इलाम, १५ साउन : पहाडी क्षेत्रमा आफ्नो शाखा विस्तार गर्ने नीतिअनुरुप एनएमबी बैङ्कले इलाममा नयाँ शाखा विस्तार गरेको छ । बैङ्कले आफ्नो १०० औैं शाखा इलाममा विस्तार गरेको हो । एनएमबीले आइतबार एक कार्यक्रमबीच इलाममा आफ्नो कारोबार शुरु गरेको हो । शाखा विस्तारको अवसरमा बैङ्कले पहिलो दिन खाता खोल्ने आफ्ना ग्राहकलाई चाँदीको सिक्का उपहार समेत प्रदान गरेको छ । पहिलो दिन खाता खोल्न नपाउने ग्राहकहरु साउन महिनाभर आएर न्युनतम ५ हजार बचत गरी खाता खोलेमा पनि सो ग्राहकलाई चाँदीको १० ग्रामको सिक्का उपहार प्रदान गर्ने बैङ्कका शाखा प्रबन्धक गोविन्द घिमिरेले बताए । ५ बर्ष पहिलेदेखि नै एनएमबी बैङ्कले समृद्ध पहाड युकेको सहयोगमा इलाममा ७ करोड रुपैंयाँ कर्जा इलामका विपन्न बर्गमा लगानी गरिसकेको छ ।
शाखा नभएको समयमा विपन्न वर्ग र उद्यमीहरुमा ठूलो परिमाणमा कर्जा लगानी गरिसकेको एनएमबीले शाखा स्थापना भएपछि हिमाली र पहाडी क्षेत्रमा उत्साहपूर्ण लगानी गर्ने प्रबन्धक घिमिरेले बताए । इलाममा शाखा खुलेकोमा समृद्ध पहाड युकेका क्षेत्रीय संयोजक सुदिप श्रेष्ठले खुसी व्यक्त गर्दै बैङ्कलाई बधाई दिएका छन् । ‘क’ वर्गका अन्य बैङ्क तथा वित्तीय संस्थाहरुले थोक कर्जाका लागि उदासिन भएको समयमा पाँच वर्ष पहिले एनएमबी बैङ्कले इलामका किसानहरुलाई सस्तो व्याजदरमा लगानी गरेको सम्झना गर्दै श्रेष्ठले आगामी दिनमा पनि एनएमबीसँग सहकार्य गरेर पूर्वी पहाडका विपन्न वर्गसम्म बैङ्कको सेवा पु¥याउन सहयोग गर्ने बताए । एनएमबीको शाखा खुलेपछि बैङ्कसँग नियमित कारोबार गरिरहेका इलामका तीन दर्जन सहकारी खुसी भएका छन् ।
इलाममा भएको अन्य बैङ्कको सहयोगमा एनएमबीमा कारोबार गरिरहेका सहकारीले अब सोझै कारोबार गर्न पाउने भएपछि खुसी देखिएका हुन् । जौबारी कृषि सहकारी संस्थाका व्यवस्थापक टङ्क नेपालले इलाममा एनएमबीको शाखा खुल्नुले गोदकका किसानहरुलाई राहत मिलेको बताए । सिंहदेवी दुग्ध उत्पादक सहकारी संस्था चमैताका व्यवस्थापक राजकुमार बस्नेतले अरु बैङ्कबाट एनएमबीसँग कारोबार गर्नुपर्ने झण्झटबाट मुक्त भएको प्रतिक्रिया दिए ।