निरौला पेशाले शिक्षक हुन् । विद्यालय समय शिष्यहरुसँँग व्यवहारिक जीवन पढ्छन् र पढाउँछन् । बाँकी समय आफूले भोगेको दुनियाँका सरल ग्रामीण बिम्बहरुलाई टपक्क टिप्छन् र सुन्दर हरफहरु निर्माण गर्छन् । यो उनको दैनिकी जस्तै बनेको छ । ‘प्रेमसूत्र’ खण्डकाव्यमा ६६ वटा श्लोकहरु रहेका छन् । चौध अक्षरीय वसन्ततिलका शास्त्रीय छन्दमा रचित यो खण्डकाव्य पात्रविहिन खण्डकाव्य हो । मानव जीवनका विविध पाटाहरु मध्ये एक पाटोलाई काव्यिक भाषाका माध्यमबाट प्रस्तुत गरी लक्ष्यमा पुग्ने काम खण्डकाव्यमा हुन्छ । यो खण्डकाव्यमा पात्र समायोज गरिएको छैन । पाठकले पढ्दै जाँदा आफैँलाई पात्रको रुपमा पाउँछ ÷बनाउँछ । मानव जीवनको सबैभन्दा प्रिय वस्तु हो प्रेम । आँखाले देख्ने भन्दा हृदयले महसुस गर्ने कुरा हो । संसारमा करोडौँ मानिसहरु रहेका छन् जो प्रेमले एक आपसमा बाँधिएका छन् । विना प्रेम संसारका सबै जीवात्माहरुको जीवनशैली असम्भव जस्तै छ । हुन त निर्जीव बस्तुहरुको पनि प्रेम नहुने भने होइन ,जस्तो की नदी र किनार । यही मार्मिक र गम्भिर विषय काव्यको विषयवस्तु हो ।
निरौलाले काव्यमा ‘प्रेम’लाई विशेषत प्रेमी प्रेमीकाका बीचको प्रेमका रुपमा चित्रण गरेका छन् । दुनियाँमा सबैसँग प्रेम हुन्छ , सबैले सबैसँग प्रेम गर्छन् तर पतिपत्नी, श्रीमान्श्रीमती, प्रेमीप्रेमीका जे सुकै भनौँ सबैभन्दा प्रिय र स्नेहपूर्ण प्रेम यही दुईमा हुने चर्चा गरिन्छ र हो पनि । अरुसँग त स्नेह, ममता, सद्भाव हुन्छ भन्न पनि सकिन्छ । खण्डकाव्यभरी प्रेमलाई सरल र काव्यिक रुपमा गहिरो ढंगबाट प्रस्तुत गरिएको छ । आजसम्म ‘प्रेम’ शब्दको परिभाषा संसारमा सबैभन्दा बढी लगाइयो होला तर अझै पनि अपूर्ण लाग्दछ । निरौलाले पनि प्रेमलाई चिन्ने र चिनाउँने प्रयास गरेका छन् । प्रेम हुन एक्लै असम्भव छ, त्यसैले सूत्रमा बाँधिनु अनिवार्य देखिन्छ । काव्यकार पहिलो श्लोकमै भन्छन् ः
जन्मेर भित्र दिलमा जब बस्छ प्रेम
सारा शरीर मन इन्द्रिय भर्छ प्रेम
झन्केर भित्र मुटुका जव तार बज्छन्
प्रेमी दुवै प्रणयसूत्र नजीक पुग्छन् ।
एकले अर्कालाई बुझ्दै गएपछि प्रेमको बिजारोपण हुने कुरा काव्यकार बताउछन् । प्रेमलाई हरेक व्यक्तिले आ आफ्नै ढंगले आफ्नै व्यवहारअनुसार परिभाषित गर्ने गरेको पाइन्छ । काव्यमा निरौलाले भने दुई आत्माको आदर्श मिलनलाई प्रेम मानेका छन् । प्रेम विना सृष्टिनै असम्भव हुने भएकाले कसैमाथि घात प्रतिघात गर्नु प्रेम होइन भन्छन् । काव्यका हरेक श्लोकमा प्रेम शब्द समेटेका छन् फरकफरक सन्र्दभमा । साँच्चै गहिरो गरि प्रेमभित्र डुबेका छन् काव्यकार । सृष्टि सञ्चालन गर्ने ईश्वर स्वयं प्रेम हुन्, त्यसैले प्रेमी प्रेमीकाको मिलनबाट सृष्टि चल्ने कुरामा ढुक्क देखिन्छन् ः
यो सृष्टिबीच यदि क्यै छ त एक प्रेम
मूर्ति नभैकन छ ईश्वर रुप प्रेम
मीठो छ अम्मृतसमान तितो हुँदैन
एकै हुनेछ मन त्यो अनि छुट्टिदैन ।
सरल बनाएर होस् या त जटिल बनाएर होस् सूत्रले धेरै कुरालाई जोड्ने काम गर्दछ, त्यसैले दुई आत्मा जोड्न प्रेमले भूमिका खेल्ने भएकोले हुन सक्छ काव्यको नाम ‘प्रेमसुत्र’ राखिएको । वास्तविक रुपमा प्रेमको गहिराई या त चौडाइ खोज्ने हो भने एउटा उच्च परिभाषा यस काव्यमा भेटिन्छ । काव्यबाट कुनै एक श्लोक जुन सुकै ठाउँबाट निकाल्ने हो भने काव्य अधुरो बन्दैन । तर यसरी एक एक निकाल्दै जाँदा काव्यनै नरहने हुन सक्छ । काव्यमा श्लोकहरुको सम्बन्ध हेर्ने हो भने प्याजको पत्ता जस्तै लाग्दछ । एक पत्ता निकाल्दैमा प्याज प्याजनै हुन्छ तर निकाल्दै जाँदा प्याजको अस्तित्व नरहन सक्दछ । काव्यमा पात्रहरु नभएकोले घटनाक्रमलाई कसैले अगाडि बढाउँदैन तर काव्यभित्र त्यस्तो तत्व छ जसले काव्य अगाडि बढ्नलाई सहयोग गरेको छ, त्यो हो कौतुहलतापूर्ण प्रेमको उच्च परिभाषा । यो काव्यकारको खुवी हो । प्रेम संसारमा सबैभन्दा प्रिय बस्तु हो । यसैको वरिपरि सारा जगत घुमेको छ । कसैले रोक्न नसक्ने कुराको पुष्टि यसरी गर्दछन् निरौला ः
हड्ताल बन्दहरुले पनि बन्द हुन्न
राजस्व छैन यसको कर तिर्नु छैन
यो ब्रम्हरुप छ अपार अनन्त ज्योती
यो प्रेम भित्रि गहना अनि दिव्य मोती
प्रेमको अपूर्ण परिभाषालाई पूर्ण बनाउँने प्रयासको खोजीमा छन् काव्यकार । खण्डकाव्यलाई कविताको मझौला रुप मानेर हेर्दा काव्य साँच्चै खण्ड काव्यनै देखिन्छ । अति सानो छ आकारका दृष्टिले । लामो कविता भने पनि हुन्छ । काव्यमा भूमिकाको पृष्ठ छोडेर हेर्दा एघार पृष्ठ मात्र रहेका छन् । बाहिरी पृष्ठ आकर्षक देखिन्छ । एक जोडा परेवाहरु विहानी पख सुन्दर प्राकृतिक बागमा रमाइरहेका छन् । यी जोडी प्रेमीप्रेमीका हुन् जो प्रेमसूत्रमा बाँधिएका छन् । काव्यकारले भुलेर हो या त प्रयोग गरेका हुन् आवरण पृष्ठमा लेखकको नाम राखेका छैनन् । अन्तिम पृष्ठमा भने सम्पूर्ण परिचय खुलाएका छन् । सकेसम्म छन्दमा खेल्ने प्रयास गरेका छन् निरौला । भाव समेट्न खोज्दा कतै कतै मजाले छन्दमा चिप्लिएका पनि छन् । पे्रम शब्दमा अडिग रहेर प्रेमको परिभाषा दिदै एउटै छन्दभित्र ६६ श्लोकसम्म पुग्नु चानचुने कुरा होइन । धेरै जसो श्लोक चार हरफका छन् भने केही श्लोकहरु छ हरफका पनि छन् । काव्यमा यो सामान्य मान्नु पर्छ । सरल, सरस, मार्मिक साथसाथै कलात्मक ढंगबाट काव्यको निर्माण भएकोले निरौला कोमल हृदयका काव्यकार हुन् भन्ने अनुमान सहजै लगाउँन सकिन्छ । उनका हरेक श्लोकहरु आफैँमा पूर्ण कविता हुन् भन्ने लाग्छ । छन्दभित्र भाव अटाउँन सकिदैन भन्ने पाठक÷कविका लागि उदाहरणनै हुन् निरौला । प्रेममा धोका दिनेहरुले यो काव्य पढे भने उनीहरुलाई जिन्दगीभरी पछुतो हुनेछ । यो नै काव्यको मूल मर्म हो ।
0 comments:
Post a Comment