इलाम अस्पतालमा १६ डाक्टरको काम एक्लै गर्दै प्रभु शाह

इलाम, १६ मंसिरः १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा १ जना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पताल इलाममा हाल २ जना स्थायी डाक्टर र २ जना मेडिकल अफिसरले सेवा दिइरहेका छन् । ९ जना विशेषज्ञ सहित १६ जना डाक्टरले सेवा पु¥याउनु पर्ने ५० शैयाको जिल्ला अस्पतालमा १ जना मात्र विशेषज्ञ डाक्टर प्रभु शाह सेवारत छन् । विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिन आएका बिरामीहरु सघन उपचारको लागि जिल्ला बाहिर जाने क्रम रोकिएको छैन् । सरकारले अस्पतालको प्रशासनिक प्रमुख पनि मेडिकल सुपरिटेण्डेण्टलाई तोकेपछि एकमात्र उपलब्ध विशेषज्ञ डाक्टर शाहमाथि प्रशासनिक थप बोझ समेत थपिएको छ । 
दैनिक २० देखि ३० जना ओपिडीका बिरामी जाँच्ने, १० देखि १५ जनाको भिडियो एक्सरे गर्ने, १ देखि ३ वटा सम्म सुरक्षित गर्भपतन गर्ने, एक वटा शल्यक्रिया गर्ने, भर्ना भएका बिरामीहरुको दिनमा अनिवार्य २ पटक चेकजाँच र उपचार गर्ने देखि लिएर प्रहरी रिपोर्ट गरिएका केसहरु ‘ह्याण्डल’ गर्ने सम्मका काम डाक्टर प्रभु शाहका दैनिक काम हुन् । आवश्यकता अनुसार इमरजेन्सीको बिरामी हेर्ने, पोष्टमार्टम गर्ने, एचआइभीका बिरामी, क्षयरोगका बिरामी जाँच गर्ने काम पनि बेलामौका गरिरहेका हुन्छन् । विशिष्ठ प्रकृतिका रोगहरुको लागि निःशुल्क सिफारिस गर्ने काम पनि महिनामा एक दुई वटा गर्न उनैले भ्याउनुपर्ने बाध्यता छ । उनी भन्छन्, ‘यो भन्दा प्रेसर एक जना डाक्टरलाई कति हुन्छ’, ‘सरकारले दरबन्दी बमोजिम डाक्टर पठाए सहज रुपमा अस्पताल सञ्चालन गर्न सकिने थियो ।’
सरकारले ५० वेडको अस्पतालको स्विकृति दिएपनि हाल ३७ वेड मात्र सञ्चालनमा ल्याउन सकेको उनले बताए । १६ जना डाक्टरको दरबन्दी भएको इलाम अस्पतालमा नर्सको भने १५ जनाको मात्र दरबन्दी छ । ‘सुन्दा अचम्म लाग्ला, तर सत्य नै यही हो’, डा. शाहले  बताए । १५ जना नर्सको दरबन्दी भएपनि कार्यरत भने ८ जना मात्र छन् । अस्पताल विकास समितिले मानव संसाधनको व्यवस्थापनको लागि २ जना नर्सलाई करारमा लिएर अस्पतालमा खटाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष केदार थापाले सरकारले डाक्टरहरुको योगदानको मुल्याङकन गर्न नसक्दा अस्पतालमा विशेषज्ञ सेवाको अभाव भएको बताए । उनले दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको चियाबारी दैनिकसँगको कुराकानीको क्रममा बताए । चुनावका मुखमा आवश्यक डाक्टर पठाइदिने वाचा गर्दै भोट ब्याङ्कको रुपमा इलाम अस्पताललाई नेताहरुले प्रयोग गर्न थालेको पनि धेरै वर्ष भयो तर अस्पतालमा विशेषज्ञ डाक्टर पठाइदिने कुरा आश्वासनमा मात्र सिमित हुदै आएको छ । अस्पतालका इलाम अस्पतालमा मानव संसाधनको हिसाबले कुरा गर्ने हो भने २ दशक पहिले भन्दा केही पनि फरक छैन । अस्पताल बाहिर फार्मेसी सञ्चालन गर्दै आएका विनोद थापा भन्छन्, ‘धन्न प्रभु सरले थाम्नुभएको छ, अरु कोही भएको भए यतिका समय इलाम रुँगेर बस्दैन थिए होला ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता