
इलामको पश्चिमी क्षेत्रको साविक सिद्धिथुम्का गा.वि.स.मा पर्ने सिद्धिथुम्का डाँडाको आफ्नै महत्व छ । समुद्र सतहदेखि करिब १७०० मिटरको उचाइमा अवस्थित यस डाँडाबाट सूर्योदय र सूर्यास्तका मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्त मात्र नभएर यस स्थानबाट तराईका हराभरा फाँट, चुरे पर्वत श्रृखला, पहाडी मनोरम स्थलहरु अनि हिमाली स्वर्ण चुचुराहरुको समेत आस्वाद लिन सकिने हुँदा ईलामका उत्कृष्ट पर्यटकीय स्थल भएर पनि यातायातको असुविधा, प्रचारप्रसारको अभाव पर्यटकीय पूर्वाधार विकासको कमि, सरोकारवालाहरुको निष्कृयता र लागानीकर्ताहरुको ध्यान केन्द्रित नहुनुले यो क्षेत्र ओझेल परेको तीतो यथार्थ हाम्रो सामु छर्लङ्ग छ ।
तसर्थ पर्यटकहरुको आकर्षक गन्तब्य वन्ने सम्भावना बोकेर झोक्रएर बस्न बिवश सिद्धिथुम्का प्रति हामी सबैको चासो बढ्नु भनेको ईलामको पर्यटक प्रबद्घनमा आएको नव सोच र चिन्तन हुनेछ जसले सिद्धिथुम्कालाई उत्कृष्ट गन्तब्य स्थल र पर्यटकका लागि सहज पहँचको क्षेत्र वनाउन सक्नेछ । मात्र बाँकि छ पहँुचबालाहरुको सृजनात्मक दृष्टि र अठोट अनि हाम्रो साझा प्रतिबद्धता ।
साथसाथै सिद्धिथुम्का आसपासमा रहेका सिद्धदेवीको मन्दिर, सहिद रत्नकुमार वान्तवाले भूमीगत राजनैतिक जीवन विताएको रत्न गुफा, अजम्बरे डाँडो आदि स्थलहरुलाई प्रचार प्रसार तथा संरक्षण गरिए पर्यटन प्रबन्धनमा ठूलो सहयोग पुग्नेछ । सूर्योदय, सूर्यास्त लगायतका दृश्यावलोकनका लागि भ्यू टावर, र वनभोज स्थल निर्माणका साथै आवश्यक पूर्वाधार विकास सिद्धिथुम्काको समग्र विकासका लागि प्रथम सर्त हुनुपर्छ । सिद्धिथुम्काको तल सोयाक ७ मा अवस्थित बालीकन्या देवीस्थान, खाटेढुंगा, र्गुथुम डाँडा, निदाखु, रोते बगर, बेलासे, निर्फुक, माईखोलाको नागबेली दृष्य आदि प्राकृतिक टट्टाका साथै धार्मिक पर्यटकीय क्षेत्र अद्धितिय रहेका छन् ।