र बिहीबार । यो हाटको विशेषता भनेकै ताजा तरकारीहरुको किनबेच हो । तर यही बजारमा उपभोक्ताहरुले तरकारी खरिद गर्नको लागि भने महाभारत नै हुने गरेको उनीहरुको गुनासो रहेको छ । हरेक हाटहरुमा हेर्न लायक दृष्य भनेको तीन पक्षबिचको लुछातानी र हारालुछ हो । यो सत्य नाटकका अभिनयकर्ताहरु हुन– तरकारी उत्पादन गरेर बजारमा बिक्री गर्न ल्याउने किसान, तरकारीका स्थानीय उपभोक्ता र तरकारी खरिद गरेर पुनः बिक्री गर्ने बिचौलियाहरु । अब त यस्ता दृष्यहरु हेर्न देख्न र भोग्न सबै पोख्त भईसकेका छन् । किसानहरुले ल्याएको तरकारीको बोरा, डोको गाडीबाट झार्न साथ उपभोक्ता र बिचौलियाहरुले लुछाचुडी गर्न थाल्छन् । यसमा सबैको आ–आफ्नो स्वार्थ रहेको छ– उपभोक्ताहरु स्वच्छ तरकारी सस्तोमा खरिद गर्न पाउँ भन्ने र बिचौलियाहरु सबै तरकारी आफै खरिद गरेर आफुले चाहेको मुल्यमा बेच्न पाउँ भन्ने । यसैले गर्दा हरेक हाटमा तीन पक्षबिच झै–झगडा भईरहे पनि यस्ता घटना अब सामान्य बन्न थालेको स्थानीय व्यवसायीहरुको भनाई रहेको छ ।
इलाम जीतपुरका स्थायीबासी तथा हाल इलामस्थित एक सहकारी संस्थामा कार्यरत टंक दाहाल भन्छन्– ‘किसानले गाउँबाट ल्याएको तरकारी सहजरुपमा किन्न पाईदैन, खरिदेले किनेको तरकारी एक घण्टैमा चालीस देखि पचास प्रतिशत बृद्धि गरेर बिक्री गर्छन त्यो पनि मुठाको आकार घटाएर ।’ यता सदरमुकाममै जुत्ता पसल व्यवसाय गर्ने तिर्थ ढकाल पनि बिचौलियाको कारण आफु ठगिनु परेको गुनासो गर्दछन् । उनी भन्छन्– ‘बिचौलिया व्यापारीकोमा पाईने तरकारीको मुठा, आकार सानो हुने गरेको छ ।’ 
हरेक दिन नियमित रुपमा आँखा अगाडि नै तरकारी व्यापार देख्दै आएका नमुना किराना पसलका प्रोपाइटर भोला रायको विचारमा इलामको तरकारी महङ्गो नभएर बिचौलियाको कारण महङ्गो बनाइएको बुझाइ रहेको छ । ‘आइतबारको हाटमा असी रुपैंयाँ प्रति किलोमा खरिद भएको सिमी भरेदेखि एकसय बीस रुपैयाँ प्रतिकिलो बन्न पुग्यो । अब आफै भन्नुस् तरकारीमा महङ्गी कसले बढाएको हो ?’ उनी प्रतिप्रश्न गर्छन् । उनले भने– यो समस्या तीन चार जना बिचौलियाको कारण उब्जेको हो, यसलाई समाधान गर्न सकिन्छ । हरेक दिन तरकारी खरिदको लागि बिहानै बजार पुग्ने च्याङ्बा होटलकी संचालिका मिङमा शेर्पालाई बिचौलिया व्यापारीले गर्ने व्यवहार प्रति घृणा गर्छिन । उनी भन्छिन– ‘हामी पनि होटल व्यवसायी हौं, हरेक दिन हामीलाई पन्ध्र–बीस केजी तरकारी आवश्यक पर्दछ । बजारमा किन्न गयो किसानले गाडीबाट तरकारी झार्नै पाएको हुँदैन कुखुराले चल्ला छोपे जस्तो सबै तरकारी बिचौलियाहरुले कब्जा गर्ने गर्छन हामी त हेरेको हे¥यै ।’ त्यस्तै गुनासो छ भानुपथमा अन्तरे भाईको होटल संचालन गरिरहेकी जमुना बुढाथोकी र शेर्पा होटलकी संचालिका लक्की शेर्पाको । लक्की शेर्पाले त भर्खरै बिचौलियाबाट तीस रुपैयाँमा खरिद गरेको फर्सीको मुन्टा गनेरै चियाबारी दैनिकलाई देखाउँदै भनिन्– ‘जम्मा पच्चीस थान रहेछ, गोटाको एक रुपैंयाँ बीस पैसा पर्न गयो ।’
ताजा तरकारीका अर्का उपभोक्ता प्रकाशपथ निवासी रमेश चिपालुलाई तरकारी किन्न युद्धमा गए सरह तयारी भएर जानुपर्ने अनुभव रहेको बताए । उनले भने– ‘केहि दिन अघि डुकु किन्न किसाने व्यापारीकोमा छान्दै थिए, एउटा बिचौलिया आएर के तिमी सबै राख्छौं ? म सबै राख्ने हो भन्दै मबाट खोसेर पो लगे । मैले पनि ठाडै प्रतिवाद गरेर त्यसलाई खरिद गर्नै दिईन । तर के गर्नु सबै म जस्तै जंङ्गिने उपभोक्ता हुदैनन्, विचराहरु अन्तिममा बिचौलियाकै शरणमा पुग्छन् ।’ 
अस्पताल लाईनमा बच्चा सामाग्रीको होलसेल पसल संचालन गर्दै आएका केशब खनाल भन्छन्– ‘हामीले व्यवसाय संचालन गर्दै आएको पसलको अगाडीको भाग गाउँबाट आउने किसानहरुलाई व्यापार गर्न सहज होस भनेर ठाउँ दिएका हौं तर त्यहाँ त हाम्रै अगाडि बिचौलियाहरुको नाङ्गो हस्तक्षेप हेरेर बस्नु पर्ने अवस्था पो आयो । विचराहरुको पोको कुनले लग्छन् कसले लग्छन् पत्तै पाउदैनन् । आफ्नै पसल अगाडी तरकारी बजार लाग्छ तर कहिले पनि सस्तोमा तरकारी खान पाईएन ।’ 
यता हरेक दिन बरबोटबाट तरकारी ल्याएर इलाम बजारमा बिक्री गर्दै आएकी ठाकुरा भण्डारीको बुझाई भने केहि बेग्लै छ । उनी समयको बचत तथा एकमुष्ठ पैसा पाउने भएकोले पनि बिचौलियाहरुलाई तरकारी बेच्नु केहि सहज हुने बताईन् । उनले भनिन्– ‘बिचौलियालाई दिँदा एकमुष्ठ रकम हात पर्छ, नबिक्ने भन्ने समस्या हुदैन, उपभोक्ताहरुले छानेर छाडेको बाँकी तरकारी बेच्न कुरेर बस्नु पर्ने हुन्छ अनि त्यो पनि निकै सस्तोमा बिक्री गर्नु पर्दछ ।’ सोमबार उनले ल्याएको इस्कुस प्रति किलो बीस रुपैंयाँ दरले उनीहरुलाई नैं बिक्री गरेको जानकारी दिईन । इलाम बजारमा होलसेलको तरकारी र फलफुल व्यवसाय संचालन गर्दै आएका विजय वराहीका अनुसार उनले प्रायः तरकारीहरु झापाबाट ल्याउने भएको कारण इलाममा तरकारी खरिद गर्नै पर्ने वाध्यता नरहेको बताए । तर पनि उनको विचारमा उपभोक्ताहरुले छानेर छाडेको नराम्रो तरकारी अन्त्यमा फ्याँक्नु पर्ने हुन्छ त्यही भएर खरिद गर्ने बिक्रेतालाई बेच्नु राम्रो हुन्छ । त्यस्तै कहिले किसान भएर तरकारी उत्पादन गर्ने त कहिले अन्य किसानहरुबाट तरकारी खरिद गरेर बिक्री गर्दै आएका इलाम न.पा. ५ का सोमबहादुर निरौलाको छुट्टै बुझाई छ । उनी भन्छन्– ‘तरकारी कुहिएर जाने वस्तु हो । दुईदिन भित्र खपत भएन भने फ्याँक्नुको विकल्प छैन् त्यही भएर मुल्यमा अलिकति महङ्गो हुनु स्वभाविकै हो । फेरी हाटको दिन देखि बाहेक पनि तरकारी उपलब्ध गराईरहेका छौं । घाटापुर्ति गर्न पनि केहि मुल्य बृद्धि हुन्छ नैं ।’ यसबारे अन्य तरकारी बिक्रेता व्यापारीहरुलाई पनि प्रतिक्रिया लिन खोज्दा उनीहरुले सम्पर्क गर्न चाहेनन् । 
हरेक हाटको दिन गाउँ–गाउँबाट किसानहरुको तरकारी ढुवानी गर्दै आएका यातायात व्यवसायी मणीकुमार प्रधानलाई व्यापार सकिएर किसानहरु घर फर्कदा दिनभरी बजारमा घटेका घट्नाहरु यात्राको क्रममा कसरी पोख्छन् भन्ने जिज्ञासामा उनले भने– ‘खरिदकर्तालाई नदिने भनेर गएका हुन्छन तर अन्त्यमा त्यही खरिदेकोमा नैं सामान पुग्ने गरेको, खरिदेले लगेको सामानमा कहिले तौल कमि भयो कहिले माल राम्रो नभएको र त्यही कारण देखाएर कम्ति पैसा दिने गरेको गुनासो पोख्छन् ।’ उनले खरिदकर्तालाई किसानको घरमै गएर सामान बिक्री गर्न उपर्युक्त हुने सुझाव समेत दिए ।
तरकारी बजार लाग्ने मुख्य स्थानमै जुत्ता चप्पल व्यवसाय संचालन गर्दै आएका इलाम उद्योग वाणिज्य संघका सदस्य समेत रहेका डम्बर लुङ्गेली यसबारे वाणिज्य संघ, नगरपालिका, व्यापारी उपभोक्ता मिलेर एउटा आचार संहिता बनाएर जान उचित हुने बताए । उनका अनुसार कम्तिमा पनि बिहान एघार बजेसम्म उपभोक्ताहरुलाई तरकारी खरिद गर्ने वातावरण बनाएर त्यसपछि थोक खरिदकर्ताहरुले किन्ने व्यवस्था मिलाउन सके उत्तम हुने उनको धारणा छ । 
यसै विषयमा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्दप्रसाद कट्ेलसँग जानकारी लिँदा यो विषय व्यापारी र किसानबिचको आन्तरिक समस्या हो । यसलाई दुवै पक्ष राखेर समझदारी कायम गर्न सकिने बताए । तर साँच्चै कालोबजारी भएको हो भने कानुन कार्यान्वयन गर्ने निकायसँग समन्वय गरी अगाडि बढ्न सकिन्छ तर यसै विषयमा हालसम्म संघमा कुनै उजुरी नपरेको समेत उनले चियाबारी दैनिकलाई बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment