भोली बिहीबार रोपाईं जात्रा, सबै तयारी पुरा


इलाम, ७ भदौः इलाम सदरमुकाममा परम्परागत रुपमा लाग्दै आएको रोपाई जात्राको तयारी पुरा भएको जानकारी आयोजक संस्थाले दिएको छ । जात्रा भोली भदौ ९ गते आयोजना गरिने भएको हो । जात्रामा सहभागी हुने रोपाहार र बाउसेलाई मंगलबार र बुधबार प्रशिक्षण दिइने भएको छ । करिब दश वर्ष अगाडि देखि नियमित रुपमा जात्रा संचालन गर्दै आएको नेपाल भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले चियाबारी दैनिकलाई जानकारी दिएका छन् । यस भन्दा अघि यो जात्रा अन्य संघ–संस्थाहरुले संचालन गर्ने गरेका थिए । अध्यक्ष श्रेष्ठले यसपटक रोपाहार तथा बाउसेको संख्या एक सयको हाराहारीमा पुग्ने बताए । जात्रामा सहभागी जनाउने सबैलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिने छ । सहभागी सबैबाट उत्कृष्ट हुने एक जनालाई विशेष पुरस्कार तथा महिला एवम पुरुषबाट प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई पनि पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए । गत वर्ष जात्रा संचालनको लागि अनुमान गरिएको रकम दुई लाख रुपैंयाँ मध्ये एक लाख पैसठ्ठी हजार रुपैंयाँ मात्र संकलन भएको र यस वर्ष दुई लाख बैसठ्ठी हजार रुपैंयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । उक्त रकम सहभागी, स्वयम सेवक, आयोजकहरुको खाना–खाजा, विभिन्न बाजा–गाजा समुह, श्रृंगार–श्रृंगार कपडा, प्रचार–प्रसार, पर्चा–पम्प्लेट लगायतमा खर्च हुने श्रेष्ठले बताए । समाजले इलाममा हरेक वर्ष गठे मंगल, लाखेजात्रा, गाईजात्रा, रोपाई जात्रा जस्ता पर्वहरु मनाउदै आएको छ । समाजले नेवारी समुदायले बनाउने चाड बाहेक रोपाई जात्रालाई इलामेहरुको मौलिक पर्व भएकोले यसको संरक्षणको लागि समाजले नैं जात्रा आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने– ‘रोपाई जात्राको प्रचलन गाउँघर तिर रोपाई गरेको अभिनयलाई शहर–बजारमा प्रस्तुत गरेर देखाउने चलन नैं जात्राको रुप लिएको हुनु पर्दछ । पहिले केटाहरु केटीको भेषभुषा लगाएर रोपाहार बन्थे तर अचेल समावेशी तरिकाबाट दुवै पक्ष भाग लिने गरेका छन् ।’ उनले भने– ‘देश द्धन्दमा फसेपछि धाननाच चाही लोप भएर गयो । नत्र साँझ हुने धाननाचले इलाम बजारको अर्कै महत्व राख्थ्यो । मैले यसपटक धाननाच पनि गर्नुपर्छ भनेर याक्थुम चुम्लुङका साथीहरुलाई भनेको छु, सायद यसपटक धाननाच हेर्न पाईन्छ होला ।’ उनले यस जात्रामा इलामस्थित विभिन्न संघ–संस्थामा आवद्ध भएका विदेशी कर्मचारी तथा स्वयम सेवकहरुले पनि सहभागिता जनाउने विश्वास व्यक्त गरे ।
समाजले जात्रा संचालन गर्नको लागि ध्रुव भक्तराजको संयोजकत्वमा मुल समिति बनाएको छ भने यसको अलावा प्रचार–प्रसार समिति, खाना–खाजा समिति, स्वयमसेवक परिचालन समिति, अर्थ संकलन समिति, श्रृंगार, पञ्चकन्या, बाजा व्यवस्थापन, बाउसे व्यवस्थापन, रोपाहार व्यवस्थापन, पुरस्कार छनौट, सुरक्षा व्यवस्थापन संयोजकहरु चयन गरेको छ । आयोजक, विभिन्न समिति, करिब सय जना सुरक्षाकर्मीहरु सहित चारसय पचास जना व्यक्तिहरुले जात्रा व्यवस्थापन गर्ने समाजले तयार गरेको प्रस्तावनामा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment