समृद्ध नेपाल निर्माणमा युवा शक्ति


१. विषय प्रवेश ः 
युवाहरु सबैखाले परिवर्तनका सम्बाहक हुन् । यो सत्यलाई कसैले पनि नकार्न सक्दैन् । यसो भन्नुको मतलब मुलुकको विकास र समृद्धिमा युवाको निर्णायक भूमिका सर्वस्वीकृत यथार्थ हो । यसको मतलब राष्ट्र निर्माणको सन्दर्भमा युवा एउटा महत्वपूर्ण विषय र जगजाहेर प्रस्थापना हो । नेपालको जनगणना अनुसार युवाहरुको संख्या करिब ४० प्रतिशत रहेको देखिन्छ । राष्ट्रिय युवा नीतिले १६–४० वर्षको उमेर समूहलाई युवा उमेर समूह भनी परिभाषित गरिएको छ । मुलुक र संघ, संगठनपिच्छे युवाको उमेर फरक–फरक परिभाषित गरिएको हुन्छ । बेलायतमा १६–१८, अमेरिकामा १२–१८, अफ्रिकी चार्टरमा १५–३५, फिलिपिन्समा १५–३०, नाइजेरियामा १२–३०, मलेसियामा १६–४०, इन्डोनेसियामा १६–३५, म्यान्मारमा १६–१८, हङ्कङ्मा ६–२४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गरिएको छ । यो विश्वका केही देशहरुको उदाहरण मात्रै हुन् । यद्यपी युवा शक्ति नै राष्ट्र निर्माणका महत्वपूर्ण आधार हुन् । 
बृद्धबृद्धा समाजका महत्वपूर्ण अंग हुन् । इतिहासमा उनीहरुले गरेको योगदान प्रशंसनीय विषय हो, जसका लागि उनीहरु आदरका पात्र हुन् । तर मुलुकको विकास र समृद्धिमा उनीहरुको भूमिका अभिभावकीय मात्रै हुन्छ । राष्ट्रसँग उनीहरुको सम्बन्ध भावनात्मक र निजात्मक मात्रै हुने गर्दछ । योगदानका हिसाबले सीमित हुन पुगेको त्यस्तो पुस्ताका लागि चासोको विषय भनेको आफूहरुले गरेको योगदानहरु सँधैभरी सम्झिरहुन, आफ्नो बाँकी जिन्दगी शान्तसँग यापन होस् र भोलीका पुस्ताले सुरक्षित भविष्य पाउन् । यस्तै बालबालिका पनि समाजका निकै महत्वपूर्ण हिस्सा हुन् । तर उनीहरु राष्ट्र निर्माणमा भविष्यका लागि मात्रै बढी महत्वपूर्ण हुन् । वर्तमानमा उनीहरुको मुख्य सरोकार भविष्यको निम्ती तयारीका लागि उपयुक्त वातावरणको प्रत्याभूति हो । 
युवा पुस्ताको लागि भने राष्ट्र वर्तमान र भविष्य दुवै हो । उनीहरु यसका कर्ता र भोक्ता दुवै हुन् । न उनीहरु अतितजीवि भएर बाँचन सक्दछन्, न त भविष्यका लागि एउटा शुभचिन्तक मात्रै भएर बस्न, न त अरुको पौरखमा बाँच्न सक्दछन् । उनीहरुका लागि राष्ट्र अतितबाट प्राप्त इतिहास, काम गर्ने वर्तमान कर्मथलो र सुरक्षित भविष्यको आधारशीला पनि हो । त्यसैले राष्ट्रको भविष्यसँग युवा शक्तिको भविष्य पनि प्रत्यक्षसँग जोडिएको हुन्छ । उनीहरुको भूमिकाले राष्ट्रको भविष्यलाई निर्धारित गर्दछ । 
२ राष्ट्र निर्माणको सवाल ः 
राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको चर्चासँगै हामीले निर्माण गर्न चाहेको राष्ट्र निर्माण सम्बन्धी केही आधारभूत प्रस्थापनामा समान बुझाई आवश्यक पर्दछ । हजारौं वर्षको इतिहास पार गर्दै नेपाली समाज कहिले खुम्चिँदै र कहिले विस्तारित हुँदै, कहिले जय र कहिले पराजयको श्रङ्खला पार गर्दै, कहिले गौरवबोध र कहिले हिनताबोधको कालखण्ड पार गर्दै अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आईपुगेको छ । जाति, भाषा, धर्म, संस्कृति एवम् भूगोलका हिसाबले मुलुकमा अनुपम विविधता रहेको छ, यसमा हामीले गर्व गर्नुपर्दछ । तर यसैभित्र अनेकन किसिमका विभेदहरु छन्, यसलाई अन्त्य गर्नुपर्ने छ । समृद्ध नेपाल र सुखी नेपाली राष्ट्र निर्माणको साझा लक्ष्य बन्नुपर्दछ । 
राष्ट्र निर्माणको अर्थ एकातिर इतिहासको निरन्तरता र अर्कातिर इतिहासका त्रुटीहरुको सुधार तथा त्यसले पारेका घाऊहरुको उपचार एवम सर्वोपरी रुपमा एउटा समृद्ध, सामाजिक न्यायसहितको र पूर्ण लोकतान्त्रिक भविष्यको प्रत्याभूति हुनुपर्दछ । युवाहरुको सन्दर्भमा पहिचानको सवाल भन्दापनि समृद्धि, अवसरको उपलब्धता, त्यसको निश्पक्ष वितरण र प्रतिस्पर्धात्मक वातावरणको ग्यारेण्टी बढी महत्वपूर्ण छ । प्रत्येक दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब १६ सय नेपालीहरु वैदेशिक रोजगारीमा बाहिरिने गरेको तथ्याङ्क छ । त्यस्तो शक्तिलाई राष्ट्र निर्माणमा लगाउन सक्नेगरी लाग्नुपर्ने दायित्व कुशलतापूर्वक निर्वाह गर्न नसक्ने हो भने यसले मुलुकलाई अझ बढी परनिर्भर बनाउनेछ । मुलुकका युवाशक्तिलाई रेमिट्यान्सका लागि विदेश निर्यात गरेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने परिकल्पना पुरा हुन कदापी सक्दैन् ।  
३. मुलुक परिवर्तनमा युवा ः 
नेपालमा हालसम्म भएका सबैखाले राजनीतिक परिवर्तनहरुमा युवाहरुको अर्थपूर्ण र निर्णायक भूमिका रहँदै आएको कुरा छर्लङ्गै छ । इतिहासलाई खोतलेर हेर्ने हो भने भीमसेन थापाको अगुवाईमा भएको देशभक्तिपूर्ण आन्दोलनमा युद्धका प्रत्येक मोर्चाहरुमा युवाहरु नै अग्रपंक्तिमा रहेका थिए । मानवतावादी आन्दोलनको अगुवाई गर्ने जयपृथ्वीबहादुर सिंह हुन् या मकैको खेती लेखन, लाइब्रेरी स्थापना या पत्रिका प्रकाशन गरी सामाजिक जागरणको शंखघोष गर्ने अगुवाहरु सबै युवा नै थिए । 
वि.सं. १९९७ सालमा जीवन उत्सर्ग गर्ने शहीदहरुमध्ये गंगालाल श्रेष्ठ मात्रै २२ वर्षका थिए । विराटनगरमा नेपालमै पहिलो श्रमिक आन्दोलन शुरु गर्दा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला युवावस्थाकै थिए । अझ महत्वपूर्ण कुरा त नेपाली कांग्रेसको स्थापना गर्दा वि.पी. कोइराला र ने.क.पा. को स्थापना गर्दा पुष्पलाल भर्भराउँदा युवा थिए । वि.सं. २००७ सालको आन्दोलनमा ज्यान अर्पण गर्ने थिरबम मल्ल हुन् या पञ्चायतका विरुद्ध पूर्वबाट धावा बोल्ने रत्नकुमार वान्तवा हुन् वा सुखानीमा हत्या गरिएका पाँच शहीद हुन् सबै युवा नै थिए । वि.सं. २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा निर्दलका विरुद्ध डङ्का पिट्ने युवाहरु नै थिए । वि.सं. २०४६ सालको जनआन्दोलनका ऊर्जाश्रोत नै युवाहरु थिए ।
पछिल्लो समयमा माओवादीले सञ्चालन गरेको सशस्त्र हिंसामा १७ हजार नेपालीले ज्यान गुमाए । 
जसमा अधिकांश युवाहरु नै थिए । वि.सं. २०६२–०६३ को शान्तिपूर्ण जनक्रान्तिमा युवाहरु नै हुन् जसले राजनीतिक दलहरु निर्णय गर्न अल्मिलिएका बेला संघीय लोकतान्त्रिक गणतन्त्रको नारा सडकमा घन्काए, अन्त्यमा उक्त मुद्धा मुलुककै साझा एजेण्डा बन्न पुग्यो । यी प्रतिनिधि सन्दर्भहरु मात्रै हुन् । यसको मतलब मुलुक परिवर्तनको हरेक समय, सन्दर्भमा युवाहरुको भूमिका अतुलनीय रहेको छ । यद्यपी युवा पंक्तिलाई परिवर्तनको साधनको रुपमा मात्रै लिने राजनीतिक नेतृत्वको कार्यशैलीले युवाहरुमा बढी नै वितृष्णा हुनु पनि अनौठो मान्नु हुन्न् ।
४. राष्ट्रिय राजनीतिमा युवाहरुको कमजोर उपस्थिति ः
मुलुक परिवर्तमा यति धेरै योगदान हुँदाहँुदै पनि परिवर्तन पश्चात् युवाहरुको भूमिका भने न्यून रहेको छ । नेपालको हकमा आन्दोलनमा युवाको भूमिकाको समुचित मूल्याङ्कन गर्दै उनीहरुलाई राष्ट्र निर्माणमा अघि लगाउने काम भएको देखिन्न । नेपालको सन्दर्भमा हेर्ने हो भने हरेक राजनीतिक परिवर्तनहरुले ठूला–ठूला सपनाहरु देखाएर जान्छन् । सबै सपनाहरु रातारात पुरा हुन सक्र्दनन् तर तिनलाई पुरा गर्ने इच्छाशक्ति र सोही अनुरुपको कार्यशैली अनिवार्य रहन्छ । त्यसको दिशा समेत तय गरिनुपर्दछ । तर कार्यान्वयनको चरणमा हुने फितलो प्रस्तुती हालसम्मको चुनौती हो । त्यसैले पनि होला हालमा आएर आन्दोलनप्रति जनविश्वास र नागरिकको अपनत्व कमजोर बन्दै गएको छ । 
राजनीतिक परिवर्तनपछि युवाहरुले गर्ने मुख्य अपेक्षा भनेको राज्यका नीतिहरु युवा केन्द्रीत बनुन्, राज्यका संरचनाहरु युवामैत्री हुन् र एउटा यस्तो प्रणाली होस्, जहाँ युवा सहभागिता, युवाको भूमिका अभिबृद्धि र युवाको पक्षमा काम गर्ने सहज वातावरण होस्, नीति निर्माण तहमा युवाहरुको अर्थपूर्ण सहभागिता होस् । तर पटक–पटकका परिवर्तनहरुले युवाका यी अपेक्षाहरुलाई समयानुकूल सम्बाधन गर्न सकेनन् । हालसम्म पनि पुराना नीतिहरु कायमै छन्, पुराना संरचनाहरु यथावत छन् र पुरानै मूल्य, मान्यताहरु हाबी छन् । त्यसैले परिवर्तन प्रायजस्तो सीमित समूहको आत्मसन्तुष्टिको साधन बन्न पुगेको छ । यसबाट सबैभन्दा बढी पींडित, चिन्तित र खिन्न कोही छ भने त्यो युवा शक्ति नै हो ।
नेपालको सन्दर्भमा मुलुक निर्माणमा युवा पुस्ता वञ्चित पुस्ताको रुपमा रहन बाध्य छ, जो एउटा विडम्बनापूर्ण तस्बीर हो । फलस्वरुपः बाराक ओबामा, टोनी ब्लेयर, मेद्येदेभ जस्ता ५० वर्ष नपुगेका व्यक्तहरुले संसारका शक्तिशाली राष्ट्रहरुको नेतृत्व गरिरहेको बेला या गरेर बिदा भइसकेको विश्व परिदृश्यमा नेपाली युवाहरुले भने ७० वर्षका राजनीतिकर्मीहरुले आफूहरु युवा पुस्ताको नेता हँु भन्ने पगरी भिरेको हास्यास्पद दृश्य टुलुटुलु हेरिरहनुपरेको छ । 
५. वर्तमानका केही चुनौतीहरु ः 
माथि उल्लेख गरिएको पृष्ठभूमिका युवा शक्तिमा हामीलाई आन्दोलनमा उपयोग मात्रै गरियो, हामीहरु नेताहरुको सत्तारोहणको निम्ति भ¥याङ् मात्र बन्न पुग्यौं भन्ने मनोविज्ञानको निर्माण हुन लागेको छ । राष्ट्र निर्माणका लागि युवाहरुमा हुर्किन लागेको यो मनोविज्ञान निकै गम्भिर चुनौती हो । युवाहरुमा भएको अथाह ऊर्जा र उनीहरुका असीमित आकांक्षाहरु समाज निर्माणका आधार हुन् । उनीहरुको सपनामा नै परिवर्तन र नयाँ नेपाल निर्माणको आधार अन्तरनिहीत हुन्छ । तर उनीहरुको सपना भंग हुने अवस्था सिर्जना भयो भने समाजको स्थायित्व र अमनचयनका हिसाबले निकै गम्भिर चुनौती बन्न जान्छ । यसमा नीति निर्माताको गम्भिर ध्यान जानुपर्दछ । 
वि.सं. २०४६ सालको परिवर्तनपछि बहुदलीय प्रजातन्त्रमा संसद्को एक कार्यकाल पनि पुरा नहुँदै त्यसका विरुद्धमा किन हतियार उठाईयो भन्ने पश्न अहिलेसम्म पनि अनुत्तरित नै छ । जसमा युवा पंक्तिको निर्णायक सहभागिता रहेको थियो । राजनीति विकृत बन्दै गएको उक्त समयमा त्यसैको निरासालाई उपयोग गर्दै सपनाहरुको व्यापार गरेर हिंसात्मक आन्दोलनमा युवाहरुलाई सक्दो उपयोग गरियो । सपना देखाउन सजिलो छ, तर पुरा गर्न कैयौं गुणा जटिल छ । हाल उनीहरुको स्वप्नभंग भएको छ । यो समाजका लागि निकै ठूलो चुनौती हो । उनीहरुको असन्तुष्ट मनोविज्ञान समाजका लागि ज्वालामुखीको मुखजस्तो बन्न सक्ने खतराका माझ हामी छौं । 
कतिपय सन्दर्भमा हिंसाका संवाहक, हिंसाका स्रोत र हिंसाका शिकार सबैतिरबाट युवा नै बनिरहेको अवस्था विद्यमान छ । यो मुलुक निर्माणमा गतिलो चुनौती हो । विश्वव्यापीकरणको प्रभाव र पश्चिमा संस्कृतिको असर जस्ता कारणले नेपाली युवाहरु रातारात धनी बन्ने, सबै उपभोग्य वस्तुमा रमाउने र त्यसैलाई स्वतन्त्रताको रुपमा बुझ्ने मनोविज्ञान मौलाउँदै गएको छ । पछिल्लो समयमा उद्योग व्यवसायमा लागेर जीविकोपार्जन गर्ने भन्दापनि चन्दा असुली, फिरौती, सम्पत्ति कब्जा, आर्थिक सजायजस्ता हतास युवाको तिर्खा मेटाउने साधन बनेका छन् । विकास निर्माणको सन्दर्भमा टेण्डर खोलिएका स्थानहरुमा ठेकेदारहरुको खेतालाको रुपमा युवाहरुको उपस्थिति हुन्छ । दल सम्बद्ध युवाहरुको मठभेडमा युवाहरुको संलग्नताले समाजको विकास उकालो नभएर ओरालो लागिरहेको देखिन्छ । यस्तै लागूऔषधले युवाहरुलाई नराम्ररी गाँजेको छ । यो अर्को गतिलो चुनौती हो । 
मुलुकको राजनीतिक परिस्थिति युवाहरुको लागि आफैंमा चुनौती बन्न पुगेको छ । राजनीतिमा क्रियाशीलता, क्षमता, योग्यता भन्दापनि ‘राम्राको भन्दापनि हाम्राको, हाम्राको भन्दापनि नाताको र नाताको भन्दापनि दाताको’ भन्ने भनाई जस्ताको तस्तै चरितार्थ भइरहेको छ । यसले पहुँच हुने र अवसर प्राप्त गर्नेहरु त राजनीतिमा छन्, तर निष्ठावान, स्वाभिमानी र मूल्यको राजनीति गर्न चाहने युवाहरुलाई राजनीतिले उत्साहित गर्न सकिरहेको छैन । राष्ट्रिय राजनीतिमा युवाको सहभागिता बृद्धिको सन्दर्भमा यी कुराहरु पनि चुनौतीका रुपमा विद्यमान छन् । 
६. अवलम्बन गर्नुपर्ने केही महत्वपूर्ण नीतिहरु ः
राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको पूर्व शर्त भनेको राजनीतिमा अर्थपूर्ण युवा सहभागिताको सुनिश्चितता नै हो । राजनीति राष्ट्र निर्माणको निर्देशक नीति हो । राजनीति सही या गलत हुनुले धेरै कुराको निर्धारण गर्दछ । राजनीतिकै जगमा नीति निर्माण तहमा युवाहरुको उल्लेख्य सहभागिता हुन सकेन भने युवा केन्द्रीत नीति बन्न सक्दैनन् र सो को अभावमा उनीहरुको सार्थक भूमिकाको अपेक्षा पनि गर्न सकिँदैन । तसर्थ राष्ट्रिय राजनीतिमा युवाको सहभागिता अभिबृद्धि गर्ने कुरा उच्च प्राथमिकतामा राखिनुपर्दछ ।
युवाको सबैखाले विकासमा लगानी अभिबृद्धि गर्दै राष्ट्रिय विकासमा युवा सहभागिता अभिबृद्धि गर्न, राजनीतिक, आर्थिक एवम् सामाजिक र सांस्कृतिक अधिकारहरुको पूर्ण उपयोयको वातावरण सिर्जना गर्न तथा युवा परिचालन तथा सहभागिताका लागि उपयुक्त नीति, नियम तथा संरचनाको व्यवस्था गर्नुपर्दछ । 
युवालाई सिर्जनशील, उद्यमशील, सीपयुक्त र जिम्मेवार नागरिकका रुपमा विकास गरी राष्ट्रिय स्वाधिनताको रक्षा, न्याय र शान्ति स्थापनाका लागि युवा शक्तिको परिचालन गर्ने, अवसर र रोजगारीमा समाज पहुँज सुनिश्चित गर्ने, खेलकुदको विकास र विस्तार गर्ने, राष्ट्रिय विकासमा युवाका ज्ञान, सीप र क्षमताको उपयोग गर्ने तथा वैज्ञानिक अन्वेषण र अनुसन्धानमा युवालाई प्रोत्साहन गर्दै सो को प्रबद्र्धन समेतको समुचित व्यवस्था गरिनुपर्दछ । यसको सन्दर्भमा नेपालको संविधान, २०७२ ले समेत मार्ग प्रशस्त गरेको छ ।  राजनीतिमा हिंसाको प्रयोग, हिंसामा युवा संलग्नता र मिलिट्यान्सीको नाममा युवाहरुको बाहुवलीकरणको अन्त्यका लागि विशेष योजना बनाइनुपर्दछ, अन्यथा नेपाली युवाहरुको ठूलो पंक्ति लठैतमा रुपान्तरित हुनेछ । यसले राजनीतिलाई झनै विकृत बनाउनेछ र युवाहरुको दुरुपयोगले बढवा पाउनेछ । युवाहरुलाई राष्ट्र निर्माणमा लगाउने सन्दर्भमा पेरुङ्गोमा माछा उपहार दिने होइन माछा मार्न सिकाएर परिचालित गर्नु अत्यावश्यक छ । 
७. निश्कर्षमा ः
अ ः हामी नयाँ नेपाल निर्माणको सपना देखिरहेका छौं । समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्यमा अग्रसर छौं । यसो भनिरहँदा नयाँ नेपालले नयाँ नेतृत्व खोजीरहेको वास्तविकतालाई नजरअन्दाज गर्न मिल्दैन । यस्तो नेतृत्व क्षमता युवाहरुमा मात्रै छ । राजनीतिमा आजका दिनमा देखिएका विकृतिहरुको जगमा यसलाई फोहोरी खेल ठान्नुहुन्न युवाहरुले । एक चर्चित राजनीतिज्ञको भनाईमा राजनीति त “कलाहरुमध्येको पनि सुन्दरतम् कला हो ।” फोहोर पोखरीका अगाडि बसेर छ्या यो फोहोर पोखरी भनेर मात्रै पुग्दैन, त्यसमा पसेरै भएनी पोखरीलाई सफा बनाउने दायित्व बोध गर्नुपर्दछ । आफू मूर्खहरुबाट शासित हुन नचाहाने हो भने पनि राजनीतिलाई नजिकबाट बुझ्नै पर्दछ र यसमा रहका विकृतिहरुको अन्त्यका लागि सकृय बन्नैपर्दछ । 
अघिल्लो पुस्ताले थुप्रै कमीकमजोरीहरु गरे होलान् तर हामीले उनीहरुको सीमा पनि बुझ्नै पर्दछ । यसको अर्थ उनीहरुप्रति हामी आभारी हुनैपर्दछ, जसले मुलुकलाई संघीय लोतान्त्रिक गणतन्त्रको यो अवस्थासम्म ल्याईपु¥याउन अगुवाई गरे । तथापी यो पुस्ता परम्परागत मान्यता, क्षमता र उमेरको कारण विस्तारै शिथिल बन्दैछ, उसका सीमा उद्घाटित हुन थालिसकेका छन् । त्यसैले पुरानो पुस्तालाई आलोचना गरेर होइन, उनीहरुका राम्रा कुराहरुलाई पछ्याएर तथा उनीहरुका असफलताबाट पाठ सिकेर नै युवा पुस्ताले राष्ट्र निर्माणमा आफ्नो निर्णायक भूमिका प्रस्तुत गर्न सक्छ । 
(लेखक नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालयको राष्ट्रिय युवा परिषद् अन्तर्गतको जिल्ला युवा समिति, इलामको अध्यक्ष हुनु।)

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment