चुलाचुली, साउनः सुगम जिल्ला झापाको सिमानामा रहेर पनि इलामको चुलाचुली गाउँपालिकाका स्थानीयले दुर्गममा झैं कष्टकर जीवन बिताउन बाध्य हुनपरेको छ । गाउँपालिकामा अहिलेसम्म पनि उचित खानेपानी विद्युत सेवा, सिँचाइ यातायातको सेवा नहुँदा चुलाचुलीका स्थानीयले कष्टकर जीवन बिताउन बाध्य हुनपरेको हो । आफूहरुलाई इलामले नदेखेको र झापाले नहेरेको स्थानीय बताउँछन् ।
चुलाचुली खोलै खोलाले घेरिएको गाउँपालिका भए पनि त्यहाँ रहेका अधिकांश स्थानहरुमा खोलामा पुल नबन्दा स्थानीयले बर्खा याममा झनै धेरै सास्ती भोग्नुपर्छ । बिरामी पर्दासमेत उनीहरुलाई बर्खाको समयमा उपचार नपाउने चिन्ताले सताउँछ । विद्युत् विस्तार नहुँदा उनीहरुले अहिले पनि विद्युतबाट हुने ठूला काम गर्न दमक र आसपासका क्षेत्रनै झर्नुपर्ने बाध्यता छ । सिँचाइ अभावमा खेत बाँझै रहने झापाको सीमावर्ती चुलाचुलीमा धानसँगै झापाको जस्तै खेती हुन्छ ।
तर, स्थानीयले भने सिँचाइ सुविधा नहुँदा खेती गर्न आकाशे पानीकै भर पर्नुपर्छ । चुलाचुली ५ की अम्बिाका भण्डारीका अनुसार गत वर्षसम्म आकाशे पानीको भरमा खेती गरेको थियो । तर, यसवर्ष समयमा पानी नपर्दा खेत बाँझै भएको उनको भनाइ छ । उनले भनिन्, ‘गत सालसम्म त पानी परेको थियो, धान रोप्यौं, अहिले त पानी पनि परेन खेत बाँझै छ ।’
पानी पर्दा बाटो र खोलाकै चिन्ता
पानी नपर्दा खेती नहुने चिन्ता एकातिर छ भने अर्कातिर पानी पर्दासमेत खोला बढ्ने र बाटो बिग्रने हुँदा चुलाचुलीका स्थानीयलाई समस्या पर्ने गरेको छ । रतुवा, कमल, चाँजु, बुकुवालगायत साना–ठूला गरी एक दर्जन खोलाले घेरेको यो गाउँपालिकामा स्थानीयलाई पानी पर्न साथ कसरी दैनिकी चलाउने भन्ने चिन्ताले सताउने गर्छ । चुलाचुली गाउँपालिकाको ६ वटै वडामा अहिलेसम्म एउटा पनि कालोपत्रेबाटो नभएको स्थानीय चुलाचुली ४ गोविन्द भट्टराई बताउँछन् । उनी भन्छन्, ‘चुलाचुलीको क्षेत्रमा कही पनि पक्की बाटो छैन, काम गरौं, भन्यौं भने यहाँका नेता नै मान्दैनन् ।’ यस्तै, खोलामा पुल नहुँदा बर्खामा इलाम र दमकसँगकै सम्बन्ध टुट्ने गरेको चुलाचुली ५ का भक्तबहादुर विश्वकर्मा बताउँछन् । उनी भन्छन्, ‘दमकसँग हाम्रो प्रत्यक्ष सम्बन्ध छ, हामीले दैनिकी चलाउनसमेत दैनिक दमक गएर काम गछौं तर, खोलामा बाढी आयो भने हामी दमक पनि जान सक्दैनौं ।’
उनले बर्खाको समयमा बिरामी पर्दा झनै गाह्रो पर्ने बताए । उनले भने, ‘अरुबेला त जसरी पनि दैनिकी चलाइन्छ, बर्खामा चाहिने सामग्रीहरु अगाडि नै ल्याएर राखिन्छ तर, बिरामी पर्दा समस्या हुन्छ, अस्पतालसम्म जान पनि खोला तर्नुपर्छ र धेरैको खोलाले गर्दा अकालमा मृत्यु पनि भएको छ ।’ धारा छ पानी आउँदैन खानेपानीको समेत यस क्षेत्रमा समस्या विकाराल छ । खानेपानीको उचित मुहान र सरकारी निकायबाट कुनै व्यवस्था नहुँदा सुक्न लागेको पानीको मुहानबाट घन्टौं पर्खिएर खानेपानी ल्याउन उनीहरु बाध्य छन् । ट्युबेल गाड्दा समेत पानी नआएपछि मुहानमा घन्टौं पर्खिएर आफूहरु खाने पानी ल्याउन बाध्य भएको स्थानीय चन्द्रकला लिम्बूले बताइन् । उनले कही कही चुरेबाट पानी ल्याएका धारा भए पनि धारामा पानी नआउँदा सुक्न लागेका मुहानमा जानुपरेको बताइन् ।
उनले भनिन्, ‘२०५३ सालबाट गाउँमा धारा छन् तर, त्यो धारामा पनि आउँदैन, आए पनि खानेपानी आउँदैन, हामी खाने पानीका लागि लाइन बस्नुपर्छ, १० घरले एउटा इनारमा पानी खान्छौं, एक गाग्री पानी भरिन एक घण्टा लाग्छ, राति कोही नभएको मौका छोपेर पानी लिन जानुपर्ने बाध्यता छ ।’
विद्युतको समस्या पनि उत्तिकै छ, चुलाचुली झापादेखि वारिपारि छ । झापामा झलमल्ल बिजुली बल्छ । चुलाचुलीवासीहरु भने त्यही बलेको बिजुली हेरेर बस्न बाध्य छन् । चुलाचुलीमा सरकारी तवरबाट बिजुली लैजाने त्यस्तो केही पहल नभएको स्थानीयहरु दुखेसो गर्छन् । स्थानीयले आफैं पैसा उठाएर चुलाचुली ४ को केही स्थानमा भने बिजुली पु¥याएका छन् । तर, अन्य क्षेत्रमा भने अझै बिजुली पुगेको छैन । आफूहरुले प्रत्येक घरको ६ हजार रुपैयाँ उठाएर गाउँसम्म विद्युत ल्याइपु¥याएको स्थानीय कमला राईले बताइन् । उनले भनिन्, ‘हामीले ६ हजार उठाएर पोहोर साल गाउँसम्म बिजुली ल्यायौं तर, सरकारी निकायले कुनै सहयोग गरेन, हामीले बिजुली राख्दा २० हजारभन्दा धेरै खर्च ग¥यौं ।’ यस्तै, चुनावका बेलामा नेताहरुले बिजुली दिने भन्दै पोल र तार टाँग्दै हिँडे पनि अहिले भने काम अघि नबढेको चुलाचुली ५ का यामु गहतराज बताउँछन् । उनी भन्छन्, ‘चुनावको बेलामा बिजुली दिन्छौं, भन्दै रतुवा खोलादेखि माथिसम्म त पोल र तार टाँगे तर, अहिले फेरि काम रोकिएको छ ।’
एउटै गाउँमा फरक फरक पार्टीले फरक ठाउँबाट बिजुली ल्याउन तार टाँगेको उनले बताए । उनले भने, ‘एउटै ठाउँमा बिजुली ल्याउनुपर्ने हो तर, एमालेले अलिक मास्तिरबाट बिजुलीका लागि तार राखेको छ, माओवादीले अलिकति तलबाट ल्याउने सुरु गरेको छ, चुनाव अघिसम्म त हामी पहिला ल्याउँछौं भन्थे अहिले त सबै हराए ।’ यसकारण पछि प¥यो चुलाचुली । चुचाचुली गाउँपालिका पछि पर्नुमा भौगोलिक कारण रहेको तत्कालीन गाविसका पूर्वअध्यक्ष ओमनारायण खनाल बताउँछन्। उनी भन्छन्, ‘हाम्रो गाउँ पछि पर्नुमा पहिलो त भौगोलिक कारण नै हो, खोलै खोलाले घेरिएको ठाउँ भएको र झापासँग जोडिएकाले जिल्लाले पनि खासै हेरेन ।’ चुलाचुलीमा २०६६ सालयता मात्र अलिकति विकास सुरु भएको उनी बताउँछन् । ‘यो क्षेत्रमा पहिला त अव्यवस्थित बसाईं थियो यहाँ कसैको जग्गाधनी प्रमाण पुर्जा थिएन ।’ उनी भन्छन्, ‘२०६४ सालमा इलाम जिल्ला चुलाचुली अव्यवस्थित बसोवास व्यवस्थापन आयोग गठन भयो र यसले २०६६ साल फागुनमा जग्गाधनी प्रमाण पुर्जा दिलायो, त्यसयता केही विकास भएको छ, ठाउँ ठाउँमा पुल बन्दै छ, सडक बन्दै छ ।’
के भन्छ गाउँपालिका ?
चुलाचुली गाउँपालिकाको कार्यालयले भने जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका कामलाई प्राथमिकता दिएर अघि बढ्ने बताएको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले आफूहरुको पहिलो बैठकले चुलाचुलीको विद्युतीकरणलाई प्राथमिकतामा राखेको बताए । उनले जनताले खोलाको दुःख भोगिराख्नु परेकाले खोलामा पुल निर्माण, खानेपानी, सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले चुलाचुलीका लागि महत्व बोकेको वैकल्पिक चुरे मार्गको डिपिआरसमेत तयार भइरहेको सुनाए ।
थाहा खबरबाट