बँदेलले हैरान बनायो जिर्मलेका किसानलाई

रोङ (जिर्मले), ७ कार्तिकः पिडा नै पिडा खेपिरहेका पूर्वी इलामका किसानहरुलाई जंगली जनावर बँदेलले हैरान बनाएको छ । दैनिक जसो रातको समयमा हुलका हुलको संख्यामा आउने बँदेलको समुहले किसानले लगाएको बालीनाली खनेर उखेली दिने, इस्कुस, आलु, पिडालु, तरुल र कोदो जस्ता बालीनाली खाएर नास पारिदिने गरेको रोङ –६ का किसान गिरीराज प्रधानले बताए । यता बँदेलको समुहले आफूले लगाएको इस्कुसको जरा समेत टकटकाएर खाएकोले तरकारी समेत किनेर खानुपर्ने अवस्था आएको अर्का किसान शंखर घिमिरेले बताए । उनी थप्छन्– रातमा हुलका हुल बँदेल आएर सिमीबारीमा हिड्दासमेत सिमीको बगानै नष्ट पारेको छ । पछिल्लो समयमा बँदेलले अलैंची बारीमा लगाएको मल समेत खन्न थालेको कारण अलैंचीको बोट नै उखेलिदिने गरेको छ । 
बारीमा रहेको गोबर मलको थुप्रो र पानी जमेको ठाउँ भेटेमा गहिरो पारेर खनिदिने र आसपासका बालीनाली सबै नष्ट पारिदिने गरेको छ । पछिल्लो समयमा हरेक गाउँमा नै बँदेको समुह रहने भएकोले किसानहरु नियमित घाँस दाउराको लागि जंगल जान समेत त्राहीमाम हुन थालेका छन् । प्रशासनले विगत वर्षमा घरेलु बन्दुक नियन्त्रणमा लिएपछि अबैध चोरी शिकार गर्ने क्रम नियन्त्रणमा आएपछि किसानहरु जंगली जनावरबाट पिडीत बन्न थालेका हुन । विगत लामो समयदेखि पूर्वी इलामका किसानहरु यस समस्याबाट पिडित भएपनि हालसम्म सरकारी निकायबाट कुनै सहयोग पाएका छैनन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता