बसमा चढेको आधा घण्टा नहँुदै दुर्घटनामा परेँ

सल्यान, २५ असार । “मलाई सदरमुकाम खलंगा जानुपर्ने थियो, म कपुरकोटबाट बसमा चढेको थिएँ, चढेपछि बसको गति बढ्यो र सडकमा गुड्ने गाडीहरुलाई उछिन्न थाल्यो, करिब आठ किमी दूरी पार गरेपछि सडक छोडेर रुखमा ठोक्किएपछि बस खेतमा पुग्यो, त्यतिबेलासम्मको घटना मलाई थाहा छ, पछि बेहोस भएछु केहि थाहा भएन ।” सारपानी गर्पाका ४३ वर्षीय मानसिंह घर्तीले भन्नुभयो । 

सरकारले द्वन्द्वपीडितका लागि सदरमुकाममा बाँडिरहेको राहत लिन जाने क्रममा आज भएको बस दुर्घटनामा पर्नुभएका घर्ती गाउँपालिकाबाट लिएको सिफारिससहित झोला हराएपछि उहाँ थप चिन्तामा पर्नुभएको छ । 

बसले च्यापिएर घाईते भएका घर्तीलाई प्रहरीले उद्धार गरि जिल्ला अस्पतालमा पु¥याएको थियो । 
उहाँसँगै सिटमा बसेका झिम्पेका ५२ वर्षीय रातु खड्काको मृत्यु भएको सुनेपछि उहाँका आँखामा आँशु आए भाग्यले बाँचिएछ– उहाँले भन्नुभयो । बसको गति धेरै भएका कारण बस दुर्घटना भएको घर्तीको भनाइ छ । 
आज बिहान दाङको घोराहीबाट रुकुम खलंगाका लागि छुटेको ना४ख ५४५७ नंको यात्रुबाहक बस त्रिवेणी गाउँपालिका– ५ सल्लेखोलामा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं ४ झिम्पेका ५२ वर्षीय रातो खड्का र रुकुम जिल्ला मुरु बस्ने २५ वर्षीय मानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
दुर्घटनामा परी गम्भीर घाइते भएका ११ जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जतर्फ पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते हुनेमा त्रिवेणी गाउँपालिका– ४ रुकुमकी २८ वर्षीया यामकुमारी वली, सोही ठाउँकी १० वर्षीया दिपा वली, आठबिसकोट– ६ रुकुमका ३४ वर्षीय निराजन खड्का र राँझा बाँके जिल्लाका ३२ वर्षीय रेशमप्रसाद दाहाल रहेका छन् । 
यसैगरी गम्भीर घाईते हुनेमा खारा– ३ रुकुमका १७ वर्षीय मोहन विक, पाखापानी– ३ रोल्पाका ३८ वर्षीय मस्तबहादुर खड्का, धनगढी कैलालीका ३२ वर्षीय गौरव सिंह, कारागिठी सल्यानका ३२ वर्षीय लालबहादुर खड्का, त्रिवेणी गाउँपालिका– ५ रुकुमका ३२ वर्षीय पर्शुराम वली, मुरु– ३ का २७ वर्षीय खिमराज सुनार, घोराही उपमहानगरपालिका– १७ का २८ वर्षीय चूडामणि खत्री र मुसिकोट नगरपालिका– ६ रुकुमका २७ वर्षीय एकबहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सुनिल मल्लले जानकारी दिनुभयो । 

बाँकी १५ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालय सल्यानबाट आएको प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । अविरल वर्षाका कारण उद्धारकार्यमा कठिनाइ भए पनि समयमै उद्धार गर्न सकिएकाले मानवीय क्षति कम भएको प्रहरीको भनाइ छ । रासस
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता