आम्दानीमा उतार–चडाव ल्याउदै इलामका नगदेबाली

  • नमिन ढकाल

इलाम,  नगदेबालीको उत्पादनबाट आर्थिक अवस्था मजबुत भएको इलाममा पछिल्लो समय बजारको अनिश्चितताले कृषक अन्योलमा छन् । नगदेबाली खेतीको विस्तारसँगै उत्पादन बृद्धि हुँदै गए पनि मूल्यमा आउने उतारचढावले कृषक मारमा पर्ने गरेका हुन् । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांक अनुसार अलैंची, अदुवा, अकबरे, अम्रिसो लगायतका बालीबाट जिल्लामा वार्षिक १० अर्ब रुपैयाँको हाराहारी रकम भित्रिन्छ । भारतीय बजारमा निर्भर यी नगदेबालीको बेलाबेलामा हुने मूल्यको उतारचढावले भने सोचेअनुसार आम्दानी बृद्धि नभएको कार्यालयको भनाइ छ । यी उत्पादनको परनिर्भरता भारतमा मात्र बढ्दै जानु, आन्तरिक रूपमा प्रशोधन गरेर स्थानीय बजारमा सामग्री पु¥याउनु नसक्नु र राज्यले स्पष्ट निर्यात नीति र सहज वातावरण बनाउन नसक्दा किसानहरुको आम्दानी गुमिरहेको छ । कृषकमा पनि प्राविधिक ज्ञानको अभावमा बजार अनुसारको गुणस्तरीय उत्पादन गर्न नसक्नु जस्ता कारणले इलाममा नगदेबालीको सम्भावना भए पनि बजार बढ्न नसकेको सरोकारवालाहरुको भनाइ छ । 
भारतको दार्जिलिङमा चलिरहको गोर्खाल्यान्ड आन्दोलनका कारण नेपालको अदुवा भारततर्फ निकास हुन सकेको छैन ।  व्यापारीले सस्तो मूल्यमा नै अदुवा किनेर भण्डार गरे पनि बिक्री गर्न मुस्किल छ । अघिल्ला सिजनमा प्रतिमन १२ सय रुपैयाँसम्म मूल्य लिएका कृषकले यो पटक ५ सय रुपैयाँमा मात्र बिक्री गर्नुपर्यो । उत्पादन हुने सिजनमा अदुवाले हरेक वर्ष बजारको समस्या खेप्ने गरेको छ । भारतीय पक्षले मिसावट भएको, गुणस्तररहित भएको लगायत बहानामा अदुवा निर्यातमा झन्झट दिने गरेको छ । कृषकले अदुवाको बीउ प्रतिमन २ हजार रुपैयाँसम्म खर्चेर किन्ने गर्छन् । ‘कुनै बेला हवात्तै भाउ आउने त कहिले तल झर्ने गरेको छ,’ माईजोगमाई गाउँपालिका प्रेमेजुङका नेत्र दाहालले भने, ‘राम्रो मूल्य पाउने आशामा कृषकले अदुवा रोप्ने गर्छन् । कहिलकाहीँ त मिहिनेत पनि उठ्दैन ।’ जिल्लामा ३ हजार २ सय ३३ हेक्टर क्षेत्रफलमा लगाइएको अदुवाबाट ४६ हजार टन उत्पादन हुन्छ । अम्रिसोको कुचोले पनि कृषकलाई यसैगरी झुक्याउने गरेको छ । प्रतिकिलो १ सय रुपैयाँसम्ममा बिक्री भएको कुचो यस वर्ष २५ रुपैयाँमा पनि बेच्न पनि किसानहरुलाई मुस्किल प¥यो । घाँस, दाउरा र फूल बिक्री हुने भएकाले घरबारीमा अम्रिसो रोप्ने क्रम बढ्दो भए पनि आम्दानी लिने बेलामा किसानलाई चिन्ता नै पर्छ । 
जिल्लाका अधिकांश स्थानमा व्यवसायिक ढंगले कुचोको उत्पादन हुन्छ । खोल्साको सुन उपमा पाएको अलैँची फेरि किसानहरुले जगाएका छन् । रोगका कारण मासिएर बगानलाई घरघुरेन छेउमा रोपेर पनि इलामका किसानहरुले उत्पादनबाट आम्दानी लिन थालेका छन् । उत्पादन घट्दा प्रतिमन १ लाख रुपैयाँको हाराहारीमा पुगेको अलैंचीको मूल्य क्रमशः घट्दो छ । 
अहिले अलैंची प्रतिमन ३५ हजार रुपैयाँमा ओर्लिएको छ । दानाबाट उत्पादन भएका र रोगको प्रकोप नभएका विरुवा खोजेर कृषकले अलैंचीलाई पुनः जगाएका हुन् । पहिले चिस्यान जमिन र खोलाखोल्सी आसपास मात्र रोपिने अलैंची हिजोआज घरबारीमा रोप्न थालिएको छ । मकै, आलुलगायतका परम्परागत खेती अलैंचीका कारण विस्थापित हुने क्रममा छन् । तर मूल्य अनिश्चितताले कृषकलाई मात्र हैन व्यापारीलाई पनि उत्तिकै सताएको छ । बढी मूल्य पाउने आशामा कृषकबाट अलैँची खरिद गरेर गोदाममा थन्क्याउने गरे पनि घट्दै गएको मूल्यका कारण व्यपारीहरुले समेत घाटा व्यहोर्नुपरेको छ । 
अन्तराष्ट्रिय बजारको पहुँच नहुँदा भारतमा नै निर्भर रहनुले अलैंचीले उचित मूल्य नपाएको व्यवसायी बताउँछन् । देशकै नमुना बनेको इलामको चिया पनि भारतीय बजारमा नै निर्भर छ । अग्र्यानिक उत्पादन गर्न नसक्दा पश्चिमा बजारमा न्यून मात्र खपत हुने गरेको छ । 
आफ्नै ब्रान्ड नहुँदा इलाममा उत्पादन भएको करिव ७० प्रतिशत हरियो चियापत्ती भारतको कोलकातामा दार्जिलिङ टी को नामबाट बिक्री वितरण भइरहेको छ । उपयुक्त प्रविधि र कामदार अभावका कारण गुणस्तरीय चिया उत्पादन गरी अन्तराष्ट्रिय बजारमा आफ्नै ब्रान्डमा पु¥याउन समस्या रहेको सूर्योदय नगरपालिकाका किसान एवं उद्यमी काजीमान कागते बताउँछन् । यहाँका अधिकांश कृषकको उत्पादन स्थानीय कारखानाले प्रशोधन गरेर भारतीय बजारमै पु¥याउँछन् । चियामा काम गर्ने जनशक्ति अभाव र न्यून मूल्यका कारण कृषक निर्वाहमुखी मात्र भएको गुनासो गर्छन् । यहाँ उत्पादन हुने अकबरे खुर्सानी सामान्य ढंगले स्थानीय बजारमा कारोवार हुन्छ । भारतको दार्जिलिङ मुख्य बजार रहे पनि त्यहाँ चलेको आन्दोलनका कारण निर्यात ठप्प छ । यसबाट किसान चिन्तामा रहेका छन् । इलाममा ७० हजार ३ सय ३० हेक्टर खेतीयोग्य जमिनमध्ये ६३ हजार २ सय ९७ हेक्टरमा खेती हुन्छ । यसमा पनि अधिकांश हिस्सा नगदेबालीले ओगटेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता