इलाम, २५ भदौः जैविकमैत्री जिल्लाका रूपमा विकास गर्ने रणनीति लिएपछि इलाममा रासायनिक विषादीको प्रयोग घट्दै गएको पाइएको छ । जिल्ला कृषि विकास कार्यालयले गत वर्षदेखि रासायनिक विषादीको प्रयोग घटाउने नीति तथा कार्यक्रम शुरू गरेपछि विषादीको प्रयोग घट्दै गएको हो । आर्थिक वर्ष २०७१÷०७२ मा ९ सय ५२ लिटर झोल र ७ सय ३३ किलोग्राम रासायनिक विषादी प्रयोग भएकोमा गत आर्थिक वर्षमा ९ सय ७ लिटर झोल र ६ सय ९७ किलोग्राम विषादी मात्र प्रयोग भएको कार्यालयले जनाएको छ ।
रासायनिक विषादी प्रयोग घट्दै गएपछि जैविक विषादीको प्रयोग आफै बढ्दै गएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा ४ सय ६८ किलोग्राम झोल र ४ सय ५२ किलोग्राम धुलो जैविक विषादी प्रयोग भएको थियो भने गत वर्ष ५ सय १३ लिटर झोल र ४ सय ८८ किलोग्राम जैविक विषादी प्रयोग भएको कार्यालयका प्राविधिक सहायक केशरबहादुर मग्रातीले बताए । रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्य र जमिनको उर्वराशक्तिमा ह्रास आउने भएकाले यसको प्रयोग कम गर्दै जैविक विषादीको प्रयोगलाई बढवा दिन थालिएको उनको भनाइ छ । विभिन्न जडीबुटी र झारपातबाट तयार गरिएको जैविक विषादी अहिले जिल्लाका चिया बगानमा समेत प्रयोग गर्न थालिएको छ । कार्यालयले करिब दुई वर्षअघि फिक्कल र गोदक गाविसमा गरेको परीक्षणमा मानिसको रगतमानै रासायनिक विषादीको असर देखिएपछि कार्यालयले रासायनिक विषादीको प्रयोग घटाउने नीति अवलम्वन गरेको छ ।
एकैचोटी रासायनिक विषादीको प्रयोग निषेध गर्न समस्या भएकाले विस्तारै घटाउँदै लगेर शून्यमा झार्नुपर्ने मग्रान्तीले बताए । जैविक विषादीको माग निकै उच्च भए पनि कार्यालयले हाल अदुवा, धान, मकै, गहुँको बीउ उत्पादनका लागि मात्र जैविक विषादी वितरण गर्दै आएको छ ।
0 comments:
Post a Comment