- तिलविक्रम थेवे
प्रतिनिधी सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन मंसिर १० गते सम्पन्न भयो अव दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुन लागेको छ ।
यो निर्वाचनको चियोचर्चा देशविदेशमा भइरहेको छ । विशेषगरी नेपालबाहिर विभिन्न देशमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले यसलाई विभिन्न संचारमाध्यम, फेसबुक सञ्जालमार्फत नजिकबाट नियाली रहेकाछन् भने प्रवासमा सम्बन्धित राजनितिक पार्टीको आआफनो भातृसंगठनहरु आफनो पार्टीले यस निर्वाचनमा आफनो पार्टीले सानदार विजय हासिल गर्ने, सरकार बनाउने भन्द ज्यादैै उत्साहित हुदै प्रचार गरिरहेकाछन् । निर्वाचनअघि बाम गठबन्धन गरेका नेकपा एमाले र माओबादी केन्द्रका भातृसंगठनहरु बाम गठबन्धनको दुईतिहाई आउने कुरामा विश्वस्त छन् ।
नेपाली कांग्रेसको भातृसंगठनहरु आफनो पार्टी फेरीपनि पहिलो हुने भन्दै प्रचार गरिरहेकाछन् । नेपालबाहिर रहेका नेपालीहरुले प्रवासबाट नै मतहाल्न पाउने व्यवस्था गरि दिनुपर्ने कुरामा सरकार र सम्बन्धित पार्टीहरुलाई ध्यानाकर्षण गरिरहे्काछन् । नेपालभित्र उमेदवारहरुले प्रवासमा रहेका नेपालीहरुले प्रवासबाट नै मतदान दिन पाउने व्यवस्था गर्नु अनिवार्य छ भन्ने कुरा भन्दा पनि वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई अव स्वदेशमै रोजगारी दिन सक्ने अवको नेपाल बनाउने आश्वासन दिदैं भोट मागिरहेका छन् ।
यसबाट के कुरा स्पष्ट छ भने, वैदेशिक रोजगारीमा रहेका भारतवाहेकका अन्य मुलुकमा रहेका करीव चालिसलाख युवाहरुलाई देशबाहिर नै काम गर्दै गर हामी नेपालमा नै रोजगारी सृजना गरेर छिट्टै फर्काउनेछौं भन्ने फुस्रो आश्वासन बाडेर युवाहरुलाई मख्ख पारेर रेमिटेन्स भित्राउन उपयोग गर्ने तिकडमबाजी गर्नमात्र नेपालमै रोजगारीको उचित व्यवस्था गरिनेछ भन्ने सुत्र प्रयोग गरेको पाइन्छ ।
यथार्थमा नेपाल बाहिर रहेका लाखौं युवाहरु देशबाहिर गइसकेपछि एक किसिमको अधिकारविहिन तुल्याउने तर आश्वासन चाही दिने प्रवृतिले देशबाहिर रहेका युवाहरु ज्यादै निरास पनि छन् ।
देशमा विकासले गति लिनको लागि नेताहरुमा देशप्रतिको निस्वार्थ भावना बलियो हुनपर्दछ । देशलाई समृद्धशाली बनाउने नारा सवै राजनितिक पार्टीहरुको वास्तविक, यथार्थ र व्यवहारिक हुनुपर्दछ । कोरा नारामा मात्र सिमित देश बनाउने राजनितिक पार्टीहरुको नारा, चुनावी घोषणापत्र, दस्तावेज सवै पुराना हुन् । राजनितिक पार्टीहरु कुर्सी र सत्ताको लागि मात्र कहिले एक ठाउमा मिल्ने, कहिले छुट्टिने प्रवृति यथायत् छ ।
अहिले बाम गठबन्धन एकठाँउमा मिलेर चुनाव लडिरहेकाछन् । एमाले र माओबादी केन्द्रको तालमेल यस निर्वाचनमा बहुमत ल्याउनु हो र मिलेर चुनाव लडेपछि दुवै मत एकठाउमा भएपछि बहुमत पनि आउनसक्ला तर नेपालमा कम्युनिष्ट पार्टीहरु सवैभन्दा बढी फुटने र जुटने गरेको इतिहास मेटिएको छैन स्वयम् वर्तमान बाम गठबन्धनका केही नेताहरुलाई पनि यो तितो यथार्थको अनुभव छ । नेपालमा कम्युनिष्ट पार्टीहरुको गुट,फुट र जुटको कारक तत्व माक्र्सबादी सिद्धान्तलाई आआफनो तरिकाले व्याख्या र विश्लेषण गर्दै मैले लिएको व्याख्या र सिद्धान्त ठिक तिम्रो बेठिक भन्ने अहम् र कोठे बौद्धिक चिन्तन, अनावश्यक बहस, विश्लेषण र शष्लेषण नै हो ।
हुनत नेपाली कम्युनिष्ट पार्टीहरुमा कम्युनिज्मभन्दा पनि बढी त संसद र लोकतान्त्रिक पद्धतिलाई, खुला प्रतिस्पर्धाको बाटो समातेर हिडीरहेका छन् ।
आज भिन्नभिन्न गुट र विचार बोकेका एमाले र माओवादी मिल्न सक्छन् भने फेरी भोली फुटन नसक्लान र ? भन्ने प्रश्न पनि गर्न सकिन्छ ।
नेपाली कांग्रेसको पुरानो नारा उदारवादी लोकतन्त्रको रटान जस्ताको तस्तै छ । पुरानो राजनितिक पार्टीले मुलुकको समृद्ध विकासको लागि निती नै परिवर्तन गर्नुपर्ने हो तर च्याँखे थापेर सत्ता बरिपरि रहनु र अझै सत्ता केन्द्रित मुद्धाहरुमात्र फलाकेर हिडदा नेपाली राजनितिमा अझै केही वर्ष नेपाली कांग्रेस आफनो पुरानो विरासतको दम्भमा राजनितिक सत्ता केन्द्रित, गणितिय मतमा नै अल्झिने कुरा स्वतसिद्ध छ ।
मधेसबादी दलहरुले मधेसको मुद्धा उठाएर गठबन्धन, पार्टी एकिकरण गरेतापनि मधेसबादी पार्टीबाट केही नेताहरु ठुला राजनितिक दलमा समाहित भइसकेका छन् । उनीहरु एकअर्कालाई मधेसको मुद्धा नबोकेको आरोप लगाउदै आफु र आफनो पार्टीमात्र मधेसको जनताको लागि मसिह बन्न सक्ने जिकिर गर्दछन् । यसबाट के कुरा स्पष्ट छ भने अझ केहीवर्ष मधेसबादी दलहरु एकअर्कामा आरोपप्रत्यारोप, कुर्सी र सत्ताको लागि झिनाझपटी गर्ने र पार्टीहरु फुटने जुटने मै सिमित रहनेछन् ।
विचमा पहिचानबादी केही राजनितिक पार्टीहरु निकै सक्रियतापुर्वक जातिय, भाषिय, सामुदायिक पहिचानको मुद्धा बोकेर आन्दोलन र अभियान चलाइरहेका थिए तर स्थानिय निर्वाचनले पहिचानबादी पार्टीहरुलाई स्विकारेको देखिएन । पहिचानबादी राजनितिक पार्टीहरुले ढुलमुले राजनितिक गरेकै हुनाले स्थानिय निर्वाचनमा आफनो साख गुमाएका हुन् भन्ने धेरै विश्लेषकहरुको राय रहयो ।
सातप्रदेश अस्विकार गर्ने पहिचानबादी राजनितिक पार्टीहरुले ऐतिहासिक पृष्ठभुमी,जातिय, भाषिय, सामुदायिक पहिचान र जातिय भुगोललाई आधार मानेर दशप्रदेश भन्दा बढी हुनु पर्ने मुद्धा उठाउदा यसलाई राष्ट्रिय मुद्धा बनाउन सकेनन् । राष्ट्र र सरकारले पहिचानबादीहरुको यो मुद्धा र आन्दोलनलाई केही शहर बजारको चोकचोकमा रमाइलो मान्दै झयाली पिट्दै रयाली गर्नेे तमासाको रुपमा मात्र लिए ।
सडक र चोकचोकमा झयाली पिटदै रयाली गर्दैमा मात्र पहिचानको मुद्धा सम्बोधन हुदैनथ्यो । तर सडक आन्दोलन संगसंगै सदनमा पनि आफनो दरिलो पकड र स्थान सुरक्षित बनाएर जानुपर्दथ्यो यसका लागि जनसमर्थन चाहिएको थियो तर ढुलमुले नितीले गर्दा जनसमर्थन अत्यन्त न्युन रहयो ।
नेपाली जनताहरु विभिन्न राजनितिक पार्टीका उमेदवारहरुको विकासे आश्वासन सुनेर वाक्क दिक्क भइसकेका छन् भने अर्कोतिर सायद अवचाही देशले समृद्धीको बाटो समात्ने भयो नेताहरुले अव देश बनाउने काम प्रतिवद्ध भएर गर्लान् भनेर आश्वस्त भएका पनि छन् तर यथार्थ त्यस्तो होइन ।
यथार्थ त निर्वाचनमा आफुले जित्नको लागि मतदाताहरुलाई आफुतर्फ आकर्षित गर्नमात्र अनेक सुत्र प्रयोग गरेको देखियो । आफनो प्रतिस्पर्धीलाई कमजोर देखाउदै आफुमात्र सक्षम छु भन्ने नेताहरुको रणनिती त राजनिति परम्परागत सस्कार नै हो ।
काठमाडौंको एकजना स्थानियले घरदैलो गरेर जनतालाई आश्वासन दिदैं भोट माग्दै हिडेका उमेदवारहरुलाई यसरी सोध्ने गरेका रहेछन् “विकास तिमीले गर्ने होइन जनताले स्वस्फुर्त गर्ने हो, तर तिमीले सरकार र पार्टीको तर्फबाट ओके मात्र गर न, तिमी नै बाधक बन्ने गरेका छौं जसको कारण हुदै गरेको र हुन लागेको सवै काममा व्यवधान आउनेगर्छ ।
तिमी सक्छौ भने काठमाडौंको भुस्याहा कुकुरहरुलाई निमिटयान्न हुने गरी सखाप पार, काठमाडौंलाई भुस्याहा कुकुररहित बनाउ वातावरण थप स्वच्छ हुनेछ र तिम्रो क्षमताको मुल्यांकन पनि हुनेछ । यसो गर्न सक्छौं त ?”
मतदाताको यो प्रश्नमा त्यो उमेदवारले जितेको भोलीपल्टदेखि नै यो अभियान थाल्ने भनेर गुलियो आश्वासन दिदै हिडेछन् । बाटोमा उम्मेदवारले कार्यकर्ताहरुसंग भनेछन् “काठमाडौंलाई भुस्याहा कुकुररहितको काठमाडौं बनाउने हो भने म यसपटक शहरी विकास मन्त्री हुनुपर्दछ र हाम्रो पार्टीको नेताले अर्थ मन्त्रालय सम्हाल्नु पर्दछ ।”
अव विचार गरौ नेताहरुको सपना कहाँ छ सोच कहाँनेर र कति छ ?
अव फेरी प्रवासमा रहेका नेपालीहरुको प्रसंगतिर जाऔं । अत्यधिक नेपालीहरु वैदेशिक रोजगारीको लागि वाध्यतावस नेपाल वाहिर गएका हुन् । स्वदेशमै परिवारसंगै बसेर केही रोजगारीको मेसो समात्न पाएहुन्थ्यो भन्ने विदेशमा रहेका हरेक नेपालीको मनमा हुन्छ तर देशमा रोजगारी छैन । उद्योगधन्धा, कलकारखानाहरु छैनन् भएकाहरु बन्दछन् । आधारभुत संरचनाहरु छैनन् जहाँ रोजगारीको पर्याप्त अवसरहरु खुलोस् । रोजगारीको लागि अवसरहरु खुल्न सक्ने सम्भावित संरचनाहरुको नक्सा कोरिन अझै दशवर्ष सम्म लाग्नेछ ।
नेपाली जनताले देश समृद्ध होस र देशले विकासको गति लेओस भन्ने छ भने बौद्धिक समुदायहरु राजनितिक स्थायित्व हुनु पर्ने कुरामा जोड दिइरहेकाछन् ।
जवसम्म राजनितिक पार्टीहरुमा एकले अर्काको काँधमा टेकेर आलोपालो सत्ताकै वरिपरी बसिरहने स्वार्थ रहिरहन्छ र यसका लागि सवैखाले स्रोत र साधनको दुरुपयोग गरेर भएपनि आफनो अभिष्ठा मात्र पुरा गर्ने क्रियाकलाप गरिरहन्छन्, सत्तासिन हुदा संसार जितेजस्तो मख्ख पर्ने र सत्ताको आनन्दमा रमाउने, विपक्षमा रहदा संसारै गुमाए झै गरि रातदिन आलाप विलाप गर्ने प्रवृति रहिरहन्छ तवसम्म नेपाली युवा शक्तिहरु वेल्चा बोक्नेदेखि प्राध्यापक, डाक्टर, इन्जिनियर जस्ता दक्ष युवा शक्तिहरु समेत वैदेशिक रोजगारीको लागि लर्को लागेर विदेश जानु वाहेक अर्को विकल्प रहदैन र यो क्रम नेपालमा राजनितिक स्थायित्व र देशलाई समृद्ध बनाउने भिजन बोकेका नेताले देश बनाउने जिम्मा नलिउन्जेलसम्म रहिरहन्छ ।
अहिले देशमा मेरो आवश्यकता छ देश मलाई जिम्मा दिइएको छ देश बनाउने जिम्मा मेरो हो, देश म बनाउछु भन्ने जे जति नेताहरुछन् उनीहरुको भिजन र सपना कुर्सी र सत्ता नै हो र यो अझै दशवर्षसम्म ज्युकात्यु रहन्छ नेपालमा ।
दोस्रो चरणको निर्वाचनको शुभकामना । (लेखक वैदेशिक रोजगारको शिलसिलामा कतारको दोहामा छन् ।)
