पुल नहुँदा वर्षातको समयमा यातायातका साधन थन्किए

पहिरो खस्दा घोडा र मानिसहरुको आवतजावतमा कठिनाई

मुना अधिकारी

  • लगातार परेको पानीले पहिरोले बाटो अवरोद्ध, मानिसको आवातजावतमा कठिनाई
  • बिरामी बोकेर घण्टौ बाटो सदरमुकाम आउँदा बोक्ने मानिस नै बिरामी पर्ने अवस्था 
  • किसानले लगाएको अलैँची, अदुवा बजारीकरणमा समस्या घोडा हिड्ने बाटो नहुँदा कृषकको खेतबारीबाट हिड्दा जरिवाना तिर्न बाध्य


फायत फोटो
इलाम, जिल्ला सदरमुकामबाट करिब १० किलोमिटरमा पुगिने  उत्तरी इलामको माईजोगमाई गाँउपालिका ६ साबिक प्याङ्ग गाविसमा वर्षात लागेसगैँ सवारी साधन ठप्प भएको छ । वर्षात शुरु भएसगैँ इलाम नगरपालिका दुई साबिक सुम्बेक गाविस र प्याङ्ग जोड्ने माईखोलामा पुल नभएका कारण वर्षौबषर््ादेखि आवतजावतमा कठिनाई हुने गर्दछ । सदरमुकामबाट नजिकै रहेको स्थल भएतापनि यहाँको भौगोलिक विकटताले गर्दा घण्टौ घण्टा हिडेँर आफ्नो काम गर्न प्याङ्गबासी बाध्य रहेका छन् ।
वर्षात शुरु भएसगैँ यातायातका साधन ठप्प हुदाँ बिरामीलाई अस्पताल ल्याउन पनि समस्या भएको छ । एक साता यता इनपा २ साबिक सुम्बेक गाविसको लामिटार भन्ने ठाँउमा पहिरो खसेकाले मानिसहरुको आवतजावत नै ठप्प भएको छ । इलामको सुम्बेक, प्याङ्ग, सोयाङ्ग, नयाँबजारबाट वर्षतका समयमा यातायात अवरोध हुदाँ दैनिक एक सयको हाराहारीमा सदरमुकाम आवतजावत गर्ने मानिसहरुलाई पनि बाटो हिड्दा ज्यान नै जाने भय बढेको छ ।
यातायात आवतजावत गर्ने बाटोमा एउटा डाँडा खस्दा बाटो हिड्न मात्र हैन स्थानीय किसान राजकुमार राईको  खेत, खेतमा रहेको प्रमुख नगदेबाली अलैँची समेत नष्ट भएको स्थानीय मिन कुमार थेबेले बताए । सुम्बेकका सबैजसो कृषकको खेतबारी सोही स्थानमा भएका कारण सिचाँईका लागि पक्की कुलोको निर्माण भएको थियो । पहिरोका कारण कुलो भत्किएर धान रोप्न समेत समस्या भएको किसानहरुले गुनासो व्यक्त गरेका छन् । चार पट्टीबाट नै पहिरो खसेकाले मानिसलाई बाटो  बनाउन कठिनाई भएको  र मेसिन लगाएर काम गर्न एक दिन लाग्ने स्थानीयको भनाई छ ।
पुल नभएका कारण वर्षेनी समस्या झेलीरहेका प्याङ्गबासीहरुलाई पहिरोका कारणले बिरामी ल्याउन, कृषकले उत्पादन गर्ने अदुवा, अलैँचीका बिरुवाको विक्री वितरणमा समेत असर परेकाले बारीमा नै कुहिने अवस्था रहेको स्थानीय युवा महेश तिवारीले बताए ।
उनले भने “पुल नभएका कारण गाँउमा भएका यातायातका साधन पनि थन्किनु परेको छ । जिल्ला सदरमुकाम नजिक रहेपनि  सरोकारवाला निकायले ध्यान नदिएका कारण वर्षौदेखि यस्ता समस्या भोग्नु परेको छ,  गाँउबाट उपचार सम्भव नभएका बिरामीहरुलाई जिल्ला अस्पताल पुर्याउन पनि समस्या छ यसले बिरामीको ज्यान नै जाने खत्रा भएको छ । कृषकले खाइनखाई उत्पादन गरेको सामग्री पनि बारीमा नै कुहिने अवस्था छ । यसमा सरोकारवाला निकायको ध्यान रहनु पर्दछ  ।”
नवनिर्वाचित वडाध्यक्ष तथा साविकको प्याङ्ग गाविसका अध्यक्ष भवानीप्रसाद लिङ्गदमले वर्षाैवर्षदेखि यस्तो समस्या भएको र  पुल बनाउन अनेकौँ प्रयत्न गरेतापनि खोलामा पुल नबनेका कारण सबैले सास्ती खेप्न परेको बताए । उनले जिल्लाको प्याङ्गलाई मात्र हैन उत्तरी इलामका पर्यटकीय स्थल जौबारी, थुम्केडाँडा, नयाँबजार लगायतका स्थानलाई पनि बाटो तथा पुलले फाइदा पुर्याउने बताए । गत वर्ष पनि जिल्लाबाट सर्भे छुट्टिएको तर आफूहरुलाई त्यस बारे जानकारी नभएको बताए । उनले आफ्नो स्तरबाट समस्यालाई मन्त्रालयसम्म नै पुर्याएको तर काँही पनि सुनुवाई नभएको बताए ।
आफू स्थानीय निकायको निर्वाचनबाट वडाको अध्यक्ष भएपनि स्थानीय निकायबाट के गर्ने भन्ने गाइडलाइन नै नआएकाले कार्य गर्न अनयोल रहेको बताए । कामको बाडँफाँड भएसँगै स्थानीय स्तरबाट गर्ने काममा सबैभन्दा बढी बाटो तथा पुललाई प्राथमिकतामा राखेर कार्य गर्ने र यसबाट प्याङ्गलाई मात्र नभई सिङ्गो इलामलाई फाइदा पुर्याउने हुनाले नगरपालिकाको पनि ध्यानाकर्षण हुन जरुरी रहेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता