पूर्वमा बिस्तारिदै बहुमूल्य जडिबुटी चिराइतो र लौठसल्ला

इलाम । नेपाल सरकार वन तथा भु–संरक्षण मन्त्रालय जिल्ला वन कार्यालय इलामको अनुदान सहयोगमा जडिबुटी वि कास कार्याक्रम इलामका साविक ९ गाविसमा लागु गरिएको छ । वन कार्यालयको लगानीमा सामुदायीक वन उपभोक्ता समुह, जिल्ला समन्वय समिति र किसानको सहकार्यमा जडिबुटी विकास कार्याक्रम साविक नयाँबजार, प्याङ, सुलुबुङ्ग, पुवामझुवा, माइपोखरी, जोगमाई, जमुना, माईमजुवा र मावु गाविसमा  लागु गरिएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा जडिबुटीको उच्च माग रहेको अवस्थामा व्यावसायीक रुपमा खेती विस्तार गर्न जडिबुटी विकास कार्यक्रम लागु गरिएको छ । सामुदायीक वन, स्थानीय निकाय र  जिल्ला वन क्रार्यालयले ग्रामीण क्षेत्रका किसानको घरदैलोमा जनचेतना अभिवृद्धि गर्दै व्यवसायीक जडिबुटी खेतीको अभिवृद्धिमा सक्रिय रहेका छन् ।
वन प्राविधिकहरु किसानकै घरदैलोमा पुगेर हावापानी र माटो सुहाउंदो जडिबुटी खेतीका लागि प्राविधिक सेवा दिएपछि आधुनिक खेतीको विकास र विस्तारमा सहयोग पुगेको छ । भौगोलिक रुपमा इलामका उच्च पहाडी र लेकाली क्षेत्रमा संभाव्यता अध्ययन गरि जडिबुटी विकास कार्यक्रम लागु गरिएको  । परम्परागत रुपमा खेती गर्दै आएका किसानलाई व्यवसायीक बनाउने उदेश्य रहेको कार्यक्रम अन्तरगत इलाममा चिराइतो र लौठसल्लाको जातका जडिबुटीको खेती विस्तारको काम गरिएको छ । 
खाध्यबाली नहुने वन क्षेत्र, सिचाई नपुुगेको जमिनको उपयोग गरि उत्पादकत्व अभिवृद्धि गर्दै स्थानीय स्तरमा आयआर्जनका अवसर सृजना गर्नु जडिबुटी विकास कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।  चिराइतो हामीले खाने सयौँ औषधिको कच्चापदार्थ हो भने लौठसल्ला  प्राणघातक क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधिको कच्चापदार्थ हो । आन्तरिक र बाह्य बजारमा उच्च माग रहेको चिराइतो र लौठसल्लाको व्यवसायीक खेती विकास, अनुशन्धान, तालिम, प्रचारप्रसार र चेतनाअभिवृद्धिको काम जडिबुटी विकास कार्यक्रम सँगै भएका छन् । कार्यक्रमले जडिबुटीहरुको उत्पादन, प्रशोधन र वजार व्यवस्थापनसँगै दिगो विकास तथा उपयोगको अभ्यासबाट समय सापेक्ष नीति निर्माण गर्ने लक्ष्य लिएको छ ।
आर्थिक वर्ष २०७३।०७४ को वार्षिक कार्यक्रम अन्तर्गत जडीबुटी विकास कार्यक्रम तर्फ चिराइतो र लौठसल्ला खेती विस्तारका लागि ५० लाख, जडीबुटी प्रशोधन केन्द्र स्थापना अन्तरगत १० लाख र अनुगमन कार्यक्रम अन्तर्गत ३ लाख ५० हजार गरि ६३ लाख ५० हजार बजेट स्वीकृत गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका किसान, सामुदायीक वन उपभोक्ता समिति, जडिबुटी प्रशोधन गर्ने उद्यमी र सहकारी संस्थाहरु लक्षित गरि जडिबुबटी विकास कार्यक्रम संचालन भएका छन् ।  जडिबुटी विकास कार्यक्रमको खेती विस्तारका लागि जिल्ला वन अधिकृतको संयोजकत्वमा एक फोकल टिम रहने व्यवस्था छ । फोकल टिमको सदस्यमा जिल्ला समन्वय समिति, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला आयुर्वेद कार्यालय, जडिबुटी सम्बन्धी सहकारी संस्थाका प्रतिनिधि रहने व्यवस्था रहेको छ भने सदस्य सचिव जिल्ला वन अधिकृतले तोकेको व्यक्ति रहनेछन् ।
फोकल टिमले चिराइतो र लौठसल्ला पाइने उच्च पहाडी नयाँबजार, प्याङ, सुलुबुङ्ग, पुवामजुवा, माइपोखरी, जोगमाई, जमुना, माईमजुवा र मावु गाविस जडिबुटी खेतीका लागि पकेट क्षेत्र पहिचान गरिएको थियो ।
नयाँबजार, प्याङ, सुलुबुङ्ग, पुवामजुवा, माइपोखरी चिराइतो क्लष्टर र जोगमाई, जमुना, माईमजुवा, मावु, माईपोखरी, सुलुवुङ्गलाई लौठसल्ला क्लष्टर छनौट गरि जडिबुटी विकास कार्यक्रम संचालन गरिएको थियो ।  कृषक, कृषक समूह, उद्यमी, सहकारी संस्था, सामुदायीक वन उपभोक्ता समुह सहकारी संस्थाको प्रस्तावना अध्ययन गरि जडिबुटी विकास कार्यक्रम संचालनका लागि छनौट गरिएको हो । प्राप्त प्रस्तावका आधारमा ८ जना किसान र एक सामुदायीक वन उपभोक्ता समूहलाई चिराइतो खेतीका लागि जिल्ला वन कार्यालयले प्राविधिक तथा अनुदान सहयोग गरेको थियो । वन कार्यालयको सहयोगबाट ८ जना किसानले १५÷१५ रोपनी क्षेत्रफल गरि एक सय २० रोपनीमा  ३ लाख ३८ हजार ४ सय चिराइतोको बिरुवा रोपण गरेका छन् ।
माई जोगमाई गाउँपालिकाको उत्तरे सामुदायीक वनमा भएको अतिक्रमण हटाई ४६ रोपनी क्षेत्रफलमा जडिबुटी खेती कार्यक्रमबाट चिराइतो खेती विस्तार गरिएको थियो ।  यसैगरि लौठसल्ला पकेट क्षेत्र अन्तरगत २४ जना किसान, ५ सामुदायीक वन उपभोक्ता समुह र ३ सहकारी संस्थाका किसानलाई लौठसल्लाको खतीका लागि वन कार्यालयले प्राविधिक तथा अनुदान सहयोग गरेको थियो । २४ जना किसानले ४ सय ४३ रोपनी क्षेत्रफलमा ३५ हजार १ सय ५४ वटा लौठसल्लाका विरुवा रोपण गरेका छन् । यस्तै सामुदायीक वन क्षेत्रको २ सय १० रोपनी क्षेत्रफलमा १७ हजार १० वटा र सहकारी संस्था अन्तरगत ३ सय १४ रोपनी क्षेत्रफलमा १६ हजार २ सय ७६ लौठसल्लाका बिरुवा रोपण गरिसकिएको छ ।
चिराइतो पकेट क्षेत्रका किसानलाई प्रति बिरुवा ५ रुपैँया र लौठसल्लाको बिरुवा रोपणका लागि ३० रुपैयाँ अनुदान प्रदान गरिएको थियो । जडीबुटी खेति विस्तारका लागि जिल्ला वन कार्यालयद्घारा संचालित कार्यक्रमको अनुगमन तथा प्रभाव मुल्यांकन पनि किसानकै बगानमा पुग्ने गरिएको    छ । 
जडिबुटी विकास कार्यक्रमका फोकल टिमका सदस्यहरुले संयुक्त रुपमा कार्यक्रम संचालन भएका क्षेत्रहरुको निरीक्षण गरि किसान, सामुदायीक वन उपभोक्ता समुह र सहकारी संस्थाका पदाधिकारीलाई सुझाव र अन्तरक्रिया गरिँदै आएको हो ।   जडिबुटी विकास कार्यक्रमबाट जिल्ला वन कार्यालय आफ्ना उदेश्य र लक्ष्य अनुरुपको उपलब्धी प्राप्त गर्न सफल भएको देखिन्छ । यस कार्यक्रमबाट जैविक विविधता संरक्षण, बहुमुल्य प्रजाति र स्थानीय प्रजातिका जडिबुटीको संरक्षण, पारिस्थितिकीय प्रणालीमा सुधार, जलाधारीय अवस्थामा सुधार तथा वातावरणीय सन्तुलन कायम गर्नमा सहयोग पुगेको छ ।
जडिबुटी कार्यक्रम संचालन भएपछि किसान, सामुदायीक वन उपभोक्ता समुह र सहकारी संस्थाहरु जडिबुटी खेतिका लागि आकर्षित भएका छन् । परम्परागत रुपमा चिराइतो र लौठसल्ला खेती गर्दै आएका किसानलाई यस कार्यक्रमले खेति विस्तारको प्राविधिक ज्ञानसँगै जडिबुटी संकलन र निकासी गर्दा आईपर्ने समस्या समाधान गर्न सहज भएको छ ।  
जैविक विविधताको संरक्षणसँगै किसानको आर्थिक अवस्था सुधार गर्ने जडिबुटी विकास कार्यक्रमबाट आगामि दिनमा देशमै भण्डारण र प्रशोधनको व्यवस्थापन  गर्नुपर्ने देखिन्छ । देशकै आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको गैरकाष्ठ एवं जडिबुटीको आधुनिक ढंगबाट व्यावसायिक खेति, संकलन, प्रशोधन र बजारिकरणको तालिम किसानमा पुर्याउन जरुरी छ । लोकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता