एक नैतिक अभ्यास : गुरु पुर्णिमा



आज आषाढ शुक्ल पुर्णिमा । अर्थात सर्वश्रेष्ठ गुरु वेद व्यासको जन्म जयन्ती । धार्मिक श्रुती अनुसार हिन्दु धर्म ग्रन्थहरु चार वेद, अठार पुराण, श्रीमद्भागवत गीता आदिको रचना तथा सम्पादन सकेर आजकै दिन गुरु व्यासले आफ्ना शिष्यहरुलाई दर्शन दिनुभएको थियो । यसैको सम्झनामा हिन्दुधर्मावलम्बीहरुले आजको दिनलाई गुरु पुर्णिमाको रुपमा मनाउने गर्दछन् । विशेष गरि व्यक्तिलाई नैतिकवान बनाई सत्मार्गमा हिँड्न प्रेरित गर्ने गुरुजनहरु प्रति आज विशेष श्रद्धाभाव प्रकट गरिन्छ । 
यसबाट हामीमा नैतिक चेतना अभिबृद्धि हुनुको साथै सत्मार्गको अनुसरण गर्ने सीपको विकास समेत भईरहेको छ । र यो एउटा असल अभ्यास पनि हो । गुरु पुर्णिमाको परिधि भित्र जाउँ– यसका लागी गुरु शब्दको तात्पर्य बुझ्नु अनिवार्य छ । गुरु को हुन्? शाब्दिक अर्थलाई नियाल्दा हामी पाउछौ ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उक्त अन्धकारलाई चिर्ने उज्यालो  । त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन, ति महान व्यक्ति गुरु हुन् ।
ती मात्र गुरु हुन जसले हाम्रो मन भित्र भएको अज्ञानताको अध्यारोलाई नाश गरेर हामीलाई चेतनाको मार्ग प्रशस्त गर्ने गर्दछन । यस अर्थमा केही हदसम्म हाम्रा जन्मदाता माता पिता पनि हाम्रा लागी गुरुको पदवी प्रदान गर्न योग्य हुनुहुन्छ । तर हामी कहाँ अचेल एउटा गलत संस्कार हाबी हुदै गईरहेको छ, कसलाई गुरु मान्ने भन्ने सन्दर्भमा त्यो के भने आजकल हामी गाडी चालकदेखि पुराणका कथावाचक सम्मलाई बिना हिच्किचाहट गुरुको उपाधी पर्हियाउछौ । र यो समयमा हामी वेद व्यास जस्ता महान गुरुहरुको योगदानको कदर गर्नबाट चुक्दछौ । तथापी हामी कहाँ विद्यमान रहेको यस प्रकारको कमजोरी हटाउदै हामीलाई सजक गराउने दिन हो गुरु पुर्णिमा भन्ने कुरालाई हामीले भुल्न हुन्न् ।
परापूर्वकालमा गुरुकूलमा बसेर शिक्षा लिने चलन थियो । वर्षौ सम्म गुरुको समिपमा रहेर शिक्षा दिक्षा ग्रहण गर्ने प्रचलन थियो । यसले गर्दा शिष्य अर्थात सिकारुहरुमा गुरु प्रति झुकाव राख्ने र श्रद्धा भाव प्रकट गर्ने चेतनाको कमि हुन्न थियो । जब शिक्षालाई धर्मबाट अलग गरिनु पर्छ भन्ने आवाजहरु उठे । तत्पश्चात धर्मबाट निर्देशित शिक्षा पद्धतिको अन्त्य भई नयाँ ढङ्गको शिक्षा परिपाटीको सुरुवात भो । धर्मबाट निर्देशित शिक्षालाई स्वतन्त्रता प्रदान गर्नु आफैमा सुखद थियो यद्धपि नौतिक अनुशासनलाई उति महत्व नदिएकै कारण समाजको चारित्रिक विकास दुर्बल रहयो । गुरुजन प्रतिको सम्मान र आदर भाव घटेर गयो । र अन्तत राज्यले नैतिक शिक्षाको आवश्यकता महुसुस गरी विद्यालय तहमा यसलाई अनिवार्य ग¥यो । 
विद्यालय तहका बालबालिकामा नैतिक चरित्रको विकास गर्ने एउटा विकल्प थियो यो । यो प्रकारको अभ्यास नेपाल जस्तो अल्पविकसित मुलुकका लागी मात्र होइन थुप्रै विकसित मुलुकहरुमा पनि प्रभावकारी सावित भईसकेको छ यस अघिनै । यसरी नैतिक चरित्रको विकासका लागी नैतिक शिक्षाको अनिवार्यतालाई विकल्पको रुपमा लिएको छ विश्वले यतिखेर । र यो भन्दा पनि उत्तम विकल्प गुरु पुर्णिमा हो भन्ने कुरामा दुई मत नहोला । तर गुरु प्रति एकदिन श्रद्धाभाव प्रकट गर्दैमा मात्र गुरु भक्ती पर्याप्त हुन्न । सच्चा गुरुहरुसँग हामीले सदा झुकाव राख्नु पर्दछ । गुरुहरुलाई माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर सम्मान प्रकट गर्थे ऋषिहरु भने हामीले पनि गुरुहरुलाई सदा सम्झन अनिवार्य हुन्छ । 
वर्तमान सन्दर्भमा द्वापर युगका वृहस्पति र शुक्राचार्य जस्ता महान गुरुदेवहरुसँग साक्षत्कार हुन अवश्य कठिन छ यद्धपि वृहस्पति र शुक्राचार्य जस्ता असल चरित्र र पात्रहरु भने कहीकतै अवश्य पाउन सकिन्छ । हुन त तर्क गर्नेहरुको भिडमा अनेक तर्कहरु होलान वर्तमान सन्दर्भमा शिक्षकलाई गुरु मान्ने या नमान्ने भन्ने सवालमा तर हामीले बुझ्नु अति आवश्यक छ कि हामी कहाँ उपलब्ध शिक्षकहरुकै माझमा हिजोको द्वापर युगका वृहस्पति र शुक्राचार्यहरु पनि छन भनेर । सबै अवस्थामा विषयवस्तु मात्रै प्रदान हुदैन । सिकारुलाई उसमा भएका सम्भावनाहरुको पहिचान गरी सो अनुकुल लक्ष्य निर्धारण गर्न र मध्यमार्गी बाटो अबलम्बन गर्नमा मद्धत गर्नु असल शिक्षकको दायित्व हुन आउछ । 
विषयवस्तुका अतिरिक्त बालकमा भएका सम्भावना र प्रतिभाको प्रष्फुटन गरी जीवनको आधारस्तम्भको रुपमा त्यसको विकास गरिदिन सक्नु पर्द्छ एक असल शिक्षकले । यो विद्यालय शिक्षामा मात्र होइन कला साहित्य र साधना जस्ता सबै क्षेत्रमा लागु हुन्छ । यस प्रकारका शिक्षकलाई सिकारुले पनि भुल्दैनन । तर दयनिय अवष्था के छ भने हामी कहाँ सिकारुमा भएका सम्भावनाहरुको पहिचान गर्नु त परको कुरा भयो जबरजस्त विषयवस्तु रट्न लगाइन्छ न त्यो विषयवस्तु तयारीका लागी कुनै आईडिया नै दिईन्छ बरु नरटेको बहानामा मरणासन्न हुनेगरी उल्टै पिट्ने गरिन्छ । यस्ता शिक्षकका लागी भने भुलेर पनि गुरुको उपाधी पर्हियाउनु उचित हुदैन । 
यो समयमा शिक्षकले शिक्षणका लागी अनेकौ आधुनिक तौर तरिका प्रयोग गर्न सक्नुपर्दछ । विद्यार्थीका लागी बुँदागत विषयवस्तु तयारी गर्न विकाशानन्दले प्रकाशमा ल्याएको हुकिङ सिस्टमदेखि पश्चिम रोमन तथा ग्रीक सभ्यतामा प्रचलित अति नै उपयोगी विधि लोसाई अनि लिङ्किङ र निमोनिक्स जस्ता सरल र सहज तरिकाको प्रयोग गर्न बालबालिकालाई सिकाउनु पर्दछ । प्रविधिको उच्चतम प्रयोग गरी शिक्षणलाई थप समयानुकुल परिवर्तन गर्दै लानु पर्दछ । जो शिक्षक यस्ता आधुनिक विधि तथा प्रविधि प्रति अभ्यस्त छन र जसले सिकारुको मनोविज्ञानको अध्ययन गरेको छ, जसले सिकारुसँग मित्रवत व्यवहार प्रस्तुत गर्न सक्छ त्यस्ता शिक्षकलाई प्रोत्साहित गर्न सकेमा मात्र पनि आज औपचारिक शिक्षाबाट समाजमा उजागर हुदै गएको वितृष्णा कम गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता