इलाम, ११ मंसिर : नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ इलामका कार्यकर्ता दिपेन राईकी पत्नी संगीता फागोलाई प्रहरीले गत मंसिर ८ गते राती इलाम बजारबाट गिरफ्तार गरेकोमा उनको परिवारजनले उनको रिहाईको लागि माग गरेका छन् । इलाम सदरमुकाम रत्न चौकमा लिस्नो क्याफे सञ्चालन गर्दै आएकी राईलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकी संगीताका साथमा उनकी चार वर्षीया छोरी आत्मिका राईसमेत रहेकी छन् ।
उनका परिवारजनहरुले मानव अधिकारकर्मी तथा पत्रकारहरुलाई पति कुनै राजनैतिक दलको कार्यकर्ता भएकै कारण पत्निलाई बिना कारण पक्राउ गर्नु मानव अधिकारको खिल्ली उडाएको बताएका छन् । विगत सशस्त्र द्वन्दको समयमा पनि यस प्रकारको मानव अधिकारको हनन नभएको उनीहरुको भनाई रहेको छ ।
