
इलाम, ९ कार्तिकः अग्र्यानिक प्रमाणिकरण गर्ने निकाय नेपालमा नहुँदा उत्पादित चिया अन्तराष्ट्रिय बजारमा पुग्न सकेको छैन । विदेशी संस्था गुहारेर अग्र्यानिक प्रमाणित गराउन सक्ने उद्योगीको क्षमता नहुँदा नेपालको चिया स्थानीय तथा भारतीय बजार निर्भर रहेको छ । घरेलु उद्योग खोलेर चिया प्रशोधन गर्दै आएका किसानले पहुँचको अभावमा चियाको अग्र्यानिक प्रमाणीकरण गर्न सकेका छैनन् । उद्योगबाट जैविक अर्थोडक्स चिया तयार गरेपनि अग्र्यानिक प्रमाणिकरण गर्न नसक्दा नेपालको अग्र्यानिक चिया अन्तराष्ट्रिय बजारमा पुग्न नसकेको हो । अन्तराष्ट्रिय बजारमा जैविक चियाको माग राम्रो भएपनि विश्वसनीय निकायबाट प्रमाणित गर्न ठुलो धनरासी खर्च गर्नुपर्ने भएकाले घरेलु उद्योगी भारतीय बजारमा चिया बिक्री गर्दैै आएका छन् । नेपालमा जैविक चियाको प्रमाणीकरण गरेर प्रमाणपत्र दिने निकाय नहुँदा विदेशी संस्था बोलाएर प्रमाणीकरण गर्न लाखौँ रुपैयाँ खर्च हुने भएकाले समस्या भएको चिया उद्यमी मोतीराम दाहालले बताए ।
प्रमाणिकरण नहुँदा नेपालको जैविक चिया अन्तराष्ट्रिय बजारमा निर्यात हुन सकेको छैन । जर्मन टी काउन्सिल र युरोपियन टी कमिटीले सन् २००५ मा खाद्य पदार्थको रहल अवशेषको नयाँ मापदण्ड तयार गरेपछि अग्र्यानिक प्रमाणिकरण पछि मात्रै नेपालको चिया तेश्रो मुलुकमा निकासी हुने गरेको छ । ठुला चिया उद्योगीले अन्तराष्ट्रिय संस्था नासा मार्फत चिया प्रमाणिकरण गरि पठाएपनि साना चिया उद्योग प्रमाणित गराउने प्रक्रियामा आवश्यक पर्ने रकम जुटाउन नसक्दा सिटिसी सरह अर्थोडक्स चिया बिक्री गर्दै आएका छन् । नेपालको पाँचथर, इलाम, धनकुटा जिल्ला जैविक अर्थोडक्स चिया उत्पादन गरि उद्योगीले बजारमा पठाउने गरेका छन् ।