रोङ गाउँपालिकामा मौरी रिसर्च सेन्टरको स्थापना गरिने

  • गोविन्द पौडेल

रोङ, २९ फागुनः मौरी पालनमा किसानको आर्कषण बढ्दै गएपछि रोङ गाउँपालिकाले मौरी पालनको ब्यवसाय प्रवर्धन र मौरी रिसर्च सेन्टर नै स्थापना गर्ने भएको छ । रोङ गाउँपालिकाको सबै वडाहरुमा मौरी पालनको सम्भावना रहेको र गरिबी निवारणको लागि सहयोगी धेरै सम्भावना देखिएपछि किसानहरुलाई चेतना बृद्धि गराउदै सीप र प्रविधि दिएर गरिबी निवारण, बेरोजगारी र पर्यावरणको जर्गेना गर्ने गराउने उद्देश्य अनुरुप गाउँपालिकाबाट स्वीकृत कार्यक्रम अनुसार मौरी रिर्सच सेन्टरको अवधारणा सहित यसवर्ष मौरी गार्डेन निमार्ण गरिने भएको हो ।
औषधिय गुणको भण्डार महको माग नेपाल र विश्वको बजारमा माग बढिरहेको बेलामा रोङ गाउँपालिकाले वडा नं ४ को किटेनी नजिकै हडियामा मौरी गार्डेनको लागि दुई रोपनी जग्गा समेत प्राप्त गरेपछि मेची राजमार्गमै कार्यालय संचालन गरी कार्य थाल्ने भएको छ । रोङमा मौरीपालनको सम्भाब्यता अध्ययन गरि सकेको र पहिलो चरणमा गाउँपालिकाका किसानहरुमा अभिमुखीकरण तालिम, समुह गठन, प्राविधिक तालिम, मौरीपालनमा झुकावको मुल्याङ्कनको आधारमा पचास प्रतिशत अनुदानमा आधुनिक घार र अन्य उपकरणको वितरण गरिने कार्ययोजना रहेको छ ।
कार्ययोजना अनुसार पूर्वाञ्चल मौरीपालनको श्रोत ब्यक्तिलाई अहिले मौरी गार्डेनमा नियुक्ती गरेर सम्पूर्ण सेवा र सुविधाहरु किसानलाई उपलब्ध गराइने भएको छ । शुरुमा मौरी, मौरीपालन सम्बन्धि ज्ञान र सीप, मौरी पालन गर्ने किसानलाई आवश्यक सबै सामाग्रीहरुको उललब्धता, हुदै मौरीपालनको सहज र सुलभ अनुसन्धान केन्द्र बनाइने भएको छ । मौरीबाट महको अतिरिक्त मैन उत्पादन र प्रशोधनको समेत कार्ययोजनासँगै गार्डेनको साथमा कार्यालयमा हनि रेस्टुरेन्टु बनाएर किसानले उत्पादन गरेको मह खरिद बिक्री र मह पारखीहरुको लागि अध्ययन, अनुसन्धान र अवलोकन भ्रमण केन्द्र समेत बनाएर पर्यटन प्रवर्धनको कार्ययोजना समेत रहेको गाउँपालिकाका अध्यक्ष शमसेर राईले बताए ।
किसानहरुले बढी रासायनिक विषादीको प्रयोगले वातावरणमा पारेको प्रभाव न्युनिकरण र अर्गानिक पद्धतिको विकाससाथै बढ्दो युवा बेरोजगारी घटाउदै आर्थिक सम्बृद्धि र स्वरोजगारको लागि मौरीपालन सहज देखिने भएपछि रोङ गाउँपालिकाले यसवर्ष मौरीपालन विकासको लागि आठलाख रुपैयाँ विनियोजन गरेको थियो । सबै किसान मौरीपालनमा केन्द्रित भएपछि मौरी मार्न सक्ने विषादीको प्रयोग स्वतः घट्ने र कम आय र जग्गा भएका किसानहरुले सामुदायिक वनसँगको सहकार्यमा मौरीपालन गर्ने वातावरण बनेमा त्यसले किसानहरुको जीवनस्तरमा सुधार ल्याउन सक्ने भएकोले पनि यो किसानको छनौट गाउँपालिकाले पहल गरेको उपाध्यक्ष चन्द्रकला राई बुढाथोकीले बताईन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता