भरिया र मजदुर हुँदै अन्तत : तुलु बने करोड लगानीका मालिक

नमिन ढकाल

इलाम, २५ भदौः रसुवाको यार्सामा जन्मिएका तुलु तामाङसँग ठूलो सपना थिएन । उनले बाबुआमाले खेतबारीमा धेरै दुःख गर्दा पनि परिवारको गुजारा गर्न नसकेको देखेका थिए । त्यसैले त स्कुल जान छाडेर उनी १४ वर्षकै उमेरमा विदेशी पर्यटकको झोला बोक्न गए । ’आफ्नो बारीको आलु, मकै र कोदोले खान नपुग्ने भएपछि अक्षर चिन्न नपाई भरिया काम गरियो’ उनी विगत सम्झिन्छन् । उनको विगत र वर्तमानमा आकाश जमिनको परिवर्तन आइसकेको छ । हिमाली गाउँको गरीब परिवारमा जन्मिएका तुलु अहिले करोड लगानीको उद्योगको मालिक भएका छन् । उनले वि.सं.२०६६ सालमा इलामको पशुपतिनगरमा स्थापना गरेको लक्की डेरीबाट महिनामा ५० लाख रुपैंयाँको चीज बिक्री हुन्छ । सबै खर्च कटाएर २ लाख रुपैंयाँ त मुनाफा नै आर्जन गर्छन् । चीज उद्योगसँगै बंगुर र गाईपालन पनि उनको अतिरिक्त आम्दानीको श्रोत हो । 
एउटा हिमाली गाउँमा पर्यटकको भारी बोक्ने बालक चीज उद्योगको मालिक बन्दासम्म उनले चुनौतीका धेरै पहाड चढेका छन् । पर्यटकको भारी बोकेर तुलुले लाङटाङ, गोसाइकुण्ड, पोखरा, अन्नपूर्ण पदयात्रामार्ग जस्ता प्रमुख पर्यटकीय गन्तव्य छिचोलेका छन् । पेट पाल्न गरुङ्गो भारी बोकेर हिउँको बाटोमा चिप्लिदै हिड्नुपर्ने पेशामा उनी धेरै समय टिकेनन् । दुई वर्षपछि उनी काठमाडौं झरे । ‘कामको खोजीमा एक्लै काठमाडौं आएको थिएँ, कति दिन त सडकमै बास भयो’ उनी सम्झिन्छन् ‘अक्षर चिन्ने भनेर काठमाडौं गएको थिएँ इलाममा चीज फ्याक्ट्री खुल्ने हल्ला सुनेपछि त्यसैका पछि लागेँ ।’ वि.संं.२०५२ सालमा यती डेरी उद्योगमा काम गर्न इलामको पशुपतिनगर हानिएका उनी शुरुमा दूध बोक्ने, दूध तताउने, दाउरा मिलाउने, उद्योग सफा गर्ने काम गर्थे । ‘शुरुमा चीज कस्तो हुन्छ भनेर नजिकैबाट हेर्न मात्र पाइन्थ्यो छुन पाइएन’ उनी भन्छन् ‘लेबर काम गरेको दश वर्षपछि मात्रै चीज बनाउने कामको अवसर मिल्यो ।’ तुलु उद्योगकै काममा रमाइरहेका थिए । मालिक फेरिने र समय समयमा चीज कारखाना बन्द हुन थालेपछि एक समय उनी बेरोजगार हुन पुगे । त्यसपछि उनलाई यहाँको जागिर भर लागेन ।  वि.सं.२०६६ साल असोज १ गते उनले ठूलो आँट निकालेर जागिर छाडे । उनी आफै चीज उद्योग खोल्ने योजनामा पुगे । ससुरालीको १० हजार रुपैयाँबाट दूध प्रशोधनको काम शुरु गरेका उनी भन्छन् ‘सानो लगानी भएका कारण शुरुमा कसैले पनि पत्याएनन् किसानले आफ्नो पैसा डुब्छ भनेर मेरो उद्योगमा दूध बेच्न मानेनन् ।’ किसानले दूध नबेचेपछि तुलुले सुन्दरपानी दूग्ध उत्पादन सहकारी संस्थाबाट चालीस लिटर दूध किनेर लक्की डेरी शुरु गरे । त्यति दूधको चीज बिक्री गर्न पनि शुरुमा उनले सकेनन् । ‘चीज उत्पादन गरेपनि बिक्री गर्न समस्या थियो । आठ दश महिना त बनाएको चीज घरमै थन्क्याएर ऋण खोज्दै दूधको पैसा तिर्नुप¥यो’ उनले विगत सम्झिए ।   त्यसपछि उनको चीज बिक्री विस्तारै बढ्न थाल्यो । त्यसपछि भने उनलाई किसानहरुले दूध बिक्री गर्न थाले । दिनमा १० किलोग्राम चीज उत्पादन गर्ने उनलाई ११ किलो उत्पादन गर्न एक वर्ष कुर्नुप¥यो । हिजोआज भने चीज बेच्न समस्या छैन् । ग्राहकहरु उद्योगमै किन्न आइपुग्छन् ।  लक्की डेरीबाट उत्पादन भएको चीज काठमाडौं, पोखरा, विराटनगरका अतिरिक्त भारतका सिक्किम, दार्जिलिङ, आसाममा निर्यात हुँदै आएको छ । उत्पादित चीज नेपाल र भारतमै खपत भएपछि तेस्रो मुलुकमा निर्यात गर्ने उनको चाहना पूरा भएको छैन् । उद्योगमा गैरीगाउँ, माँझगाउँ, रुङसुङ्गका किसानले दूध बिक्री गर्छन् । चारजना स्थानीयले रोजगारी पाएका छन् । चीज उद्योग बाहेक तुलुले १९ वटा गाई पालेका छन् भने उन्नत जातका ४० वटा बंगुर छन् । ‘गाईको स्याहारका लागि घाँस काट्ने मान्छे छन्’ उनी भन्छन् ‘बंगुरलाई भने चीज बनाउँदा निस्कने पानी आहारा हुन्छ ।’ उनी आफूले गरेको मेहनतका कारण भरियादेखि उद्योग मालिकसम्म आइपुगेको ठान्छन् । भन्छन् ‘आखिरीमा मेहनत गरे सबै सम्भव हुँदोरहेछ अरुको उद्योगमा झन्डै १ वर्ष काम गरेर आफै केही गर्ने प्रयास गर्दा सफल भइछाडेँ’ उनले निश्कर्ष सुनाए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment