सास्ती माथि सास्ती खेप्छन् सीमाका नेपालीहरु

इलाम, ७ असारः स्थानीय तहको पुरानो संरचना अनुसार साबिक श्रीअन्तु–८ गुफापाताल निबासी मदन गुरुङले सदरमुकाम इलाम बजार आउन भारतीय सडक र सवारी साधन प्रयोग गर्नुपर्छ । ‘छब्बिसे–छिरुवा–अन्तु सडक भएपनि सवारी साधन चल्न सक्ने अवस्था नभएपछि छब्बिसेबाट भारतीय साधन समाएर पशुपतिनगरसम्म यात्रा गर्छौ ।’ उनी भन्छन्– ‘फाटकमा भारतीय सवारी साधन छाडेर पशुपतिनगरबाट अर्को साधन प्रयोग गरि नेपालका बजार जानुपर्ने बाध्यता छ ।’ घरमा ठोकिएको फिक्कल–छिरुवा–छब्बिसे सडक भएपनि हिउँबर्खै यातायात चल्न मुस्किल हुने भएकाले भारतीय बाटो भएर फेरी नेपाल पस्नुपर्छ । गुरुङ भन्छन्– ‘नेपाल भएर हिड्ने सडकहरु थुप्रै भएपनि एउटापनि सडक राम्रै छैन् ।’ तरकारी खेती र गाई पालन गर्दै आएका उनीकहाँ कृषि प्राविधिक र पशु प्राविधिक अहिलेसम्म पुगेका छैनन् । ‘३९ रोपनी जग्गा भएपनि खाद्यबाली हुदैन । उनी भन्छन्– ‘कोपी, मुला, ईस्कुस, धनीयाँ बिक्रिबाट २० हजार भारतीय रुपैयाँ आम्दानी हुन्छ ।’ कृषि प्राविधिकको सरसल्लाह लिन टाढा जानुपर्ने भएकाले तरकारी खेती फस्टाउन नसकेको उनले बताए । मदन गुरुङ जस्तै त्यस भेगका सीमा क्षेत्रमा बस्ने नेपालीहरुले सडक मात्रै हैन शिक्षा, स्वास्थ्य, व्यापार, रोजगारका लागि पनि भारतकै प्रयोग पर्नुपर्छ ।
पशुपतिनगर, मानेभञ्ज्याङ जस्ता नेपाली बजार भएपनि सीमा क्षेत्रका बासिन्दा भारतकै बजारमा निर्भर छन् । सीमा क्षेत्रका नेपाली नागरिक मिरिक, दार्जिलिङ, सुकिया, सिलिगुडी बजार जाने गरेको साविक श्रीअन्तु गाविसका पूर्व अध्यक्ष हर्कधन तामाङले बताए । ‘सीमा क्षेत्रमा बस्ने हामी सबैको किनमेलदेखि औषधोपचार गर्ने बजार भारतकै हुन् । उनी भन्छन्– ‘यहाँको विकासमा सदरमुकाम बसेर योजना बनाउनेले वास्ता गरेका छैनन् ।’ 
मेची बजारमा मेची माध्यमिक विद्यालय भएपनि निम्न आयश्रोत हुनेले मात्रै अध्ययनका लागि छोराछोरी पठाउने गरेका छन् । भारतपट्टि खुलेका नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने बोर्डिङमा धेरैजसो विद्यार्थी नेपाली देखिन्छन् । बढी आयश्रोत हुने नेपालीहरुले मिरिक, दार्जिलिङ, सिलिगुडी लगायतका शहरमा अध्ययनका लागि छोराछोरी पठाउने गरेको पाइन्छ । सीमा क्षेत्रको नेपाली बजार पशुपतिनगरमा डाक्टर सहितको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र भएपनि नियमित डाक्टर बस्दैनन् । दरबन्दीका डाक्टर नियमित रुपमा नबस्ने भएकाले सबै बिरामी भारतीय अस्पतालमा उपचारका लागि जाने गरेका छन् । विषेशज्ञ डाक्टरको उपचार लिन घण्टौ लगाएर धरान, बिराटनगर जानुपर्ने भएकाले सबैँको रोजाइ भारतीय अस्पताल हुने गरेको छ । भारतमा स्वास्थ्य सुविधा लिदा महङ्गो हुने भएपनि बाध्यता भएको साविक श्रीअन्तु गाविसका पूर्व अध्यक्ष हर्कधन तामाङको भनाइ छ । संचारका साधन पनि भारतीय नै प्रयोग हुन्छ, सीमा क्षेत्रमा । धेरैजसो यहाँका नेपालीले भारतीय कम्पनीका मोबाइल प्रयोग गर्दै आएका छन् ।
तरकारी खेतीको प्रशस्त सम्भावना भएपनि त्यस अनुरुपका योजना यहाँसम्म आइनपुग्दा किसान रोजगारका लागि भारतीय बजार नै भौतारिनु परेको छ । यहाँका युवाहरु भारतका बजारमा गएर ड्राइभर, काठको काम गर्दै आएको स्थानीय मदन तामाङले बताए । खुला सीमाना भएकाले यो क्षेत्रमा बस्ने नेपालीका लागि सुरक्षाको बढी चिन्ता हुने गरेको छ । भारतले पाँच किलोमिटरको फरकमा सीमा सुरक्षा बल राखेपनि नेपालतर्फ इलाका प्रहरी कार्यालय प्रशुपतिनगर अन्र्तगत प्रहरी चौकीहरु छन् । त्यो पनि गाविस कार्यालय आसपासमा । अपराध अनुसन्धानमा बढी खटिने नेपाल प्रहरीको टोली सीमा विवाद हुँदा र कुनै घटना भएमा मात्र पुग्ने गरेको सीमा क्षेत्रका बासिन्दाको गुनासो छ । ‘क्षेत्र ठुलो भएपनि आफ्नो साधन श्रोत प्रयोग गरी शान्ति सुरक्षा कायम राख्न लागि गरेका छौँ । एक प्रहरी अधिकृत भन्छन्– ‘सीमा क्षेत्रमा पछिल्लो समयमा सुरक्षा गस्ती पनि बढाएका छौ ।’ सीमा विवाद पटक–पटक भएकाले यहाँको सीमा क्षेत्रको शान्त हुनुपर्ने स्थानीयको भनाइ छ । ‘सीमा क्षेत्र क्लियर नहुदा सीमा विवाद हुदै आएको छ । उनी भन्छन्– ‘सीमानामा निरिक्षणका लागि सरकारी अधिकारी बाक्लै आएपनि अहिलेसम्म समाधान नहुदा समस्या उस्तै छ ।’
त्यस्तै सीमा क्षेत्रका बासिन्दाका लागि सबैभन्दा समस्या सडक हो । नेपाली भु–भाग भएर हिउँद वर्षातमा नै यातायात संचालन हुने सडक नहुदा भारतीय सडक प्रयोग गर्नु बाध्यता रहेको सीमा क्षेत्रमा मानव बेचबिखन नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्दै आएको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले बताए । ‘सडकको सुविधा नहुदा स्थानीयबासीले नेपाल सरकारले दिएका सुविधा उपभोग गर्न पाएका छैनन् । ढकाल भन्छन्– ‘सडक नहुदा सरकारी निकायको नजर पनि नपरेको अवस्था छ ।’ दिर्घकालिन योजना बिना पुरानो संरचना अनुसारका स्थानीय निकाय, विकासे कार्यालयमार्फत खनिएका सडक कुनैको पनि डिटेल सर्भे छैन । दिर्घकालिन सोच र योजना नभएकाले यहाँका सडकमा कि बजेट पर्दैन परेपनि कमि मात्रै पर्छ । कर्मचारीका भरमा चलेका स्थानीय निकायले भारतसँगको सीमाका बासिन्दाका लागि भनेर कुनै योजना दिन सकेका छैनन् ।
राजनीतिक दलको सर्वदलिय संयन्त्रका भरमा चल्ने गरेपनि साविक जिल्ला विकास समितिसँग सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको सुविधाका लागि भनेर अहिलेसम्म कुनै योजना बनाएको छैन । राजमार्ग देखि जिल्ला सडक समेतको काम गर्दै आएको सडक डिभिजन कार्यालय इलामले इलाम र पाँचथरका सीमा क्षेत्रका बासिन्दा लक्षित गरि दुई सडकको काम गर्दै आएको छ । सडक डिभिजनमा जिर्मले–समाल्बुङ–सन्दकपुर सडक र गोरुवाले भञ्ज्याङ–सन्दकपुर–च्याङथापु सडकमा काम गर्दै आएपनि बजेट कमी आएकाले प्रगति त्यति राम्रो छैन । सडक विभागले डिपिआर तयार पार्दै आएपनि वर्षेनी यी सडकको बजेट घट्दै गएको अवस्था छ । झापाको बाहुनडाँगीदेखि इलामको सन्दकपुर जोड्ने सडकमा अहिले १७ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको सडक डिभिजनले जनाएको छ । चार वर्षदेखि नियमिति रुपमा काम हुदै आएको यो सडकको अझै पाँच किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । ६५ किलोमिटर लामो यो सडकले इलामका सबै गाविस जोड्ने भएपनि बजेट कम निकासा हुदा थोरै मात्र काम हुने गरेको छ । त्यस्तै सन्दकपुरबाट पाँचथरको च्याङथापु जोड्ने सडकका लागि पनि बजेट खासै छैन । ६० किलोमिटर लामो सडक भएपनि अहिलेसम्म यो सडकको २० किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । यी सडकमा १२ महिना यातायात संचालन गर्ने उद्देश्य भएपनि बजेट कमिले गर्दा प्रगति राम्रो नहुने प्राविधिकको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता