इलाम, १२ असार: इलामको इतिहास बोकेको सेनाको निसानी माईस्थानमा फर्किन भएको छ । आगामी असार २३ गते वैदिक विधि अनुसार निसानलाई माईस्थानमा मन्दिरमा पुर्नस्थापित गरिने भएको छ । सुगौली सन्धीपछि नेपाल पक्षले जितेको भु–भाग छाडदै आउने क्रममा वि.स १८७५ मा इलाममा बसेको श्री नाथ गुल्मको पल्टनको निसान वि.स २०५९ साल बैशाख २६ गते सुरक्षाको कारणले तत्कालिन भवानी दल गणको सरुवा हुँदा काठमाडौं लगेको थियो । निसानी इलाममै पुर्नस्थापनाको माग गर्दै इलामे जनताहरुले सेनालाई आग्रह गरेपछि निसान पुनः माईस्थानमा नै स्थापना गरिने भएको हो ।
निसानी राख्नका लागि माईस्थान धार्मिक विकास क्षेत्रले १३ लाख रुपैयाँ बढी खर्चमा निसान घरका पुर्ननिर्माण गरेको छ । सुगौली सन्धी अघि टिस्टासम्मको एकिकरण गरेको भु–भाग हेर्नका लागी नागरीमा श्रीनाथ गणले झन्डै ४० वर्ष अघि स्थापना गरेको इतिहासविद युद्धप्रसाद बैद्यले बताए । उनले भने ‘सन १८१६ मा सुगौली सन्धीको धारा ३ बमोजिम नेपालको सिमाना मेची नदीसम्म कायम भएपछि हाल भारतको मिरिकमा पर्ने नागरी गढी छाडेपछि श्रीनाथ गण (पुरानो)ले वि.स १८७२ मा करफोकको पुर्णे डाँडामा केही समय बसेपछि उपयुक्त स्थान खोज्दै वि.स १८७५ मा इलाम सदरमुकाममा गढी स्थापना गरी बसेको प्रमाण भेटिन्छ’ ।
आगामी वि.संं २०७५ सालमा इलाममा निसान स्थापनाको २ सय वर्ष पुग्ने बैद्यले बताए । उनले भने ‘नेपालले टिस्टासम्म जितेको प्रमाण नै निसानी भएकाले आगामी सन्ततिलाई प्रमाणको रुपमा देखाउनका लागि निसानी इलाममा पुनः स्थापनाका लागी पहल गरिएको हो ।’ निसान असार २३ गते १ बजेर ५ मिनेटमा काठमाडौंबाट हेलिकोप्टर मार्फत ३ बजेर १५ मिनेटमा इलामको टुँडिखेलमा ल्याइ विधि विधानका साथ माईस्थानमा भित्राइने साइत रहेको धार्मिक विकास समितिका सहसचिव टेकप्रसाद रञ्जितकारले बताए । निसानपछि टिस्टासम्म किल्ला पु¥याउदाँको समयको तोप समेत ल्याइने भएको छ । निसानसँग ल्याइने ऐतिहासिक सामाग्री सुरक्षाको लागी १२ जना सैनिक टुकडी समेत माईस्थान मन्दिर परिसरमा रहनेछ ।
निसान राख्न वनाइएको भवन । तस्वीरः सोम सुसेली

