
इलाम , चिया उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको ईलाममा मजदुरको अभाव भएपछि चिया किसान निराश बनेका छन् । जिल्लाको प्रायः सवै भूभागमा चिया खेती हुने गरेको भए पनि अधिकांश युवा उच्च शिक्षाका लागि शहर जाने र ग्रामिण क्षेत्रबाट रोजगारीका लागि विदेश गएका कारण मजदुर अभाव भएको हो । मजदुर अभाव भएकैले हरियो पत्ती टिपाइमा समस्या भएको चिया उत्पादकहरु बताउँछन् । देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको इलामको चिया व्यवसाय संकटमा परेको छ । मजदुर अभावका कारण हरियो पत्ती टिप्न समस्या भएपछि व्यवसाय नै संकटमा परेको हो । जिल्लामा २ वर्ष यता मजदुर अभावका कारण समयमै हरियो चिया टिपाई हुन छाडेको छ । चिया मालिकले मजदुर अभावका कारण ७ दिनभित्र अनिवार्य टिप्नुपर्ने हरियो पत्ती १५ दिनको फरकमा टिप्दै आएका छन् । इलामका अधिकांश क्षेत्रमा चिया रोपिएको भए पनि गाउँका युवाहरु उच्च शिक्षाका लागि शहर र रोजगारका लागि विदेश गएकाले चिया मजदुर अभाव भएको चिया मालिकहरु बताउँछन् ।
मजदुर अभावले समयमै टिपाई हुन नसक्दा चिया खेतीमा निराशा पैदा हुँदै आएको सूर्योदय नगरपालिका हर्कटेका किसान नरेश पौडेल बताउँछन् । पौडेल मात्र होइन जिल्लाका अधिकांस कृषकको समस्या उस्तै छ । यहाँका अधिकांश मानिसको मुख्य आयस्रोत चिया खेती नै हो । तर, चियाबगानमा मजदुरी गरेर परिवार पाल्नै गाह्रो हुने भएकाले आफूहरुको अन्तिम विकल्प वैदेशिक रोजगारी नै भएको रोङ गाउँपालिका–३ का चिया मजदुर गौरभ सिवा बताउँछन् ।
समयमै हरियो पत्ती टिप्न नपाउँदा किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । त्यति मात्र होइन, चिया रोप्नेदेखि टिप्ने तथा काँटछाँटका लागिसमेत दक्ष जनशक्तिको अभाव भएको छ । यसले गर्दा चियाको उत्पादन, प्रशोधन र बजारीकरणमा समस्या बढेको किसानहरु बताउँछन् । मजदुर अभावका कारण समयमै हरियो चिया टिप्न नसक्दा उत्पादनमा गिरावट आएको छ । यसले चियाको गुणस्तरसमेत खस्कँदै गएको छ । मजदुर अभाव भएका बेला चिया टिप्ने मेसिनको प्रयोग वा अन्य वैकल्पिक उपाय नअपनाउने हो भने इलामको मात्र नभई देशकै अर्थतन्त्रमा ठूलो धक्का लाग्ने निश्चित छ ।