काठमाडौं, सदस्यता विवादलाई लिएर नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा अनसनरत दुई पत्रकारको अवस्था गम्भीर बन्दै गएको छ । महासंघको जिल्ला अधिवेशनमा सदस्यताको विवादलाई लिएर फागुन ११ गतेदेखि पाँचथर शाखाका अध्यक्ष बलदेव ढुङ्गाना र इलाम शाखा सदस्य प्रेम अधिकारी अनसनमा बसी रहनु भएको छ ।
अनसन बसेको पाँचौं दिन पुग्दा पनि उनीहरुको माग सम्बोधनका लागि महासंघले कुनै पहल गरेको छैन । केन्द्रिय कार्यालयमै तालाबन्दी गरेर अनसन बस्दा पनि महासंघ भने बेखबरझै बनेको छ । अनसनमा बसेका पत्रकारहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आज अनसनस्थलमै पुगेर चिकित्सकले स्वास्थ्य जाँच गरेका छन् । उनीहरुको अवस्था गम्भीर बन्दै गएकाले चाँडै समस्याको समाधान खोजिनु पर्ने उनीहरुको आन्दोलनलाई साथ दिँदै आएका एक पत्रकारले भने ।
महासंघमा राजनैतिक भागबण्डाका आधारमा सदस्यता वितरण रोकिनु पर्ने, जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशनहरु तत्काल स्थगित गरिनु पर्नेलगायतका ४ बुँदे माग राख्दै ढुंगाना र अधिकारी अनसन बस्नु भएको हो । नेपाल प्रेस युनियन तथा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले आमरण अनशनमा बसेका दुई जना पत्रकारको जीवन रक्षाको माग गरेको छ ।

0 comments:
Post a Comment