सात ‘अ’ मा इलामेलीको व्यवसायिकता, आर्थिक उपार्जनमा किवीको भुुमिका

इलाम, पुस: पर्यटकिय गन्तब्यका रुपमा अघि बढ्दै गरेको इलाम कृषि पर्यटनको समेत सम्भावना खोजिरहेको छ । पूर्वकी रानीको उपनामले चिनिने गरेको यो जिल्ला सम्भावनाको समेत खानी नै भन्ने गरिएको छ । सुन्दर अनि मनोरञ्जनात्मक प्राकृतिक छट्टा, सांस्कृतिक विविधता र कृषि उत्पादनको उर्वरताले यसको सुन्दरता अनि इलामेलीहरुको व्यवसायिकतालाई अझैँ बलियो बनाएको छ । कृषि क्षेत्रबाट व्यवसायिक सम्भावना बोकेको यस जिल्ला अन्य जिल्लाको तुुलनामा अग्रणी जिल्लाको रुपमा चिनिने गरेको छ । इलाम ‘अ’ नै ‘अ’ को जिल्ला भनेर समेत चिनिने गरेको छ अनि इलाम आएकाहरुले सोही उपनाम दिने गरेका पनि छन् ।  विषेश गरेर इलाममा उत्पादित सात ‘अ’ ले जिल्ला र देश मात्र हैन विश्वमा नै ख्याति कमाएको छ । ओलन, अकबरे, अलैंची, अदुुवा, अम्लीसो, आलुु र अग्र्यानिक चिया (अर्थोडक्स) ले इलामका सात ‘अ’ को प्रतिनित्व गरेको छ । हुन त इलामलाई धेरैले अन्य ‘अ’ हरुसँग समेत गाँस्ने गरेका छन् । जिल्ला कृषि विकास कार्यालय इलामले भने जिल्लामा उत्पादित यिनै सात वटा ‘अ’ लाई इलामका ‘अ’ को संज्ञा दिएको छ । पछिल्लो समयमा जिल्लामा किवि फलले समेत यहाँको व्यवसायिकतामा टेवा थप्ने काम गरेको छ ।
इलामा उत्पादित सात ‘अ’ र किवि फल देश तथा विदेश निर्यात हुने गरेको छ । कृषि क्षेत्रबाट नेपालकै सबैभन्दा धेरै व्यवसायिक सम्भावना भएको जिल्लामध्येमा अग्रणी जिल्लाका रुपमा अघि बढेको यस जिल्लाका धेरैजसो मानिसहरु कृषिमा नै आफ्नो गुुजारा सञ्चालन गरिरहेका छन् । इलाममा विशेषत तीनवटा कुराको उच्च सम्भावना छ– कृषि, पर्यटन र पानी । यी सम्भावनाहरूको उचित दोहन गर्न सक्ने हो भने इलाम जिल्लाको काँचुली नै फेरिन सक्छ । यसका लागि प्रविधि, बजार र व्यवस्थापनमा सरकार र इलामेलीहरूले ध्यान दिन आवश्यक छ । पर्यटन र पानीमा जती आत्मनिर्भर छन् त्यसको तेब्बर बढि जनसंख्या कृषिमा नै निर्भर छन् । हुुनत पर्यटन र पानीमा सुुरुमा नै धेरै लगानी आवश्यक रहेकाले पनि त्यसतर्फ जिल्लाबासी नलागेको हुुनुपर्छ । जिल्लाबासीले गर्ने यिनै खेतीमा चर्चित सात ‘अ’ लाई आधुनिक र व्यवसायिक बनाउन सके इलामको मात्र नभई समग्र देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ । धेरै युुवाहरु विदेशिएको अवस्थामा यी र यस्ता कुराहरुको सदुुपयोग गर्न सके नेपालीहरुले रोजगारी समेत पाउन सक्छन् । 
इलाममा उत्पादन हुने कुनै पनि कृषि र गैरकृषि उत्पादनलाई बजारको अभाव छैन । पूर्वका ठूला शहरी क्षेत्र भएका जिल्ला मोरङ र झापा इलामेली उत्पादनको राम्रो बजार हुन सक्छन् । त्यस्तै खुुल्ला सिमाना रहेको भारतका सिलगुडी र दार्जिलिङसमेतमा इलामले आफ्ना उत्पादन आपूर्ति गर्न सक्छ । इलाम उत्पादनमा सक्षम भएपनि कहिलेकाही सम्बन्धित क्षेत्रबाट उचित सहयोग पाउन नसक्दा इलामेलीहरुले हैरानी ब्यहोर्नुु पर्ने किसानहरु बताउँछन् । 
अलैंचीः 
इलाम जिल्लामा धेरै किसानहरुले अलैंची खेती गर्छन् । खोल्साको कालो सुनको उपनाम पाएको अलैंची जिल्लामा १६ सय हेक्टर जमिनमा खेती भएको जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ । गएको वर्ष इलाममा पाँच सय सहत्ततर मेट्रिकटन अलैंची उत्पादन भएको थियो । करिब दश वर्ष अगाडी जिल्लामा धेरै अलैंची उत्पादन भए पनि बिचमा विभिन्न रोगका कारण मासिँदै समेत गएको थियो । अलैंचीले पुर्नजन्म पाए सँगै यहाँका किसानहरुको समेत आयस्तर माथी उठ्दै गएको छ । हाल ५४ हजार प्रति मनमा बिक्री हुँर्दै आएको अलैंची विषेश गरी पहाडी अनि खोल्सामा हुने गरेको छ । खोला खोल्सामा लगाएको अलैंची मासिएकाले खेती गर्ने जमिन परिवर्तन गरिएको छ । यसको दाम समेत उच्च रहेका कारण यहाँका किसानहरुले अन्नबाली नै मासेर अलैंचीको खेती गर्न थालेका छन् । जिल्लाको तल्लो (औल) भेग मानिएको जिर्मले सहित प्याङ, नयाँवजार जमुना, माइपोखरी, सुलुबुङमा सबैभन्दा बढि उत्पादन हुने अलैंची अन्य गाविस तथा नगरपालिकामा समेत राम्रै गरी यसको खेती मौलाएको बताइएको छ । अलैंची विषेश गरी भारतकै बजारमा बिक्री वितरण हुँदै आएको छ । जिल्लामा रामसाही, गोलसाही, सलकपुुरे, भारलाङ लगायत जातका अलैंची खेती गर्ने गरिएको छ । 
अदुवाः 
अदुवा खेतीमा समेत जिल्लाका धेरै किसान लागि परेका छन् । जिल्लामा तीन हजार दुुई सय तेत्तिस हेक्टर क्षेत्रफलमा अदुवा लगाइएको छ । अन्नबाली सँगै लगाउन सकिने अदुवा इलाममा वार्षिक पैँतालिस हजार नौ सय ९४ मेट्रिकटन उत्पादन हुुने गरेको जिल्ला कृषि विकास कार्यालयका डिकबहादुुर कार्कीले जानकारी दिए । उनका अनुुसार तीस हजार मेट्रिकटन अदुुवा बाहिरी देश नै निकासी भएको भए पनि अन्य उत्पादित अदुुवा बिउका लागि नेपालमा नै खरिद बिक्री हुुने गरेको छ । गतवर्ष मात्र प्रति मन पैँतीस सय सम्म बिक्री भएको अदुुवा हाल भाउ घटेर आठ सय देखि प्रतिमन एक हजार सम्मले बिक्री हुँदै आएको छ । किसानहरुले मकै बारीसँगै यसको खेती गर्ने गरेका छन् । अदुुवा रोपेको बिउले टुुसा लगाएपछि लगाइएको सोही माउ अदुुवा समेत निकालेर बेचिन्छ । जिल्लाको कोलबुुङ, गोदक, नामसालिङ, देउमाई नगरपालिका, सुम्बेक, सोयाङमा यसको अधिक खेती गरिने गरिएको छ । धेरै औल र धेरै लेकबारीमा यसको खेती नफस्टाउने भएकाले जिल्लामा मध्यम क्षेत्रका किसानले यसको खेती गर्ने गरेका छन् । 
आलुुः 
हिउ पर्ने जमिनमा समेत फस्टाउने आलुु् जिल्लाको छ हजार आठ सय पन्ध्र हेक्टर क्षेत्रफलमा खेती गर्ने गरिएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्क अनुसुार जिल्लामा चौरानब्बे हजार चार सय उनसाठी मेट्रिकटन उत्पादन हुने गरेको छ । विषेश गरेर तरकारीको रुपमा प्रयोग गरिने आलुु इलाम बजार, झापा, मोरङ, काठमाडौं सहित भारतका बजारमा समेत बिक्री हुुने गरेको छ । खाजा र विभिन्न परिकारमा समेत मिल्ने आलुु सरदर पचास रुपयाँ प्रतिकिलो बिक्री हुुने गरेको छ । विषेश गरि जिल्लाको उच्च पहाडी भेगका किसानहरुले यसको व्यवसायिक खेती गर्ने गरेका छन् । आलुको नयाँ नयाँ जात उत्पादन गर्ने उद्देश्यले नेपाल सरकारले जमुुना गाविस र नयाँबजार गाविसको संगमस्थल जौबारीमा आलुु विकास केन्द्र नै स्थापना गरेको छ । विषेश गरेर एमएस, डेजिरे, विटे, सेतो आलुु तथा झ्याले लगायतका जातका आलुु उत्पादन हुुने गरेको छ । 
अकबरे : 
इलाममा उत्पादिक अकबरे देश तथा विदेशमा समेत प्रख्यात छ । पिरो मन पराउनेहरुको पहिलो रोजाइमा रहेको अकबरे खुुसार्नी जिल्लाको एक सय बहत्तर हेक्टर क्षेत्रफलमा लगाइएको जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्कमा उल्लेख गरिएको छ । इलाममा मात्र पाँच सय सन्तानब्बे मेट्रिक टन उत्पादन हुने गरेको बताइएको छ । हाल सरदर प्रतिकिलो दुुई सय देखि चर सय सम्मले बिक्री हुने अकबरे खुुसार्नी जिल्लाका पुुर्वी भेगका किसानले व्यवसायिक रुपमा नै खेती गर्ने गरेका छन् ।
ओलन :
गाईभैैँसीको दुुधलाई नै ओलन समेत भन्ने गरिन्छ  । जिल्लाका असी प्रतिशत मानिसहरुले दुुध उत्पादनका लागि पशुु चौपाय पालेका छन् । जिल्लामा एक लाख एक्काइस हजार पाँच सय बैसठ्ठी मेट्रिकटन दुुध उत्पादन हुुने जिल्ला पशुु सेवा कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा उत्पादन भएको दुुधको एक तिहाई उत्पादन जिल्लामा नै खपत हुुने गरेको भए पनि अन्य दुुध बाहिरी जिल्ला निकासी हुुने गरेको छ । यहाँका किसानहरुले नै डेरी र अन्य दुुध प्रशोधन मेसिनको प्रयोग गरी बम्बैसन, चिज, घिउ, छुर्पी लगायतका परिकार उत्पादन गर्ने गरेका छन् । दुुधको मुल्य यसको गुुणस्तर मापन गरि फरक फरक मुुल्य निर्धारण गरिने भए पनि सरदर यसको मुल्य प्रतिलिटर पँैतिस निर्धारण गरिएको छ । 
अम्लीसो: 
अम्लीसो विषेश गरेर गाईभैसीको घाँसमा प्रयोग हुुने एक प्रकारको वनस्पति हो । यसै घाँसको फुुललाई कुुचो भनिन्छ । कुुचो घर सफा गर्न प्रयोग गर्ने गरिएको छ । जिल्लामा एकाउन्न हजार छ सय तीन मेट्रिकटन उत्पादन भएको अम्लीसो (कुचो)को गत वर्ष मात्र दुुई अर्ब ४७ करोड ६९ लाख ४४ हजारको कारोवार भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उत्पादन भएको घाँस जिल्लामा नै खपत भएपनि यसबाट उत्पादित कुुचो देशकै बजारी क्षेत्रमा र भारतमा बिक्री हुुने गरेको छ । विषेश गरि अम्लिसो हिउँदका सिजनमा किसानले गाई वस्तुुलाई खुवाउने गर्छन भने कुुचो समेत यसै सिजना फक्रिने गरेको छ ।  
अर्थोडक्स चिया: 
करिब एक सय पचास वर्ष पहिला तत्कालिन कर्णेल गजराज सिंह थापाले चीनबाट उपहार स्वरूप पाएको चियाको बीउ इलामको हाल रहेको चिया बगानमा रोपेपछि नेपालमा चिया खेतीको प्रारम्भ भएको पाइन्छ । सो बेला चिया रोपे पनि निरन्तरता दिन नसक्दा करिब एक शताब्दीसम्म इलाममा देशमा चियाको विकास र विस्तार हुन सकेन । सोही समयमा भारतमा चिया खेतीको सुरु भएको मानिन्छ । सन् १८६२ मा आरम्भ भए पनि चिया खेती सन् १९६० बाट मात्र नेपालमा विस्तार भयो । त्यस पछि झापामा निजीस्तरबाट चिया खेती भएको पाइन्छ । हाल चियाको व्यवसायिकरूपमा इलाम सहित झापा, पाँचथर, तेह्रथुम, धनकुटा, लगायतका जिल्लामा सुरु भएको छ । नेपालमा समुन्द्र सतहको ६२ मिटरदेखि चार हजार सात सय मिटरको उचाइमा चिया उत्पादन हुने गरेको छ । इलामको चिया विश्वमा नेपाल चिनाउन नेपालको एक परिचय नै भइसकेको छ । यस जिल्लाले देशको चिया उत्पादनमा निकै नै महत्वपूर्ण योगदान गरेको छ । यो जिल्लामा १२ हजार एक सय आठ रोपनी क्षेत्रफलमा चिया खेती गरिएको चिया विस्तार योजना जस्बिरेले जानकारी दिएको छ । चियामा जिल्लाका अधिकांश किसान लागि परेका छन् । मुलुकको कुल अर्थोडक्स चिया उत्पादनमध्ये ७६ दशमलव २% हिस्सा इलामले नै उत्पादन गर्ने गरेको छ । इलामबाट एक करोड २३ लाख ४४ हजार छ सय ५४ केजी चिया उत्पादन हुने गरेको बताइएको छ । इलाममा उत्पादित चियाको बजार अमेरिका, जर्मनी, जापान, अस्टे«लियालगायतका देशमा निर्यात हुने गरेको छ । पहाडमा उत्पादन हुने अर्थोडक्स चियाको कुल उत्पादनको ९० प्रतिशत निर्यात हुने गरे पनि बङ्गलादेश र पाकिस्तानले सीटीसी चिया आयात गर्न थालेका छन् । पछिल्ला दिनमा भारत र चीनमा समेत चिया निर्यात भए पनि सी.टी.सी. चिया भने नेपालमा नै खपत हुने गरेको छ । 
चिनियाँ शब्द ‘अजव’ बाट आएको चियाको विश्व इतिहास चार हजार सात सय वर्षभन्दा बढीको छ । चियाको बेर्ना लगाएको चार वर्षमा उत्पादन दिन सुरु गरे पनि पाँच वर्षपछि राम्रो उत्पादन दिन्छ । चियाको आयु एक सय वर्षभन्दा बढी भए पनि सय वर्षपछि उत्पादनमा कमी आउँछ । चियाले चैतको पहिलो हप्तादेखि सात महिनासम्म उत्पादन दिन्छ । पछिल्लो समयमा किसान आफैँले साना चिया सुुकाउने डायर राखेर पनि सुुख्खा चिया उत्पादन गर्दै आएका छन् । चियाको काम गर्न जिल्लामा धेरै मजदुुरले रोजगारी समेत पाएका छन् । 
किवि फल:
किवि फल आयआर्जनका हिसाबले राम्रो सम्भावना बोकेको फलका रुपमा लिइन्छ । किवि फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न सकिने यस खेतीमा लाग्नेहरु बताउँछन् । ‘फलहरुको राजा’ र ‘द सुप्रिम फ्रुट’ लगायतको उपाधि समेत पाएको यो फल नेपालको लागि नयाँ र आयमुलक फलको रुपमा लिन सकिने किवि फलका अग्रणी किसान तारामणी खतिवडा बताउँछन् । एक रोपनी जमिनमा १५ वटा सम्म किवि फलको विरुवा लगाउन सकिन्छ । विरुवा लगाएको पहिलो वर्ष २ पटक मल र ४–५ पटक गोडमेल गरेर पुग्ने यो फल ताजा फलफुल मध्ये एक विशिष्ठ फलका रुपमा लिइन्छ । नेपालकै नयाँ अनि खरिद बिक्रीका हिसाबले महँगो फल मानिएको किवि इलामका धेरै किसानहरुले लगाउन थालेका छन् ।
सुरुसुरुमा यो फल प्रति किलो छ सयले बिक्री भए पनि उत्पादन बढ्दैजाँदा हाल प्रतिकिलो दुुई सय पचासका दरले बिक्री हुँदै आएको छ । उद्योग वाणिज्य महासंघ मार्फत इलाम उद्योग वाणिज्य संघ इलामले एक गाउँ एक उत्पादन कार्यक्रम नै अघि सारेर समेत किविमा यहाँका किसानहरुलाई ब्यवसायिक बनाउन जोड दिँदै आएको छ । यो फल खाँदा विभिन्न फलफुुलको स्वाद एकै दानामा हुुने विभिन्न रोगहरुको औषधि समेत हुुने किवि किसानहरुको दाबी छ । ताजा फलको रुपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम, लगायतका परिकार बनाइ यसलाई सेवन गर्न सकिने उनीहरु किवि फल पारखीहरु बताउँछन् । 
बिरुवा लगाएको २–३ वर्ष देखि उत्पादन सुरु गर्ने किविको बिरुवाले करिब ४० देखि ६० वर्ष सम्म नै निरन्तर उत्पादन दिने जनाइएको छ । सातौँ वर्ष देखि किविले राम्रो गुणस्तरसँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फलाउँछ । यो फल कुखुराको अण्डा भन्दा केहि ठूलो आकारमा खैरो रङमा फल्ने गर्दछ । यो फल नेपालको भुगोल अनुसार १२०० देखि २४०० मिटरको उचाइमा लगाउन सकिन्छ । नेपालको ४० जिल्लामा यो फल लगाउन सकिने अनुमान गरिए पनि हाल १० वटा जिल्लामा यसको खेती सुरु गरिएको छ । ति मध्ये पनि दोलखा किविको स्रोत जिल्ला हो । दोलखाको बोच स्थित बागवानी फार्ममा १४ वर्ष अगाडिबाट किवि लगाइएको थियो । किवि फल हाल पाँचथर, ताप्लेजुुङ सहित रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लाहरुमा पनि व्यवसायिक खेती सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment