
अलैंची रोप्ने लहर बेंसीदेखि तुुसारो पर्ने लेकसम्म चलेको छ । मूल्यका कारण तीन र चार वर्ष मात्र अलैंची फले राम्रो आम्दानी गर्न सकिने विश्वासमा बर्सेनि अलैंची रोपणको क्षेत्र बढेको हो । अलैंची खेतीकै कारण मकै, धानलगायतका परम्परागत खेती मासिँदै गएका छन् ।
जमिन व्यवस्थापन
जमिन आफ्नो हुने हो भने एकैपटक धेरै लगानी गर्नु पर्दैन । ओसिलो र माटो बाक्लो भएको जमिनमा बगान बिस्तार गर्न सकिन्छ । अन्य खेतीबालीजस्तो बर्सेनि लगाइरहनुपर्ने झन्झट पनि यसमा छैन । अलैंची रोप्न खनजोत गरिरहनु पर्दैन । एकदेखि डेढ मिटरको अन्तरमा बिरुवा रोप्नुपर्छ । रोपेको तीन वर्षपछि अलैंचीले उत्पादन दिन थाल्छ । चार दशमलव पाँचदेखि ६ पीएच भएको माटो उपयुक्त हुन्छ ।
उचाइअनुसार फरक जात प्रयोग गर्नुपर्छ । इलाम, फिक्कलस्थित अलैंची विकास केन्द्रका प्रमुख पदम अधिकारीका अनुसार ६ सयदेखि एक हजार दुई सय मिटरसम्मको उचाइ भएको स्थानमा डम्बरसाई र जिर्मले जात लगाउनुपर्छ । एक हजार दुई सयदेखि एक हजार ६ सय मिटरसम्म गोलसाई र साउने प्रजाति तथा त्यसमाथि दुई हजार तीन सय मिटरसम्मको उचाइमा भार्लाङ र रामसाई लगाउँदा उपयुक्त हुन्छ ।
बैंकिङ सुविधा
अलैंची र अदुवा खेती तथा त्यसको भण्डारण तथा प्रशोधनका लागि बैंकहरूबाट ६ प्रतिशत ब्याजदरमा ऋण सुविधा पाइन्छ । यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्छन् । त्यसमध्ये ६ प्रतिशत ब्याज किसानले तिर्नुपर्छ । बाँकी ४ प्रतिशत ऋण सरकारले बैंकलाई भुक्तान गरिदिन्छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले ६ प्रतिशतको ब्याजदर घटाएर ५ प्रतिशत बनाएको छ । तर, त्यो कार्यान्वयनमा आइसकेको छैन । त्यो कार्यान्वयनमा आएपछि किसानले ५ प्रतिशतमा ऋण पाउने छन् ।
ऋणको अधिकतम सीमा १ करोड रुपैयाँ कायम गरिएको छ । तर, व्यवसायको सम्भावना र मुनाफाका आधारमा बैंकले उक्त सीमा बढाउन सक्नेछ । परिपक्क अवधि बढीमा पाँच वर्षको हुनेछ । नागरिताको फोटोकपीसँगै, आफ्नो फर्मको सम्पूर्ण कागजात । धितो राख्न मिल्ने सम्पत्तिको कागजपत्र आदि ।
बिरुवा उत्पादन
धेरै कृषकले पुरानो झयाङबाट बर्खाको समयमा बिरुवा निकाल्ने गर्छन् । यसो गर्दा उत्पादन छिटो पनि हुन्छ । यस्तो बिरुवा ठूलो बगान हुने अधिकांश कृषकले विक्री पनि गर्छन् । तर यसरी बिरुवा रोप्दा रोगको संक्रमणले छिटो भेट्ने निष्कर्षमा विज्ञहरू पुगेका छन् ।
दानाबाट बिरुवा उत्पादन गरेर रोप्नलाई अलैंची विकास केन्द्र र जिल्ला कृषि विकास कार्यालयले कृषकलाई प्रोत्साहन गर्दै आएका छन् । तर यस्तो बिरुवा रोप्दा ढिलो मात्र उत्पादन हुन्छ । दानाबाट बीउ उत्पादन गर्न ३२ महिना समय चाहिन्छ । यसले रोपेको तीन वर्षदेखि आम्दानी दिन्छ । इलाम, पाँचथर, ताप्लेजुङ, लमजुङ, रोल्पा, दोलखा, काभ्रे, धनकुटा, तेह्रथुम, खोटाङलगायत अलैंची उत्पादन हुने जिल्लामा एक सयवटा नर्सरी स्थापना भइसकेका छन् । किसानलाई बिरुवा अभाव नहुने केन्द्रको दाबी छ । यो खेती अन्य जिल्लामा पनि बिस्तार गर्न सकिन्छ ।
अलैंचीको बिरुवालाई संक्रमणबाट जोगिने सक्ने गरि टिस्युकल्चरवाट उत्पादन गरिनुपर्ने पशुपतिनगरका कृषक रोविन राई बताउँछन् । बिरुवा उत्पादन गर्दा महँगो पर्ने भएकाले टिस्युकल्चर प्रविधिबाट उत्पादित बिरुवालाई नर्सरी गरेर ठूलो संख्यामा उत्पादन गर्नुपर्छ । यसरी बिरुवा उत्पादन गर्दा प्रतिगोटा ६ रुपैयाँसम्ममा बिक्री हुने राई बताउँछन् ।
दानाबाट सीधै नर्सरी गरेर बिरुवा उत्पादन गर्न अलैंची विकास केन्द्र लागेको छ । यस्तो बिरुवा तयार गर्दा पाकेको र निरोगी दाना छान्नुपर्छ । त्यसलाई ब्याड बनाएर उमार्नुपर्छ । यसरी उमारिएको बिरुवा कृषकले प्रतिगोटा १० रुपैयाँसम्ममा खरिद गर्छन् । अलैंचीको बिरुवा उत्पादन र प्रविधि विकासमा लागेको फिक्कल पान्दामस्थित केन्द्रबाट उत्पादित बिरुवा पश्चिमको बैतडीदेखि पूर्वी ताप्लेजुङसम्म पुग्ने गरेको छ । ताप्लेजुङदेखि दार्चुलासम्म उत्पादन गर्न सकिन्छ ।
फारम दर्ता
निजी बगानमा आफैं अलैंची उत्पादन गर्ने अभ्यास छ । निजी फर्म र समूह दर्ता गरेर पनि खेती गर्न सकिन्छ । बगान व्यवस्थापन र नर्सरी स्थापनाका लागि फर्म या समूह दर्ता भएपछि सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्छन् । निजी फर्म दर्ता गर्न प्यान नम्बर,घरेलु दर्ता, गाविस वा नगरपालिकाको सिफारिस अनिवार्य हुन्छ । समूह दर्ता गर्न सेवा केन्द्र र गाविसको सिफारिस लिएर विधानसहित कृषि कार्यालयमा पेस गर्नुपर्छ ।
हरेक वर्ष कृषि विकास कार्यालयले अलैंची खेतीका लागि निवेदन आहवान गर्छ । सिँचाइ, बिरुवा वितरण, उत्पादन, खेती बिस्तारलगायत शीर्षकमा निवेदन आहवान भएपछि सामान्य सरकारी सहयोगका लागि कृषकले सिधै माग गर्न सक्छन् । तर ठूलो सहयोगका लागि भने फर्म र समूह दर्ता अनिवार्य छ । कार्यालयले सबै निवेदनलाई अध्ययन गरी सुविधा उपलब्ध गराउने गर्छ । कृषकले अलैंची खेतीका लागि कृषि विकास बैंकबाट ऋण पनि लिन सक्छन् । अलैंची खेती गरेको क्षेत्र या खेती गर्ने प्रतिबद्धता भए प्रतिरोपनी २५ हजारदेखि ४० हजार रुपैयाँसम्म धितो मूल्यांकन गरेर ऋण दिन सकिने व्यवस्था छ ।
रोगको जोखिम धेरै
अलैंचीमा मुख्य गरी दुई प्रकारका संक्रमण देखिएका छन् । भाइरलको प्रकोपले धेरै बगान मासिए पनि । छिर्के, फुर्के र जुरजुरे भनिने भाइरलजन्य रोग बिरुवासँगै विस्तार हुने गरेको छ । यस्ता रोग देखिए उपचारको कुनै विधि अपनाउन नसकिने निरोगी अलैंचीको बिरुवा उत्पादनमा क्रियाशील पशुपतिनगरका रोविन राई बताउँछन् । विज्ञहरूका अनुसार संक्रमित बिरुवालाई उखेलेर डढाउनुको विकल्प छैन । निरोगी र रोग प्रतिरोधात्मक क्षमता भएका बिरुवा रोप्न उनीहरू सल्लाह दिन्छन् ।
अलैंचीमा अर्को समस्या हो बाहिरबाट लाग्ने रोग ‘प्याथोजिन’ । यस्ता रोगलाई जैविक विधिबाटै निदान गर्न सकिन्छ । अधिकांश पुराना बगान रोगले सखाप भएपछि पुन बिस्तार थालिएको छ । धेरै कृषकले निरोगी बिरुवा रोप्ने, गहुँत र जैविक विषादी प्रयोग गर्ने अभ्यास सुरु गरेका छन् । लेकाली क्षेत्रमा अलैंची खेती गर्दा तुसारोबाट जोगाउनु अर्को चुनौती हो । तुसारोले करेसाबारीमा लगाइएको अलैंची राताम्ये बनाएर सुकाउने गरेको छ । यसका लागि छहारी आवश्यक छ । उन्यू र सल्लाको छहारीले जोगाउन सकिन्छ ।
बिमा सुविधा
अलैंची र अदुवा खेतीका लागि बिमा सुविधा उपलब्ध छ । सञ्चालनमा रहेका सबै निर्जीवन बिमा कम्पनीमार्फत ती बालीको बिमा गर्न सकिन्छ । यस्तो बिमामा कुल बिमा शुल्कको २५ प्रतिशत मात्र किसानले तिर्नुपर्छ । बाँकी ७५ प्रतिशत शुल्क सरकारमार्फत अनुदान छुट पाइन्छ ।

अलैंचीलाई सुख्खा याम मंसिरदेखि वैशाखसम्म महिनाको पाँच पटकसम्म सिँचाइ गर्नुपर्छ । कुलो, स्प्रिङकल, थोपा सिँचाइजस्ता प्रविधि यसमा उपयुक्त हुन्छ । अलैंचीको फल टिपेपछि वर्षमा एक पटक पाँच ६ किलोको दरले गोबर मल र कम्तीमा महिनामा एक पटक गाईको गहुँत लगाउनु उपयुक्त हुन्छ । उपयुक्त माटो, मल, सिँचाइ र निरोगी बिरुवा भएको स्थानमा प्रतिरोपनी ३० किलोसम्म सुख्खा अलैंची उत्पादन हुन्छ ।
भण्डारण परम्परागत
सुकाएर तयार बनेको अलैंचीलाई कृषकले घरमै राखेर बिक्री गर्छन् । कतिपयले अझै बढी मूल्य आउला भनेर दुई वर्षसम्म अलैंचीलाई घरमै राख्छन् । यसो गर्दा अलैंचीको गुणस्तरमा ह्रास आउँछ । सुख्खा स्थानमा भण्डारण गर्नाले केही महिनासम्मलाई उति अप्ठेरो पर्दैन । व्यापारीले कृषकबाट खरिद गरेपछि पनि लामो समयसम्म गोदाममै राख्ने गर्छन् । चिसो स्थान र हुस्सु लाग्ने ठाउँमा राखियो भने सुकाएको अलैंचीको गुणस्तर बिग्रन्छ । पछिल्लो समय अलैंची व्यवसायी महासंघले गोदाम (वेयर हाउस) को व्यवस्था गरिनुपर्ने माग उठाएको छ । गोदाममा अलैंची राखी सोही धितोमा बैंकबाट ऋण पाउँदा कृषक र व्यवसायी दुवैलाई फाइदा पुग्ने महासंघको भनाइ छ ।
टिप्ने र सुकाउने
उचाइअनुसार भदौदेखि कात्तिकसम्म अलैंची पाक्छ । पाकेपछि अलैंची टिप्नुपर्छ । पाकेको अलैंचीलाई खोइलासँगै फलामको छुरीको प्रयोग गरेर फेदमै टिप्नुपर्छ । अलैंची टिप्नकै लागि लामो छुरी बनाइएको हुन्छ । टिपिएको अलैंची छोडाएर सुकाउनुपर्छ । अलैंची सुकाउन परम्परागत भट्टी प्रयोगमा धेरै छन् । आधुनिक भट्टी पनि निर्माण हुने क्रम बढ्दो छ । दुवै खालका भट्टीमा दाउरा प्रयोग हुन्छ । परम्परगतमा अलैंची सुकाउँदा धुवाँ लाग्ने भएकाले कम गुणस्तरको हुन्छ । यसमा १२ घण्टासम्म धुवाँ लगाएर अलैंची सुकाइन्छ । आधुनिक भट्टीमा १७ र १८ घण्टा लाग्ने भए पनि धुवाँ नलागी सुक्छ । दाउराको खपत दुवैमा उत्तिकै हुन्छ । हालसम्म पाँचथरको फलैंचामा एउटा मात्र विद्युतीय भट्टी निर्माण भएको छ । ‘भारत लगायतका देशमा निर्यात गर्नलाई परम्परागत भट्टीको असर देखिएको छैन,’ नेपाल अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले भने, ‘युरोपेली देशमा भने निर्यात गर्न अप्ठेरो पर्न सक्छ ।’
बजारको अवस्था
अलैंची पूर्णतया निर्यात हुने उत्पादन हो । अहिलेसम्म मुख्य बजार भारत रहँदै आएको छ । संयुक्त अरब इमिरेट्स र पाकिस्तानमा पनि निर्यात हुने गर्छ । तर ती देशमा नेपालले सिधै सम्पर्क बनाउन नसक्दा भारतीय नीतिअनुरूप नै अलैंची जाने गरेको छ । नेपालले अन्य देशमा बिक्री गर्न सक्दा बढी मूल्य पाउने अवस्था छ । अहिले पश्चिमा देशमा पनि निर्यातको तयारी सुरु भएको छ । उत्पादन गर्न सके चलनचल्तीको मूल्यमा घरघर नै व्यापारी पुगेर खरिद गर्छन् ।
अलैंचीलाई अन्तराष्ट्रिय बजारमा नेपाली पहिचानसहित राम्रो मूल्यमा बिक्री गर्ने उद्देश्यले ‘एभरेस्ट विग कार्डमम’ नाममा टे«डमार्क तयार भएको छ । त्यसैले अब अलैंचीलाई गुणस्तर अनुसार ग्रेड छुट्टयाएर बिक्री गर्न सहज हुनेछ । नेपालमा दर्ता भइसकेको यो ट्रेडमार्क यूएई, भारत र पाकिस्तानमा दर्ता हुने क्रममा छ । अलैंचीलाई जेजे, एसडी र चलनचल्ती गरी तीन तहमा ग्रेडिङ गरी बजारसम्म पु¥याइने गरेको छ । अब्बल गुणस्तर भएको जेजेको मूल्य अहिले ५४ हजार रुपैयाँ प्रतिमन (४० किलो) छ । एसडी ५१ हजार र चलनचल्ती ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । मुख्य बजार भारत नै भएकाले अन्य कृषि उपजजस्तै प्रक्रिया अपनाउनुपर्छ । कृषक आफैंले सीमापारि पु¥याएर बेच्न कठिन छ । तर प्रयास गर्दा नसकिने भने होइन । सरकारले हस्तक्षेप गरी बिचौलिया हटाउनुपर्ने धारणा किसानहरूको छ । कृषकबाट खरिद गरिएको अलैंची साना व्यापारी हुँदै ठूलासम्म पुग्छ । निर्यात गर्दा उत्पत्तिको प्रमाणपत्र अनिवार्य हुन्छ । क्वारेन्टाइनमा जाँच गराउनुपर्छ । निर्यात गर्ने व्यपारीले खरिदको बिल पनि अनिवार्य राख्नुपर्छ ।
उत्पादन बढ्दो
मुलुकभरमा पाँच हजार नौ सय हेक्टर जमिनमा अलैंची खेती हुन्छ । कूल उत्पादन पाँच हजार आठ सय मेट्रिक टन भन्दा बढी रहेको अलैंची विकास केन्द्रको तथ्यांक छ । वाणिज्य मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ३४ लाख १४ हजार छ सय ३८ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । जसबाट चार अर्ब ५९ करोड ६३ लाख २२ हजार रुपैयाँ नेपाल भित्रिएको थियो । अलैंची उत्पादनमा ताप्लेजुङको हिस्सा ठूलो छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार गत वर्ष ताप्लेजुङमा एक हजार ६ सय ८० मेटिक टन अलैंची उत्पादन हुन्छ । संखुवासभामा नौ सय ५५, पाँचथरमा छ सय ५९, इलाममा पाँच सय २० र खोटाङमा चार सय मेटिक टन अलैंची अघिल्लो वर्ष उत्पादन भएको थियो । नेपाल बाहेक भारत र भुटानमा मात्र यसको खेती हुन्छ ।
१९७६ सालमा भारतको सिक्किमबाट अलैंची खेती इलाम भित्रिएको बूढापाका बताउँछन् । २०१५ सालदेखि नै अलैंची खेती गरेर इलामका किसानले आम्दानी लिन थालेका हुन् । अलैंची खेती सुरुमा सीमावर्ती पूर्वी गाउँहरू श्रीअन्तु, समालवुङ, पशुपतिनगर, गोर्खे, जोगमाई लगायत क्षेत्रमा भएको पाइन्छ । विश्वमै धेरै अलैंची उत्पादन गर्ने यहाँका किसान बजार अनिश्चितता र रोगको महामारीका कारण समस्यामा छन् ।
केही वर्षयता अलैंचीको मूल्यमा सुधार छ । प्रतिमन ६ हजारमा बिक्दै गरेको अलैंची एक लाख रुपैयाँ प्रतिमनसम्म पुग्यो । पाँच वर्षयता मूल्य ५० हजार रुपैयाँ प्रतिमनभन्दा तल आएको छैन । मसला, औषधि, पेयपदार्थ तथा घरेलु अन्य प्रयोजनमा अलैंची प्रयोग हुन्छ ।
अलैंचीले मालामाल
माइमझुवा १, याङमा–पुरानो बगान मासिएपछि चिन्तामा थियौं । अलैंचीबाट राम्रो कमाइ गर्दै आएको हाम्रो परिवारमा आर्थिक संकट बढ्न थाल्यो । तर हिम्मत हारेनौं । रहलपहल बिरुवाबाट अलैंची जोगाउने अभियानमा जुटयौं । पाखाबारीमा मासिँदै गएको बिरुवा ल्याएर हामीले स्थानीय पाराले जोगायौं अनि खेती विस्तार थाल्यौं । अहिले करेसाबारीमा फस्टाएको अलैंची बगान देख्दा आफैंलाई खुसी लाग्छ । बिहान बेलुकाको समयमा मिहिनेत गर्दा प्राप्त आम्दानी लोभ लाग्दो छ । अलैंची बगान मौलाएपछि अहिले व्यवहार सहज भएको छ ।
परम्परागत रूपमा हुने आलु, मकैलगायतका खेती छाडेर सिंगो परिवार अलैंची उत्पादनमा लागेको छ । पुरानो बगान मासिएपछि पाँच वर्ष अघिदेखि हामी नयाँ बगान विस्तारमा छौं । यो अभियानमा सघाएका छन् भाइ तोयाले । अहिलेसम्म कतैबाट ऋण लिनुपरेको छैन । गएको सिजनमा १२ रोपनी क्षेत्रफलमा लगाइएको अलैंचीबाट १० मन सुख्खा उत्पादन भयो । बगान विस्तार गरेर ३० रोपनी र्पुयाएका छौं । आउँदो वर्षदेखि उत्पादन बढ्ने निश्चित छ ।
गाईको गहुँतलाई अलैंचीमा लाग्ने भाइरसको अचुक औषधिको रूपमा प्रयोग गरेका छौं । गोठसँगै बनाइएको पक्की टयांकीमा गहुँत जम्मा हुन्छ । पानी मिलाएर सबै बोटमा पाइपले लगाउँछौं । टयांकी माथिको क्षेत्रमा भने बोकेरै लगाउने गरेका छौं । पुरानो बिरुवामा गोबरमल र गाईको गहुँत समय मिलाएर लगाउँदा बगान फस्टाउँदो रहेछ । अहिले आफूलाई पर्याप्त बिरुवा राखेर पनि बर्सेनि एक लाख रुपैयाँभन्दा धेरैको बिरुवा बिक्री गर्दैछौं ।
वर्षभरी मिहिनेत गर्दा खानपुग्ने अन्न नफल्ने जमिनमा नसोचेको कमाइ भएको छ । सिचाइको राम्रो स्रोत बगाननजिकै छ । घरमा गाई पालेकाले मलको अभाव छैन । हिउँद याममा एकपटक गोबर मल र गाईको गहुँत २२ दिनमा एकपटक लगाउने गरेका छौं । आम्दानी राम्रै छ । अब केही वर्ष फल्यो भने सन्तोष गर्नुपर्छ । नयाँ बगान बिस्तार गरेकाले पुरानो मासिँदै गए पनि समस्या हुँदैन । सुरुका दिनमा लगाएको बगानमा भने रोग देखिएको छ । अलैंचीलाई गोडमेल, गहुँत र मल हाल्ने र छहारीको व्यवस्था गर्न सक्दा पहिलेभन्दा धेरै उत्पादन हुन्छ ।