इलाममा पर्यटन प्रतिबद्धता र अबको काम !


  • गजेन्द्र कटुवाल

अहिले ग्रीन इलाम र पर्यटनको कुरा जुन साझा नाराको रुपमा अगाडी आएको छ यो अत्यन्तै उत्साहजनक रुपमा देखिएको छ, यो सामुहिकतामा कुनै पार्टी वा वर्ग वा समूह मात्र सम्बद्ध छैनकी समग्र इलामेहरु एक देखिन्छन । इलामको पहिलो आवधिक योजना तर्जुमा हुदै गर्दा इलामको पर्यटनमा एकपटक यस्तो परिस्थिति थियो जुनबेला विशेषतः हरित इलाम, होमस्टे, छोटो तथा लामो पदयात्रा, रेडपाण्डा, लालीगुराँस, माईपोखरी, सन्दकपुर, श्रीअन्तु  जस्ता कुरा उठाउदै गर्दा ज्यादै थोरै अभियन्ताहरु यसमा जोडिन आएका थिए । त्यसमध्ये औपचारिक रुपमा तत्कालिन जिल्ला विकास समिति इलामले आदरणीय युद्धप्रसाद वैद्य सर, धर्म सर, कृष्ण शाह र यो पंक्तिकारलाई पनि पहिलो इलामको आवधिक योजना तथा पर्यटनको बारेमा सघाउन औपचारिक रुपमा आग्रह गरेर लिएको थियो । अरुपनि धेरै प्रयास नभएका होइनन तर पर्यटनको आवाजलाई संस्थागत रुपमा सुनिएको र सुनाइएको अवस्था भने पहिलो इलाम जिल्लाको आवधिक योजना तर्जुमा पछि नै हो भन्दा अतिशयोक्ति नहोला ।
वास्तवमा अहिले नीतिनिर्माणको तहमा तिनै व्यक्तिहरु आउनु भएको छ जो प्रत्यक्ष वा परोक्ष रुपमा त्यो बेला सम्बद्ध हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ– (इलाम मेयर महेश दाई, देउमाई मेयर सुर्यजी, जिल्ला समन्वय समिति प्रमुख गणेशजी, तत्कालीन उद्योग वाणिज्य संघका अध्यक्ष तथा वर्तमान कांग्रेस सभापति हिमालय कर्माचार्य दाई यसका अतिरिक्त तत्कालीन स्थानीय विकास अधिकारी हालका सचिव दिनेश थपलिया र तत्कालिन मेची कार्यक्रमका सुर्यबिनोदजीको नाम बिर्सियो भने अपुरो हुन्छ होला ।) त्यसपछि नरेन्द्रनाथ भट्टराइ दाई तथा केशब धौरालीजीहरुले संस्थागत रुपमा शुरु गर्नुभयो । निजीक्षेत्रको रुपमा सुशीला सापकोटाज्यूको टीम (उद्योग वाणिज्य संघ) ट्याक्सी ब्यवसायी संघ, होटल ब्यवसायी संघ र विष्णु दाहाल दिदी, राम रिमाल, तपस भट्टराई, शेखर गुरुङजी पनि खुब लाग्नु  भएको हो । पछिल्लो समय थेवा तामाङजी, देवानदाई, हरी गुरुङजी सुदीप श्रेष्ठ, राजेश पराजुली लगायतका अरु थुप्रै युवा अत्यन्तै लगनशील भएर लागेको पाइन्छ ! 
यसका अतिरिक्त खेलपर्यटन (माईभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ)ले राष्ट्रिय अन्तराष्ट्रिय प्रचार–प्रसारमा ठूलो योगदान पुर्याएको छ भने स्थानीय निकायहरु दक्षता र क्षमता अनुसार थोरबहुत सचेत देखिएका छन् । जून लोभलाग्दो मान्नुपर्छ, साथै काठमाडौं तथा अन्य देश विदेशमा बस्नेहरुले आफ्नो बर्कत अनुसारको योगदान दिइरहेकै छन र सम्भवत धेरै नामहरू मैले लिन सकिन हुँला क्षमा प्रार्थी छु । अपितु यहाँ उठाउन खोजिएको विषय चै भावी दिनमा इलामको पर्यटनमा के गर्नुपर्ला भन्ने नै हो ! धेरै कुराहरु होलान यद्यपि निम्न बुँदालाई मुल रुपमा मान्न सकिन्छ ।
१. पर्यटन वृहत्तर योजना तथा अधिकार सम्पन्न र स्वायत्त नियमनकारी निकाय
अहिले पनि पर्यटनको सन्दर्भमा हेर्ने हो भने इलाममा निश्चित ठाउँमा र केन्द्रिकृत रुपमा लगानी (निजी, साझेदारी, सरकारी) भएको पाइन्छ, इलामको पर्यटन विकासको लागि अझ पनि वृहत्तर योजना नै मुख्य देखिन्छ, यसको लागि पहिलो काम खण्डीकृत होइन की समग्रतामा अनुसन्धान हुन जरुरी छ । किनकी सबैले भइरहेको र देखिरहेको भएपनि ब्यापक अध्ययन नभएका क्षेत्रहरु धेरै छन र यसका लागि समन्वयात्मक नेतृत्व जरुरी छ । यस्तो अनुसन्धानले इलामका प्रकाशमा नआएका तर अत्यन्तै मौलिक कÞुराहरुलाई अगाड़ी ल्याउनु पर्दछ । यस्तो योजनाले मुलरूपमा दीर्घकालीन र दिगो कार्यक्रमलाई बढ़ावा दिनुपर्दछ । वृहत्तर योजना बन्दा पहिले त वर्तमान स्थानीय निकायले समेत त्यसलाई मान्यता दिने र हाम्रो भन्ने प्रकारले बन्नु पर्दछ । यसका लागि अनुसन्धान, क्षेत्र पहिचान, कार्यक्रमको चयन, निरन्तरता र श्रोत परिचालन समेतमा वास्तविक अर्थमा समान सहभागिता रहनु पर्दछ । जसका लागि मुलतः एउटा अधिकार सम्पन्न र स्वायत नियमनकारी निकायको गठन (प्रदेश स्तरमा) हुनपर्दछ । जसले समन्वय तथा नियमनकारी भूमिका निर्वाह गर्न सकोस् । यसको स्वरूपको बारेमा सबै स्थानीय निकायले गम्भीरतापूर्वक सोचेर काम गर्नुपर्दछ ।
२. दक्ष जनशक्तिको तैयारी र आपूर्ति 
दिनहुँ बढ़ी रहेको पर्यटनको मागलाई धान्न सक्ने जनशक्तिको तयारी (विशेष गरी सेवा क्षेत्रमा) अर्को चुनौती हो जसका लागि स्थानीय र केन्द्रिय निकायका बिचमा तादाम्यता गर्न पनि अधिकार सम्पन्न र स्वायत नियमनकारी निकायको उत्तिकै खाँचो छ । यसका लागि निजी तथा सरकारी निकाय बिच साझेदारीमा समेत काम गर्नुपर्दछ र स्थानीय भाषा, लोक संस्कृति, जातीय संस्कार खाद्य परम्परा, भौगोलिक अवस्थिति, पदमार्ग जस्ता विविध पक्षमा  जानकारी राख्ने स्थानीय सेवा प्रदायकको तयारी एउटा पक्ष भयो भने प्रथम स्थानबाट सेवा प्रदान गर्ने सेवा प्रदायक  (Front line service provider) हरुको तयारी अर्को पक्ष हो । यसका लागि समन्वयात्मक रुपमा काम गर्दै जानु पर्ने अर्को टडकारो आवश्यकता हो ।
३. बाह्य भन्दा आन्तरिक पर्यटक केंद्रित कार्यक्रम 
इलामले सबै कुरा आफै लिएर आउने अनि आशौच मात्र गर्ने र फर्कने बाह्य पर्यटक मात्र होइन कि आन्तरिक पर्यटक जसले इलाममा केही रात बिताउछ र इलामको सेवा र सुविधा किन्न चाहन्छ तिनलाई लक्षित बढ़ी योजना बनाउनुपर्ने देखिन्छ । जसका लागि आन्तरिक पर्यटकको चाप, माग र पहुँचमा आधारित सेवा तथा कार्यक्रमबाट तिनलाई तान्ने तर्फ हाम्रो कोशिश जानु पर्ने हुन्छ ।
४. प्रवासी नेपाली केन्द्रित बजार प्रवर्धन 
हामीले गरिरहेको बजार प्रवर्धनमा इलामलाई अरु जिल्लामा छर्ने अभियानका साथै विश्वभर छरिएर रहेका इलामेलीहरुलाई (संघ संस्था) परिचालित गर्नुपर्ने देखिन्छ, भलै आफ्नो स्तरबाट धेरथोर भैरहेको छ तर आन्दोलन र ‘क्याम्पेन’को रुपमा बढ़ावा दिन जरुरी छ । यसो गरिरहदा एउटा कुरा भन्नैपर्ने हुन्छ की हामीले इलामलाई विदेशमा चिनाउने भनेको विदेशीलाई मात्र होइन की विदेश बस्ने अरु जिल्लाका नेपालीहरुलाई नेपाल गएको बेला इलाम पुग्न पाए हुन्थ्यो भन्ने उत्प्रेरणा जगाउन सके त्यसले मात्र पनि ठूलो योगदान हुन्छ किनकी बिदा मनाउँन घर गएको एउटा नेपाली २ दिन इलाम घुम्न गयो भने आन्तरिक पर्यटनको चाप र उसले गर्ने खर्चले ठुलै फरक पार्नसक्छ । यसमा काम गर्नुपर्ने जरुरी छ । 
५. पर्यटन मैत्री सचेतना र पाठ्यक्रम 
पर्यटकलाई फेरी फेरी आउन सक्ने बनाउने भनेको उपयुक्त मुल्य ९खबगिभ या mयलभथ० मा सेवाको उपलब्धतता हुने हो भने अर्को पर्यटन मैत्री ब्यवहार र भाषा हो जसका लागि अग्रस्थानका ९ँचयलतष्लिभ० सेवाप्रदायकको लागि – ट्याक्सी संचालक, होटल संचालक, पर्यटनस्थल वरपरका समुदाय) र विद्यालयस्तरमा पर्यटन मैत्री ब्यवहार र भाषाको बारेमा उनीहरुलाई सचेतना कक्षाहरु संचालन गर्नुपर्ने देखिन्छ । हाम्रो ब्यवहार नै हाम्रो पहिचान हो र यसरी नै स्थानीय सरकार र शिक्षा निकाय तथा पर्यटन विदहरुको सुझावमा आधारित केही पर्यटन सम्बद्ध पाठ्य सामाग्रीहरुको शुरुआत गर्दै ब्यवसायिक शिक्षा तर्फ पनि अब हाम्रो ध्यान जान जरुरी छ ।
६. पर्यटन सूचना र सुरक्षाको ग्यारेन्टी 
यथेस्ट र भरपर्दो पर्यटन सूचनाको उपलब्धता र विश्वस्नीयता अत्यन्तै ठूलो चुनौती हो यसलाई नियमनकारी निकायले गम्भीरतापूर्वक लिने र ब्यवहारमा उतारने हो भने धेरै कुरा सहज हुनजान्छ । अहिलेको सूचना प्रविधिको यस्तो विकास भएको समयमा सूचना प्रत्येकको हात–हातमा बाँढन सकिन्छ । त्यसको लागि प्रविधिलाई सकेसम्म प्रयोग गर्नुपर्दछ अर्कोतिर आउने पर्यटकलाई सुरक्षाको ग्यारेन्टी पनि गर्नु पर्दछ जुन अत्यन्तै गम्भीर पक्ष हो यस्ता काम गर्न तथा समन्वय स्थापित गर्दै दबाब समेत सिर्जना गर्न पनि नियमनकारी निकाय अत्यन्तै जरूरी छ ।
७. सेवाको अनुगमन र गुणस्तरीयता 
अर्को गम्भीर पक्ष गुणस्तरीयताको आवधिक अनुगमन र लेखाजोखा जसका लगी पनि नियमनकारी निकाय दहे हुन जरुरी छ । साथै यसका लागि स्थानीय निकायका सहयोग र प्रतिबद्धता बिना यो सम्भव छैन । यसलाई निश्चित मापदण्डमा आधारित बनाई आवधिक रुपमा सम्पन्न गर्ने र त्यसको नतीजा समेत प्रकाशन गरी सेवाग्राहीहरुले चाहेको बेला हेर्न सक्ने हुनुपर्दछ जसबाट सेवाग्राहीले सेवाको छनोट तथा विकल्प छान्न सकुन् । अर्कोतर्फ यो अनुगमन प्रणालीले दण्ड र पुरस्कारमा सहजता र पारदर्शिता स्थापित भई गुणस्तरीयता कायम गर्न अहम् भूमिका निर्वाह हुन सक्दछ ।
८. लगानी मैत्री वातावरण तथा पूर्वाधार 
उपर्युक्त कुरा हुँदा हुँदै पनि यथेस्ट पुर्वाधार नहुँदा आशातीत प्रतिफल प्राप्त हुनसक्दैन । केही पुर्वाधारको शुरुआत देखिए पनि लगानी मैत्री वातावरण छैन, यसका लागि लगानी मैत्री नीतिको तर्जुमा महत्वपूर्ण पक्ष हो । यसबाट लगानीकर्ता र लिने बीचमा स्थानीय सरकारले बदलिदो परिवेशमा विश्वासनियता सिर्जना गर्न अहम भूमिका निर्वाह गर्न सक्दछ ।
उपर्युक्त बुँदाहरुलाई सरसरती पस्कने जमर्को मात्र गर्न खोजिएको छ यदि सम्बद्ध निकायहरु विशेष गरी नयाँ जोस र जिम्मेवारीका साथ आउनु भएका स्थानीय तहका नेतृत्व वर्गहरु यस विषयमा उत्साहित देखिएमा इलाममा पर्यटनले छलांग मार्ला, अन्यथा श्रद्धेय युद्ध सरले वर्षौ पहिले सबैलाई रटन लगाउनु भएको “इलाम नकुँदिएको हिरा हो यसलाई कुँदने शिल्पीको खाँचो छ“ यसो भन्दै फेरी पनि यही कुरा दोहोर्याएर शिल्पी कुर्नुको विकल्प छैन ! आउनुहोस नयाँ शिल्पीहरु (स्थानीय सरकार) हामी आफ्नो ठाउँबाट हातमा हात दिन तयार छौ । तपाईंहरु कुद्ने प्रतिवद्धता जाहेर गर्नुहोस अब नगरे कहिले गर्ने ? अस्तु । हाल बेलायत 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता