
इलाम, १८ मंसिरः नेपालको संविधान आफूले लेखेको भनेर दावी गर्ने एमालेका सुवास नेम्बाङले मात्र नभएर नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकारको प्रयाशले संविधान निर्माण भएको नेपाली काँग्रेस इलाम क्षेत्र नम्बर दुइका प्रतिनीधिसभाका उमेद्वार केशव थापाले बताएका छन् । पटक पटक बामहरुको नेतृत्वमा बनेको सरकारले संविधान बनाउन नसकेपछि स्वयम् सुवास नेम्बाङ पनि संविधानसभामा अध्यक्ष हुँदा पनि खालो नसारेपछि अन्तत काँग्रेसकै नेतृत्वमा तत्कालीन प्रधानमंत्री शुशील कोइरालाको नेतृत्वमा संविधानको घोषणा भएको थापाले बताए ।
आइतबार इलाम सदरमुकाममा आयोजना भएको विशाल आमसभामा उमेद्धार थापाले संसारकै उत्कृष्ट संविधान भएको बताउने एमालेका सुवास नेम्बाड.हरु अवको ५० वर्षलाई एकैचोटी भोट माग्न थालेका छन् । कम्युनिष्टहरु देउवालाई अन्तिम प्रधानमंत्री भन्दै भोट माग्नुका पछाडि उनीहर निरंकुश प्रबृति रहेको दावि गरे । हामी एक कार्यकालका लागि भोट माग्न जनतामाझ गएका छौ बामहरु ५० वर्षका लागि । लोकतान्त्रिक र बामपन्थीहरुबीचको फरक नै यहि हो । थापाले भने । प्रजातन्त्रका लागि सम्झौता कसैसँग पनि नगर्ने काँग्रेसलाई अरुसँग दाज्न मिल्दैन । हामी धार्मीक, आर्थिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार रक्षाका लागि काम गरेर भोलीको नेपाल संचालन गर्ने अभियानमा लागेका छौ उनले भने ।
संविधान कुनै महाभारत वा बेद होइन भन्दै केशव थापाले यसलाई परिवर्तन गर्न सकिन्छ भने । पहिचानका लागि सिगो देशका आदिवासी, अल्पसंख्यक, मधेसी, पीछडिएका बर्गको मुद्धा सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव नेपाली काँग्रेसले राखेका बेला एमालेका सुवास नेम्बाङहरुले संशोधन हुन नदिएको आरोप थापाले लगाए । संसारको उत्कृष्ट संविधान परिवर्तनशील संविधान भन्नेहरुले नै सवैलाई समेट्न नसकेको र जनजातिको नारा उराल्ने एमालले देशलाई अनकन्टारमा धकेलेको थापाले आरोप लगाए ।