चोरी नियन्त्रणमा प्रहरी खट्छ, चोरी झन् बढ्छ

  • मनिषा चम्लागाईँ 

बिर्तामोड, ४ चैतः झापा केर्खाकी गंगा तिम्सिना अर्जुनधारास्थित आफन्तको घरमा  १५ दिन अघि पाहुना आएकी थिइन् । सोही राति उनको नगद ,गरगहना र मोवाइलसहित दुई लाख बराबरको धनमाल चोरी भयो । आफन्तको घरमा आएकाले खाना खाएर उनी आनन्दले सुतिन् । झ्यालबाट उनको ब्याग कसैले चो¥यो । ब्याग भित्र राखेको नगद, गरगहना र दुई वटा मोवाइल चोरी भएको तिम्सिनाले सुनाइन् । 
परिवारका चार जना सदस्य एउटै कोठामा सुतेका थिए ।  तर, उनीहरु कसैले चोरीको सुइकोसम्म पाएनन् । विहान उठेपछि मात्र थाहा भयो  सबै सामान  चोरी भएको रहेछ । इलाका प्रहरी कार्यालय बिर्तामोड डिएसपी कृष्णप्रसाद कोइरालाका अनुसार साउनदेखि माघसम्म गरगहना र सामन चोरीका १० वटा उजुरी परेका छन् । कोइरालाले भने, ‘पहिलाको तुलनामा चोरीका घटना केही कम भएकोे छ ।’ चोरी नियन्त्रण गर्न प्रहरी परीचालन गरिएको उनले बताए । चौविसै घण्टा प्रहरी कार्य क्षेत्रमा  हुने उनको भनाइ छ । भारतसँगको खुल्ला सिमानाका कारण चोरीका घटना नियन्त्रणमा चुनैती रहेको कोइरालाले बताए । पूर्वबाट चोरीका मोटरसाइकल कोशी पारि, कोशी पारिबाट चोरिएका मोटरसाइकल पूर्वमा फेला पर्ने गरेको प्रहरीले जनाएको छ । उनले भने, ‘प्रत्येक व्यक्तिले आफ्नो व्यक्तिगत् सुरक्षामा ध्यान दिन आवश्यक छ ।’
नगद तथा गरगहना चोरीका घटना कम भए पनि सवारी साधनको चोरी बढ्ेको छ । एक साता अघि आँगन एफएमका समाचार वाचक मदन संग्रौला  मोटरसाइकल भद्रपुररोड अन्नपूर्ण चोक नजिक अफिस रहेको घरको प्यासेजमा राखेको ठाँउबाटै हरायो । संग्रौलाले भने, ‘प्रहरीमा उजुरी दिएको छु, भेटिन्छ भन्ने आश छ ।’ बजार विस्तारसँगै बिर्तामोडमा सवारी साधन चोरीका घटना बढिरहेको तथ्याङ्कले देखाउँछ । इप्रकामा साउनदेखि अहिलेसम्म ५४ वटा मोटरसाइकल चोरी भएको उजुरी परेको छ । माघदेखि फाल्गुनसम्ममा १३ वटा मोटरसाइकल चोरी भएको उजुरी परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए । 
विषेश गरी पार्किङ गरेर राखेको ठाउँबाट मोटरसाइकल हराउने गरेका छन् । मोटरसाइकल पार्किङ गरेपछि चालकले चाबी झिक्न बिर्सनु, हेन्डिल लक नगर्नु जस्ता कारणले चोरीको घटना दिनानुदिन बढेको बताइन्छ । उजुरीका आधारमा खोजतलास गर्दा ३४ वटा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ । त्यसमा सवारी धनी नखुलेका ११ वटा मोटरसाइकल इप्रका बिर्तामोडमा  रहेका छन् ।  १२ वटा बेबारीसे अवस्थामा भेटेर सवारी धनीलाई बुझाएको र ६ वटा भन्सार पठाइएको इप्रका बिर्तामोडका प्रनि विष्टले बताए । 
बिर्तामोडमा बढेको चोरीका घटना नियन्त्रणमा प्रहरीले नयाँ उपाय चालेको छ । इप्रका बिर्तामोड, ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, बिर्तामोड नगरपालिका र उद्योग वाणिज्य संघको सहयोगमा बिर्तामोड नगरपालिका भित्र सिसि क्यामेरा जडान कार्य भइरहेको छ । 
उद्योग वाणिज्य संघ बिर्तामोडमा अध्यक्ष कुमार भट्टराईका अनुसार पश्चिममा चारपाने चोक, उत्तर महानन्दचोकसम्म सीसी क्यामेरा जडान भइसकेको छ । मुक्तिचोकबाट पूर्व बसपार्क र दक्षिण बिर्ताबजारसम्म जडान गर्ने  योजना रहेको भट्टराईले बताए । भित्री बाटोमा पनि सीसी क्यामेरा जडान गरिने उनले सुनाए । सीसी क्यामेराका कारण चोरी नियन्त्रण गर्न सघाउ पुग्ने भट्टराइको भनाई छ । 
बिर्तामोडको भद्रपुररोड, अतिथि सदन, नयाँ बसपार्क, कृषिथोक बजार लगायतका स्थानबाट दिउँसै मोटरसाइकल चोरी हुने गरेको प्रहरीको भनाइ छ । चोरीको घटनामा युवाको संम्लग्नता बढी रहेको देखिन्छ । लागुऔषधमा फसेका, परिवारबाट टाढा रहेका युवा चोरीमा संम्लग्न रहेको पाइएको छ ।  परिवारबाट आवश्यक पैसा नपाउँदा, साथीभाइको संगतमा लागेर चोरी जस्तो कुकर्ममा लाग्ने युवाको संख्या ह्वात्तै बढेको छ । छोटो समयमा सुखभोग गर्न खोज्नु, दीर्घकालीन सोच नराख्नु चोरीको मुख्य कारण भएको प्रहरीको भनाइ छ । चोरी नियन्त्रणमा घटना नियन्त्रणमा सम्बन्धित निकाय गम्भीर नभए बिर्तामोड असुरक्षित नगर हुने छ ।  
बिर्तामोड पूर्वको व्यापारिक केन्द्र भएको र धेरै जिल्लाबाट व्यवसायका निम्ति मानिसहरु भित्रिने गरेको कारण नगरमा कस्ता मानिसको बाहुल्यता छ तथ्याङ्क राखिनु पर्छ । खुल्ला सिमना, विलाशी जीवनशैली  लगाततका कारणले आपराधिक घटना बढेका हुन् । यसको नियन्त्रण गर्ने कस्तो रणनिती अपनाउनु पर्छ भन्ने विषय सम्बन्धीत निकायको ध्यान केन्द्रित हुन आवश्यक छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता