पहराको जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य छन् जिर्मलेबासी


जिर्मले, ४ भदौ : नेपालको विकसित जिल्लाहरुको गन्तीमा पर्ने इलाममा भने एक गाविसको एउटा गाउँदेखि अर्को गाउँ जान विकल्पविहिन पहराको बाटो प्रयोग गर्नै पर्छ भन्ने कुरामा धैरैलाई पत्यार नलाग्न सक्ला तर जिर्मलेबासीको लागि दैनिक जीवन बिताउन यस्तो यात्रा अनिवार्य नै रहेको छ । इलामको दक्षिण पुर्वमा रहेको जिर्मलेको वडा नं ६ देखि पल्लो पट्टि रहेको गाउँ वडा नं १ र सलकपुर जानको लागि गाजले डाँडा देखि झापाको निन्दा सम्म करिब चार किलोमिटर जति लामो तथा करिब सात सय मिटर उचाइको पहराको मध्य भागमा रहेको गोरेटो बाटोको प्रयोग गर्नु अनिवार्य नै रहेको कारण जिर्मलेबासी हरेक दिन सोही पहराको बाटो हिडेर जीवन यापन गरिरहेका छन् । वि.सं. २०४२ सालतिर जिर्मलेको सलकपुरमा खानेपानीको पाइप बिस्तार गरिदा देखि मानिसहरु मुस्किलले आवत जावत गर्न थालेको उक्त पहराको गोरेटो बाटो संचालन हुनु अगाडी जिर्मले ६ को धजेबाट सलकपुर जानको लागि गाजले डाँडाबाट घोरेटो बाटो रहेको भएपनि पहिरोको कारण हाल सो बाटोको नामोनिसान समेत नरहेको कारण पनि उक्त पहराको बाटो हिड्नु बाध्यता नै रहेको हो । उक्त पहराको बाटो जिर्मलेबासीको लागिमात्र अनिवार्य होइन, हर्कटे बजारबाट दक्षिण पूर्व लागेर इलामकै धेरै सुन्तला र अलैची उत्पादन हुने स्थान सलकपुर जान चाहनेहरुले पनि सोही बाटोको प्रयोग गर्नु पर्ने अवस्था रहेको छ ।
हुन त यो विकल्पविहिन बाटो भने होइन उक्त बाटोको विकल्पमा वि.सं. २०५६ सालदेखि सडक डिभिजन कार्यालय इलामले नै धजे–गाजले डाँडा सडक निमाण शुरु गरेको र वि.सं. २०६६ सालतिर कच्ची सडक बनेकोले मोटर समेत संचालन भएको थियो । हरेक वर्षको वर्षातमा गाजले डाँडामा पहिरो जाने र मर्मत गरेर संचालन गरिने गरेको भएपनि आर्थिक वर्ष २०७१्७२मा जिल्ला विकास समितिले निमार्ण गर्ने भनिएको भएपनि गाजले डाँडाको करिब एकसय मिटर जतिको पहिरो पन्छाउन कतैबाट पहल नभएको कारण स्थानीयबासीहरुले ज्यानको जोखिम मोलेर पहराकै बाटो प्रयोग गर्नु परेको स्थानीय डम्बर राईले बताए । 
हरेक दिन करिब एकसय जना जति स्थानीय र अन्य स्थानका मानिसहरुको आवात जावत हुने सो बाटोमा हालसम्म कुनै मानवीय संकट नआएको भएपनि केही चौपायहरु भने लडेर मरेको स्थानीयबासीहरुको भनाइ रहेको छ । हरेक पटकको वर्षा याममा पहिरोको जोखिम र हिउदको समयमा जंगली जनावरहरुले लडाएको ढुङ्गगाले उक्त बाटो हिड्न निक्कै समस्या भोग्नुपरेको जिर्मले १ सलकपुरमा घरभई जिर्मले ५ रम्भ्याङ्गको सरस्वती माविमा अध्यापन गराउने पूर्व शिक्षक खेमराज खनालको अनुभव रहेको छ । बाटोको विकटताकै कारण गाविसको विद्यालय छाडेर झापामा सरुवा लिएर गएको उनको भनाइ रहेको छ । 
त्यसो त जिर्मलेबासीले उक्त पहराको विकल्पको कुरा जिल्ला विकास समिति इलाम, सडक डिभिजन कार्यालय इलाम राजनैतिक दलमा समेत नराखेको भने हैन । बाटोको समस्याको बारेमा वि.सं. २०५६ सालमा तत्कालिन सभासद बेनुपराज प्रसाइलाई अवगत गराएर धजे–गाजले सडक निमार्ण थालिएको र पछि सभासद तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उक्त बाटो अवस्थाको बारेमा अवगत गराइ धजे–गाजले–सलकपुर खण्ड मर्मत र स्तरोन्नतिको कुरा भएतापनि काम नभएकोमा जिर्मलेबासीको दुखेसो रहेको छ । 
कुनैपनि मानवीय घटना नभइ सचेत नहुने हाम्रो देशको चलन संस्कार नै बनिसकेकोमा स्थानीयबासीको सहजता र सम्भाव्य जोखिमलाई टार्न सम्बन्धित निकायबाट समयमै ध्यान लगाउन स्थानीयबासीहरुको आग्रह रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment