संस्मरण
सुन मलाई मन नपर्ने होइन । तर सुनका गहना लगाउने शोख मलाई छैन् । सुन लगाउँदा ठूलै भैएला जस्तो मलाई लाग्दैन । तर यसो भनेर पनि धर नपाईने रहेछ । छोरीको बिहे नजिकिदै थियोे । एक दिन श्रीमती ज्यूले मेरो नजिक आएर भनिन्– “ए हजुर छोरीको बिहे आइसक्यो । यसो दुनियाँलाई देखाउन भए पनि यौटा औंठी त लाउनुपर्छ हैं..।” मैले नलगाउनका लागि उनीलाई सम्झाउने धेरै कोशिश गरें तर हार खाँए । श्रीमतीको जिद्दी यस्तो हुदोरहेछ कि जो परेकालाई मात्र थाहा हुन्छ । उनले बजारबाट कतिबेला एउटा औंठी (१नं.सुनको) किनेर मेरा लागि ल्याएकी रहिछन् । मैले मन नलागी नलागी पनि लगाउन करै लाग्यो र लगाईदिएँ दाहिने हातको माझी औंलामा ।
बिहेको चटारो चल्दै थियो । यसै क्रममा श्रीमती ज्यूले के पकाउन हो कुन्नि अलिकति दाउरा चिरेर ल्याईदिन अनुरोध गरिन् । श्रीमतीको कुरा नमानेर नहुने । म “हुन्छ” भन्दै एउटा सानो बन्चरो लिएर लागें दाउराको थुप्रो तिर । एक अँगालो दाउरा बनाएर उनको सामू थुपारिदिएँ । दाउरा राखिसकेपछि हातमा आँखा पुगेछ । हरे शिव !! औंठी त छैन् । मलाई त केही जस्तो लागेन तर मेरी उनीलाई त खपी सक्नुभएन । “मैले त भनेकै थिए नि लाउँदिन भनेर तिम्रै करले गर्दा यस्तो भयो....” मैले भनिदिएँ ।उनी घरि मसँग र घरि आफैंसँग रिसाउने गर्न थालिन् । दाउरा काटेको ठाउँमा दिनभर औंठी खोजाखोज भयो तर भेटिएन । आफ्नो श्रीमानको ईज्जत् राख्ने उनको ठूलो धोको चकनाचुर भयो । यही कारणले उनलाई कति दिन त भात पानी नै रुचेन । जति सम्झाए पनि बलुवामा पानी हाले सरह भयो । जेनतेन छोरीको बिहे सम्पन्न भयो । तर श्रीमती हजुरलाई भने आफ्नो श्रीमानले एउटा पनि सुनको गहना नलगाएकोमा पर्नु पीर परेको थियो ।
यो घान त टर्यो तर फेरि अर्को बेथा बल्झियो । सम्धी भेटघाटमा जानेबेला आएछ । यस पटक पनि मेरी प्राणप्यारीले थाहै नपाई मेरो लागि भनेर एउटा राम्रै स्तरको औंठी किनेर ल्याईछन् । “लौ हजुर यो लगाउनु त कस्तो छ !!” एउटा बट्टाबाट टिलिक्क टल्कने सुनको औंठी मलाई दिदै भनिन् । “किन दुःखगरेकी फेरि हराउँछ क्या...।” मेरो कुरा खानेभए पो मान्थिन् उनी । यसपालि माझी औलामा ठीक भएन । कान्छी औलामा लगाईदिईन् । अलि खुकुलो भयो । हात झड्कार्न लगाईन् तर झरेन । “हुन्छ हुन्छ अब झर्दैन ।” उनले मलाई हौसला दिईन् ।
भोलिपल्ट बिहान म मर्निङ वाकमा थिए । गाई “बाँ” गरेर करायो । घाँस माग्यो होला भन्दै म गोठ तिर गएँ र गाईलाई घाँस दिएर आएँ । “खाना खाने बेला भयो” श्रीमतीले बोलाईन् । म नजिकैको धारामा हात धुन जाँदा झल्यास्स भएँ । बाफ्रे हातको औंठी फेरि छैन् । अब श्रीमतीलाई के भन्ने होला ? औठी हराएको भन्दा पनि श्रीमतीको डरले मेरो होस उड्यो । तै पनि “सामु परे बाघले खादैन” भन्छन् भन्ने ठानेर थुरुरु हुँदै भने– “औंठी त फेरि छैन...!” मेरो कुरा पुरा हुन नपाउदै श्रीमतीले “के औंठी ??” जंगिदै भनिन् । मैले मुन्टो मात्रै हल्लाउन सकें उनको अगाडि । लौ अब के गर्ने होला । अरु भन्दा नि सम्धी ढोगभेटमा जानुछ । औँठी बिनाको हातले कसरी ढोग्ने होला ? उनलाई सहिनसक्नु भयो । कहाँ झर्यो होला ओछ्यान मझेरी सबै खोजियो छैन् । मलाई त भात खाएको नखाएको जस्तै भयो भने मेरी उनीलाई के भयो होला ।
म दिउँसो गाउँमा जानुपर्ने भयो र गएँ । दिउँसो २ बजे तिर श्रीमतीको फोन आयो । “ए हजुर औंठी त गाईको गोबरमा भेटियो हैं ।” गाईलाई घाँस दिँदा औठी झरेछ । थाहै नपाई गाईले खाएछ । पचेन र गाईले गोब्र्याउँदा औंठी गोबरमा आएछ । श्रीमती कम बाठी थिइनन् । “पक्कै गाईकै घाँसमा हुनुपर्छ भन्ने उनको ठहर थियो । गाईगोठमा खुबै टहल गरिछन् । र गाइले गोब्र्याउदा औठी फेला पर्यो । सत्यको धन रहेछ । म भन्दा पनि मेरी श्रीमती ज्यादै हर्षित भइन् । आजकल म औँठी लगाउदिन । श्रीमतीले पनि कर गरेकी छैनन् तर कसैको हातमा सुनको औँठी देखेभने त्यो दिनको सम्झनाले सताइहाल्छ । अस्तु
0 comments:
Post a Comment