इलाम, १९ भदौ ः हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा इलाम सदरमुकाम, देउमाई नगरपालिका सहित जिल्लाका विभिन्न स्थानमा भएका तीज विषेश कार्यक्रममा प्रतियोगितात्मक गीत, नृत्य लगायत सम्मान कार्यक्रमको आयोजना गरेर मनाइयो ।
इलाम सदरमुकाममा सामाजिक रुपान्तरणका लागि महिला नेपाल इलामले आयोजना गरेको तीज कार्यक्रममा तीनजना महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । समुहकी अध्यक्ष चन्दा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक क्षेत्रमा सक्रिय नेपाली कांग्रेसकी निर्मला प्रसाई, अपाङ्गताको अधिकारका लागि सक्रिय सीता कुवँर र समाजसेवामा सक्रिय महालक्ष्मी श्रेष्ठलाई सम्मान गरेको आयोजक समितिले जनाएको छ । त्यस्तै देउमाइ नगरपालिकामा सृजनशिल अंग्रेजी उमावि, सहारा नेपाल साकोस लि. सेवाकेन्द्र मंगलबारे र हिमचुली एकल महिला समुहको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । सृजनशिल अंग्रेजी उमावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष मेघबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य स्थानिय साहित्यकार प्रकाशचन्द्र खनालको रहेको थियो । कार्यक्रममा स्थानिय संघसंस्थाका प्रतिनिधि लगायत स्थानिय बासिन्दाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
तीजको समयमा महिलाहरुलाई मनोरञ्जन दिने उद्देश्यले उक्त कार्यक्रम गरिएको कुरा विद्यालय प्रअ जगत राईले बताए । सहारा नेपाल एउटा वित्तिय संस्थाको रुपमा मात्र सिमित नरहेर सामाजिक क्रियाकलापमा पनि अग्रसर रहेको कुरा सम्पुर्ण जनसमुदायलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कुरा सेवाकेन्द्र मंगलबारे प्रमुख लोकनाथ गजमेरले बताए ।
यता बरबोटे गाविसस्थित बिब्ल्याँटे बजारमा पनि तीज विशेष कार्यक्रम आयोजना भएको हाम्रा सहयोगीले बताएका छन् । नारी विकास संघ बरबोटे शाखाले आयोजना गरेको कार्यक्रममा शाखाकी संस्थापक सदस्य देवीमाया सुवेदीलाई दोसल्ला ओढाएर संस्थाले सम्मान गरेको हो । हिमा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित सुवेदीलाई नेपाल महिला संघकी जिल्ला अध्यक्ष निर्मला सञ्जेलले दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । कार्यक्रममा प्रतियोगितात्मक नृत्यहरु प्रस्तुत गरिएको थियो । तस्वीरमा मंगलबारेमा तीज मनाउँदै गरेका महिलाहरु । तस्वीरः मनिषा चम्लागाई
0 comments:
Post a Comment