संगिता सुहाङ
ताप्लेजुङ १ आसोजः पाँचथर र ताप्लेजुङको सिमाक्षेत्रमा बग्ने कावेली नदीमा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । ३७.६ मेगावाट क्षमताको “कावेली ए” जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको हो । झिझ्याङ, टीडब्लु र सीडब्लु नामक तीन ओटा चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
यसअघि कावेली हाइड्रोपावर इनर्जी प्रा.लिद्वारा कावेली आयोजना निर्माणको काम शुरु गरेको थियो । उक्त कम्पनीले स्थानीयसँगको सम्झौता विपरित काम गरेको भन्दैे स्थानीय बासिन्दा र आदिबासी जनजाति कानुन व्यवसायीहरुको संगठन लाहुर्निपले विरोध जनाएको थियो । व्यापक विरोधपछि कावेली हाइड्रोपावर इनर्जी प्रा.लि.ले आयोजना निर्माण गर्न नसक्दा पछिल्लो पटक चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको हो ।
कावेली आयोजनको पुर्वाधार निर्माणको काम भईरहेको छ । आयोजना प्रभावित क्षेत्रमा सडक निर्माणको काम भईरहेको छ । पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविसमा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । यस क्षेत्रमा सडकको पब्लिक गर्ने काम सम्पन्न भएको छ । यी गाविसहरु आयोजना प्रभावित क्षेत्रमा पर्छन् । अमरपुरको वडा नं. २ र ५ को खोला खर्कमा पोखरी बनाई साढे चार किमी सुरुङमार्गद्वारा अमरपुर ९ पिनासी घाटको पावर हाउसमा पानी खसाउने गरी पूर्वाधार निर्माणको काम भएको हो ।
स्थानीयसँगको सम्झौता बमोजिम नौ मिटर चौडाई भएको सडक निर्माण गरिएको हो । दशैँ लगतै तीन चिनियाँ कमपनीले हाईड्रो निर्माणको काम शुरु गर्ने भएका छन् । चिनिया कम्पनीले हाइड्रोपावर निर्माणका सामग्रीहरु जोड्ने जिम्मा पाएको श्रेष्ठको भनाई छ । बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिंगापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत लगानीबाट उक्त आयोजनाको काम शुरु गरिएको हो । एक सय मिलियन अर्थात १० अर्बको लगानीमा आयोजना निर्माण गर्न लागिएको हो । “ठूलो लगानीमा आयोजना निर्माण हुँदैछ,” श्रेष्ठले भने “त्यसका लागि पुर्वाधार निर्माणका काम सकिएको छ, अब चाँडै हाइड्रो निर्माणको काम शुरु हुन्छ ।” स्थानीयहरुसँग भएको सम्झौता बमोजिम काम अघि बढाईएकाले बिचमा अवरोध नहुने कम्पनीले विश्वास लिएको छ । “विवादको कारण यसअघिको कम्पनीले आयोजनाको काम गर्न सकेन,” श्रेष्ठले भने “अहिले विवादित विषय मिलाएर काम शुरु गरिएको छ, आयोजनाको काम निर्धारित समयमै सम्पन्न हुन्छ ।” चार वर्ष भित्रमा आयोजनाको सम्पुर्ण काम सम्पन्न गर्ने लक्ष्य साथ काम थालिएको हो । सन् २०२० मा आयोजनाले पूर्णता पाउने गरी काम थालिएको बताईएको छ ।
0 comments:
Post a Comment