इलाम, २ असोजः अविरल वर्षाका कारण बाटो भत्किएपछि दश दिनदेखी मेची राजमार्गको वैकल्पिक माग मानिएको दानाबारी–राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ । बाटो भत्किदा दानाबारी, महमाई, चिसापानी, बाँझो गाविसका बासिन्दाहरु समस्यामा परेका हुन । बाटो भत्किँदा सो क्षेत्रका बासिन्दाहरु सदरमुकाम आवतजावतका लागी झापाको बिर्तामोड हुँदै आउनुपर्ने बाध्यता छ ।
दानाबारी देखि इलामसम्म २ घण्टामा पुगिने भएपनि बाटो अवरुद्ध भएपछि बिर्तामोडको बाटो हुँदै सदरमुकाम जान ४ घण्टा बढी समय लाग्ने गरेको स्थानीय रामबहादुर राईले बताए । गत आर्थिक वर्षको असार मसान्तमा सडकको स्तरोन्नतिका लागी सडक बोर्डबाट २५ लाख र जिविस मातहतबाट ९ लाख रुपैयाँ विनियोजित गरिएपछि राजदुवाली–दानाबारी–चिसापानी सडक मर्मत समितिले बाटो सोलिङको कार्य अगाडी बढाएको थियो । कमजोर भू–संरचना भएको सो क्षेत्रमा असार देखि भदौसम्मको अवधीमा ३ पटक एक साताभन्दा लामोसमय सम्म बाटो अवरुद्ध भएको थियो । यस अघि अवरुद्ध बाटो खुलाउनका लागी जिविसले तेल खर्चबापत १ लाख र सानिमा माई हाइड्रो पावरले निःशुल्क जेसिवी दिएको थियो तर यस पटक राँगापानी सडक खण्डमा बाटो झरेपछि लामो समयसम्म बाटो अवरुद्ध भएको हो ।
सडक मर्मत समितिले असोज मसान्तसम्म सम्पुर्ण कार्य सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म २ सय ६० मिटर नाला निर्माण गर्नुपर्नेमा ३० मिटरमात्र सम्पन्न गरेको छ भने राजदुवाली देखि चिसापानीसम्म विभिन्न भागहरुमा सोलिङ हुन बाँकी छ । तोकिएको अवधिमा सक्ने भनेर कार्य गरिएको भएपनि निरन्तर पाँच दिनदेखि अविरल वर्षा भएपछि काम ठप्प भएको निर्माण समितिका सदस्य रुद्र आलेले बताए ।
0 comments:
Post a Comment