इलामको सिमा नाका ७२ घण्टाको लागी शिल

इलाम, २० मंसिरः दोस्रो चरणको प्रतिनिधि एवम प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ७२ घन्टा बन्द गरिएको छ । सुरक्षालाई ध्यानमा राखेर सीमा बन्द गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए । भारतसँग सीमा जोडिएका पूर्वका सीमा नाका सोमबार साँझ ८ बजेबाट ३ दिनका लागी बन्द भएका छन । ‘भारतसँग इलाम खुला सीमा भएको जिल्ला हो, सम्भव भएसम्म सबै नाका सिल गर्छौं’, प्रजिअ पोखरेलले भने, ‘शवबाहन, एम्वुलेन्स तथा उद्धारका साधन बाहेक अन्य साधन प्रवेशमा रोक लगाइएको छ ।’ उनले भारतको सुरक्षा निकायसँग पनि सहकार्य गरेको जानकारी दिए । ‘हामीले बैठक गरेरै भारतका सुरक्षाकर्मीले पनि ७२ घण्टासम्म सहयोग गर्ने वातावरण बनाएका छौ ।’
निर्वाचनको समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर मतपेटिका संकलन नहुन्जेलसम्मको लागी सिमा नाका बन्द गरिएको पोखरेलले बताए । जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा रणनीति पनि तयार पारेको छ । इलामका प्रमुख सीमा नाका पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ, सन्दकपुरलगायतका क्षेत्रमा सुरक्षा सतर्ककता बढाइएको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायतका घटना हुन नदिन विशेष निगरानी बढाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता