‘कालो सुन’ को खेतीबाट किसानलाई घाटा

सन्देश सुब्बा
पाँचथर,  मंसिरः मुलुकको अर्थतन्त्रमै ठूलो महत्व राख्ने नगदेबाली अलैंचीले केही वर्ष अघिसम्म ‘खोल्सीको कालो सुन’को उपमा पाएको थियो । प्रतिमन (४० केजी) एक लाख २० हजार सम्ममा बिक्री हुँदा अलैंचीबाट लोभलाग्दो मूल्य समातेका थिए किसानले । प्रतितोला सुनको मूल्यभन्दा प्रतिमन अलैंचीको मूल्य दोब्बरले पनि बढी हुँदा सुनसँगै तुलना गरेर किसान र व्यवसायीले अलैंचीलाई ‘खोल्सीको कालो सुन’ भनेका थिए । तर दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैंचीको मूल्य उकालो लाग्न नसक्दा ‘कालो सुन’को खेतीबाट घाटा सहनु परेको किसानले गुनासो गरेका छन् । नेपाल अलैंची ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालका अनुसार आर्थिक वर्ष २०७१/७२ मा सुख्खा अलैंची प्रतिमन न्यूनतम ८० हजारदेखि एक लाख २० हजार सम्ममा किनबेच भएको थियो । तर अकल्पनीय रुपले घटेको अलैंचीको मूल्यमा सुधार नआउँदा श्रमको मूल्य समेत जोगाउने अवस्था नरहेको पाँचथरको फालेलुङ गाउँपालिका–८, याङ्नामका किसान याम कुरुम्बाङले बताए ।
कुरुम्बाङका अनुसार एक मन सुख्खा अलैंची तयार गर्न करीब ३० हजार रुपैंयाँसम्म श्रमिक खर्च लाग्छ । अलैंचीको बोटलाई पानी दिने, रेखदेख गर्ने, टिप्नु अघि वरिपरिका झाडी फाँड्ने, टिप्ने, बुँङ्गाबाट फल छुट्याउने र भट्टी (सुकाउने काम) हाली बिक्रीका लागि तयार गर्दासम्ममा त्यतिको श्रमिक खर्च निस्कने गर्दछ । 
तर अहिले अलैंची प्रतिमन ३० हजारमा बिक्री गर्नुपर्दा श्रमको मूल्य समेत गुमाउनुपर्ने अवस्था आएको कुरुम्बाङको भनाई छ । वरिष्ठ उपाध्यक्ष नेपालका अनुसार महिनादिन अघि प्रतिमन २५ हजारमा किनबेच भएको अलैंचीको मूल्यमा केही सुधार आएको हो । ‘अहिले पहिलो ग्रेडको अलैंची प्रतिमन ३० हजार सम्ममा व्यापारीले किसानबाट लिइरहेका छन्’ नेपालले भने । किसानले मूल्य पर्खिन आफैं भण्डारण गरेर राख्नु सम्भव नहुने भएकाले घाटा सहेरै पनि बेच्नुपर्ने बाध्यता रहेको फालेलुङ–८, अंशुभञ्ज्याङका किसान पपिन्द्र फागो बताउँछन् । वार्षिक ४० मनसम्म सुख्खा अलैंची उत्पादन गर्दै आएका फागोले भने– ‘श्रमिकलाई पारिश्रमिक दिनैप¥यो, त्यसैले श्रमको मूल्य बचाउन कम मूल्यमा पनि अलैंची बेच्नु परेको छ ।’ 
आकर्षक मूल्यकै कारण पाँचथरमा खोल्सी हुँदै पाखोबारी र अहिले करेसाबारीसम्म अलैंची खेती बिस्तार भएको छ । तर खस्किएको अलैंचीको मूल्यमा सुधार नआउँदा किसान चिन्तित बनेका छन् । आकर्षक बजार भाउका कारण अन्य नगदेबालीको ठाउँमा पनि अलैंची खेती बिस्तार गरेको तर अहिले भाउ नहुँदा घाटा सहनु परेको फिदिम नगरपालिका–८, रानीटारका किसान रामचन्द्र तामाङले बताए । अहिले आएर बाली मास्ने अवस्था पनि नरहेकाले एकदिन मूल्यमा सुधार आउला भन्ने आशामा बस्नु परेको तामाङको भनाई छ । 
जिल्लामा फिदिम नगरपालिकाको रानीटार, लुङरुपा, फालेलुङ र याङवकर गाउँपालिका त्यस्तै फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा बढी अलैंची उत्पादन हुने गरेको छ । जिल्लामा गत आर्थिक वर्षमा एक हजार सात सय ३१ हेक्टर क्षेत्रफलमा गरिएको अलैंची खेतीबाट छ सय ६७.३ मेट्रिकटन अलैंची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ । १३ हजार सात सय ७३ किसानले गरेको खेतीबाट उक्त परिणामको अलैंची उत्पादन भएको कार्यालयका प्राविधिक सहायक याम संग्रौलाले बताए । 
पाँचथरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत फालेलुङ गाउँपालिका–१, २, ६ र ७ नम्बर वडाको पाँच सय हेक्टर क्षेत्रफलमा अलैंची जोन कार्यक्रम समेत सञ्चालन भइरहेको छ । अलैंची खेती प्रबद्र्धनमा राज्य समेत लागिपरेको छ । तर मूल्यमा भने अपेक्षाकृत सुधार आउँन नसक्नाले किसानमा निरासा छाएको छ ।
पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, इलाम सहित नेपालका मध्यपहाडी ४० जिल्लाका किसानले खेती गर्दै आएको नेपाली अलैंचीले कम मूल्य पाउँनुमा भारत आश्रित ब्यापार प्रमुख कारण रहेको ब्यवसायी बताउँछन् । विश्व बजारमा निर्यातका लागि पहुँच नहुँदा नेपाली अलैंची भारतीय ब्यापारीलाई उनीहरुले नै निर्धारण गरेको मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको छ । जसका कारण नेपाली अलैंचीले गुणस्तरीयता अनुसारको मूल्य पाउँन नसकेको जानकारहरु बताउँछन् । अहिले नेपाली अलैंची भारतीय ब्यापारी हुँदै खाडीका विभिन्न मुलुक तथा युरोपियन मुलुकसम्म पुग्ने गरेको छ ।
भारत आश्रित ब्यापारको अन्त्यका लागि पहल सुरु
नेपाली अलैंचीको भारत आश्रित ब्यापार अन्त्यका लागि नेपाल अलैंची ब्यवसायी महासंघले पहल सुरु गरेको छ । जसका लागि नेपाली अलैंचीको आफ्नै ट्रेडमार्क (ब्यापार चिन्ह) दर्ताको प्रक्रिया सुरु भइसकेको महासंघका वरिष्ठ उपाध्यक्ष नेपालले बताए । महासंघको पहलमा नेपाल सरकार बाट ‘एभरेष्ट बिग कार्डामोम’ को नाममा ट्रेडमार्क दर्ताको प्रक्रिया अघि बढाइएको बताइएको छ । यो कार्य सम्पन्न भइसकेपछि नेपाली अलैंचीको आफ्नै पहिचान स्थापित हुनेछ भने नेपाली अलैंचीको बजारलाई विश्वब्यापी बनाउँन सहयोग पुग्नेछ । जसका लागि नेपालमा गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको छ । 
अब भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई)मा दर्ता गर्नुपर्दछ । उक्त काम आउँदो डिसेम्बर भित्रमा सम्पन्न हुने वरिष्ठ उपाध्यक्ष नेपालले बताए । ट्रेडमार्क दर्ता पछि नेपाली अलैंची सिधै तेस्रो मुलुक निर्यात गर्न सकिने बताइएको छ । जसबाट उत्पादन र गुणस्तर दुबै हिसाबले विश्व बजारमा गुणस्तरीय सिद्ध भएको नेपाली अलैंचीले राम्रो मूल्य पाउँने अपेक्षा गरिएको छ । यो कुराले किसानको निरासालाई केही हदसम्म कम गरेको छ । ट्रेडमार्क दर्ता पछि अलैंचीको मूल्यमा सुधार आउँने किसानले आसा गरेका छन् ।
गुणस्तर सुधारका लागि अभियान
नेपाली अलैंचीको गुणस्तर सुधारका लागि पनि अभियान सुरु भएको छ । उन्नति समावेशी वृति कार्यक्रमको सहयोगमा नेपाल अलैंची व्यवसायी महासंघले अभियान सुरु गरेको हो । गत साउन १६ गते व्यवसायी, किसान र सरोकारवाला सम्मिलित भेलाले अलैंचीको गुणस्तर सुधारका लागि २०६५ मा तयार पारिएको निर्दे्शिका सम्बन्धित सबैले पूर्ण रुपमा पालना गर्ने निर्णय भएको महासंघले जनाएको छ । जस अनुसार किसानले अलैंचीको रोपण गर्दा रोगमुक्त बिरुवा रोपण गर्नुपर्ने, भट्टि लगाउँदा प्राबिधिकको परामर्श अनुसार गर्नुपर्ने, धुँवाजन्य पुल्ठोको प्रयोग, पानी, धुलो हाल्ने जस्ता कार्य प्रतिबन्ध गरिएको छ । 
अलैंचीको भण्डारण गर्दा खुला ठाउँ र चिस्यानबाट जोगाउँने, मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने चुरुम्फुको मिसावट गर्न पनि प्रतिबन्ध गरिएको छ । त्यस्तै अलैंची निर्यातकर्ताले अनिबार्य रुपमा डिजिटल काँटाको प्रयोग गर्नुपर्ने भनिएको छ । निर्दे्शिका कार्यान्वयनका लागि केन्द्र र जिल्ला तहमा सरोकारवाला सम्मिलिति अनुगमन टोली निर्माण भइ टोलिले काम समेत प्रारम्भ गरिसकेकाले निर्दे्शिका बमोजिम नगर्ने किसान र ब्यापारीलाई नेपाल सरकार गुणस्तर ऐन अन्तर्गत कारबाही गरिने समेत महासंघका बरिष्ठ उपाध्यक्ष नेपालले बताए । ‘ट्रेडमार्क दर्ताको प्रक्रिया पुरा गरी गुणस्तरीयता समेत कायम गरेर अलैंचलाई पुनः ‘खोल्सिको कालो सुन’ कै रुपमा कायम गर्न महासंघ लागिपरेको छ’ नेपालले भने ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता