गाग्रेभन्ञ्याङ–बिर्तामोड सडकको आधा काम सम्पन्न, पश्चिमी इलामको पचास किमि दुरी घट्यो


  • टीका खतिवडा

इलाम,  देउमाई नगरपालिकाको मंगलबारे–गाग्रेभन्ञ्याङ–दानाबारी हुँदै बिर्तामोड जाने सडक आगामी जेठ सम्ममा सम्पन्न हुने भएको छ । डेनमार्क सरकारको सहयोगमा निर्माणाधिन सो सडकको ५८ प्रतिशत काम पुरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिए । उन्नति समावेशी परियोजना अन्तर्गत उन्नति इन्क्लोजिफ ग्लोथ कार्यक्रम अन्तर्गत सो सडकको स्तरोन्नति गर्ने काम भइरहेको हो । गाग्रेभन्ञ्याङ–जितपुर–सोयाक–बेलाँसे–चिसापानी सडक निर्माण भएसँगै इलामका पश्चिमी क्षेत्रका बासिन्दालाई तराई झर्न सहज हुने भएको छ । मंगलबारेबाट मेची राजमार्ग हुँदै इलाम–फिक्कलबाट झापा करिब एक सय दश किलो मिटर पार गर्नु पर्छ । तर सो सडक निर्माण पछि करिव ६० किलोमिटर सडक पार गर्दा झापाको बिर्तामोड पुग्न सकिन्छ ।
त्यस क्षेत्रका बासिन्दाले उत्पादन गरेको वस्तु तराई लैजान, दैनिक उपभोग्य वस्तु घर भित्रियाउन, बिरामी हुँदा चाँडो अस्पताल जान र ब्यापारिक दृष्टिले समेत स्थानियलाई सहजता हुने छ । पहिलो र दोस्रो गरि दुई चरणमा काम भइरहेको छ । 
सो परियोजना अन्तर्गत ३२ किलो मिटर सडकको स्तरोन्नति हुने इञ्जिनियर झाले बताए । गेभियन वाल निर्माण ९० प्रतिशत पुरा भएको छ भने अर्थ वर्क ९० प्रतिशत, साइड ड्रेन ६५ प्रतिशत र मेसिनको काम ४० प्रतिशत सम्पन्न भएको इञ्जिनियर झाले चियाबारी दैनिकलाई जानकारी दिए । 
२०७३ साल चैत महिनाबाट सुरु भएको काम सम्पन्न गर्न आगामी ७४ जेठ सम्म कुर्नु पर्ने छ । हाल पनि देउमाई नगरपालिकाको जितपुरबाट सोयाक–दानाबारी हुँदै झापासम्म तीनवटा बस सञ्चालनमा आएको स्थानिय बासिन्दाले बताए । सोही सडक मार्फत साना सवारी समेत प्रसस्तै मात्रामा तराई आवतजावत गर्दै आएका छन् ।
पहिलो चरणको १६ किलोमिटर सडक जिम्मा गर्ने जिम्मा देवा निर्माण कम्पनीले लिएको छ भने दोस्रो चरणको १५ किलोमिटर सडक निर्माणको जिम्मा याक्थुमहाङ बिरुवा कम्पनीले लिएको छ । पहिलो चरणको काम १० करोड ७३ लाखमा ठेकका लागेको छ भने दोस्रो चरणको १० करोड १५ लाखमा ठेक्का लागेको आयोजनाले जानकारी दिएको छ । यो सडक निर्माण भइसकेपछि सो सडक करिब कालोपत्रे गर्न तयारी हुने आयोजनाका मुल्य श्रृङ्खला संयोजक विष्णु काफ्लेले जानकारी दिए । सडक निर्माणसँगै पूर्वी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र बिर्तामोडसँग प्रत्यक्ष सम्पर्क बढ्ने, सो क्षेत्रका बासिन्दाको आर्थिक उन्नति र रोजगारीको स्थिति सिर्जना हुने संयोजक काफ्लेले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता