म लेखक बनौला र ठूलै राहत पाउँला भन्ने आशाका साथ थोत्रे कापीको पन्ना र मसी सकिनै लागेको कलम लिएर एउटा लेख लेख्न भन्दै बसें चकटीमा पलेंटी कसेर । तर शीर्षक नै जुरेन । एउटा शीर्षक जुराउन नसक्नेले के लेख लेख्न हिम्मत गर्नु ? तर “नाँच्नै उठेपछि के को लोक लाज ?“ यही आशा राखेको “राहत“ शीर्षक राखे भैगो नि ! मनमा यौटा तर्क ताने पश्चात् शीर्षक “राहत“ राख्ने निश्चय गर्दै थाले “राहतको“ भजन गाउन् ।
राहत भनेको असहाय, दुःखी, पिडित तथा पिछडिएका वर्ग आदिलाई दिईने कुरामा पनि त्यसै भित्रको लेखक पो बन्न सक्छु कि !! कतै बाढी पहिरो भूकम्प आगलागी पछाडि परेका दलित जनजाति तथा राजनीति पिडितलाई सरकार, दातृ संघसंस्था, धनीवर्ग आदिले कामचलाउ सहयोग गर्ने कुरालाई नै “राहत“ भन्ने गरिन्छ । तर बिडम्बना के छ भने त्यो राहतभित्रको गुदीलाई सबै चुसेर मात्र बबुरा पिडितहरुको हातमा बोक्रा मात्रै थमाइदिएको यी आफ्नै डेडे आँखाले देखेपछि राहत वितरणमा के विश्वास गरौं ? फेरि निरिह दुःखीलाई दिने कुरा लिने म त्यस्तो निरिह हुँ भनेर कसरी भन्नू ? आफैलाई लाज लागेर आउने । यस्तो राहत थापेर म आफैंलाई बाँचुन्जेल किन पीडा दिलाउँ, भो परेन यो राहत साहत मलाई । तर के गर्नु यो राहत भन्ने लुतो सर्दा सर्दै देशभित्रका विभिन्न संघ–संस्था आदीमा मज्जैले प्रवेश गरिसकेछ । हुँदाहुँदै यसले शिक्षा जस्तो स्वच्छ र पवित्र क्षेत्रमा पनि स्वात्तै छिरेर प्रभुत्व जमाई सकेछ । यो देख्दा हाम्रो देश शिक्षा क्षेत्रमा कतिसम्म दुःखी र पिडित रहेछ भन्ने कुरा बुझ्न त्यति गाह्रो पर्दैन् ।
एक दिन म मेरो जागिरे खेतीमा जान हतार हतारमा थिए । एकजना ठूलै ठाउँमा प्रभुत्व जमाएर बसेका राहतभित्र फसेको मित्रले मलाई रोक्दै भने– “ए सुन्नुस् त ! तपाईंको विद्यालयमा पनि राहत परे जस्तो छ क्या...! “राहत परेको कुराले केही खुशी र केही दुःखी हुँदै दौडिए अगाडि । किन कि समय एघार नाघिसकेको थियो । मित्रले अल्मल्याए भने बाह्रै बज्ने निश्चित थियोे कार्यालय पुग्न । अरुलाई समयको ख्याल गर्न निर्देशन दिने आफू चाहिँ बेला बिताएर जाने, यो शैलीले ‘जो गाउँको मुखिया उही बाटो हगुवा’ होला भन्ने डर । तै पनि विद्यालयको हितको कुरा सुन्न पाएको त्यसैले डरलाई पर छाड्दै लम्किएँ हतार गर्दै अगाडि ।
यो राहतमा पनि ठूलै चलखेल भएछ लौ । हाम्रोमा परेको राहत कोटा त हल्लाले हो या सल्लाहले अर्कैतिर पो आहत भएछ बा ! म पनि कम्तिको थिईन, गएँ आफुले चिनेका तर काम नकाट्ने नेता भनाउदासँग राहत गुमेको कुरा बिन्ती बिसाउन । कुरा उठ्यो काम नकाट्ने नेताको । जनताको भोटले चुनिएर आएका भए पो काम काट्ने भन्नु तर नोटले फड्को मारेर चुलीमा पुगेका नेताले के पो काम कट्छन् ? फेरि नेताको कुरा गर्दा राजनीतिले छोईहाल्ने । यो राजनीति शव्दले पनि आजकाल कतिको गिदी खाईसकेको छ । म त यो राजनीति भन्ने शब्द सुन्नै नपरोस् भन्ने मान्छे । कुरा त लम्बिदै पो जाने भयो । राजा नै नभएको देशमा के को राजनीतिको कुरा ? त्यसो भए के नीति भन्ने त ? कुरो सजिलै त छ प्रजानीति, जननीति, लोकनीति, गणनीति भन्न सकिदैन र ? कस्तो लाग्यो त मेरो राजनीति परिवर्तन प्रतिको विचार ? म पनि यस विषयमा यौटा ठूलै दार्शनिक भईन त !!
लौ “एकातिर दैलो अर्कै्ितर भैलो !’’ भने झैँ भएछ । अँ ! तिनै नेतासँग राहतको बारेमा अनुनय विनय गरेपछि उनले भने– “तपाईंहरुले विद्यार्थी संख्या नै कम देखाउनु भएछ, कहाँ पर्छ त राहत ? यसो बीस–तीस चडाई बडाई गरी फारम भरेको भए हुने कुरो बुझ्नु छैन । सुनौ त नेताका कुरा । हुँदै नभएका विद्यार्थी कहाँबाट बढाउनु ? नभएका विद्यार्थी बढाएर बल्ल–बल्लको जागिर धरापमा पार्नुछ र ? तै पनि आठ–दस त नबढाएको त कहाँ हो र ? त्यति गर्दा त मुटु कस्तो ढुकढुक भएको थियो ?
फेरि एक दिन एक ठूलै स्तरका भलादमीसँग टुप्लुक्क भेट भयो । आदर सत्कार पछि उनले उहीँ राहतकै कुरा जोड्दै भने– “कसो सर ! तपाईंको स्कुलमा पर्यो राहत ? मेरी श्रीमतिलाई त खुवाइयो पो’’ म केही कुरा सोध्न खोज्दैथें तर सोध्नै नपाई औँलो बाङ्गोपार्दै उनले भने– “सोझो औँलाले घिउ आउँदैन सर । विद्यार्थी त त्यस्तै पचास–साठी थिए तर डेढसयको संख्यामा देखाईयो त्यसमा पनि माथिका तलका सबैलाई रिझाइयो राहत त छिराइयो ।’’ तर मैले केही प्रतिक्रिया जनाइन । बरु म कान थुन्दै लागें आफ्नो गन्तव्य तिर । मलाई किन–किन खुशी लागिरहेको थियो, आखिर “राहत“ भन्ने लुतोबाट यस पटक यो एउटा विद्यालय त सुरक्षित बन्यो । धन्य भगवान् !! अस्तु !! सिद्धिथुम्का, इलाम
0 comments:
Post a Comment