
इलाम, २९ फागुनः पूर्वी पहाडी जिल्लाहरूमा बढी उत्पादन हुने चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरू मर्कामा परेका छन् । अलैँचीको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढी उत्पादन हुने नगदेबाली चिराइतोको पनि मूल्य घटेपछि कृषकको आय आर्जनमा कमी आउन थालेको छ ।
अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमा समेत कमी आएको इलामका व्यवसायीहरू बताउँछन् । दुई वर्षअघि प्रति मन ३२ हजार रुपैयाँसम्म खरिद–बिक्री भएको चिराइतो अघिल्लो वर्ष मुस्किलले प्रति मन आठ हजार रुपैयाँमा बिक्री भएको थियो । यो वर्ष पनि मूल्यमा भारी गिरावट भएपछि जिल्लामा चिराइतोको कारोबार नै ठप्प भएको हो । यो वर्ष प्रति मन पाँच हजार रुपैयाँमा कारोबार भइरहेको छ । उच्च रक्तचाप, ज्वरो आउँदा घरेलु औषधिका रूपमा गाउँमा प्रयोग हुने चिराइतो जिल्लाको सुलुबुङ, माइपोखरी, माइमझुवा, माबु, जमुना, प्याङ, नयाँ बजारलगायतका क्षेत्रमा चार हजारभन्दा बढी किसानहरूको आम्दानीको मुख्य स्रोत हो ।
चिराइतोमाथि भारतको एकाधिकार बजार रहेकाले भनेजस्तो मूल्य पाउन नसकेको किसानहरूको गुनासो छ । किसानहरूले चिराइतोको मूल्य नपाइरहेको अवस्थामा जिल्ला वन कार्यालय इलामले जडिबुटी विकासका लागि भनेर गत आर्थिक वर्षमा पकेट क्षेत्रमा चिराइतो खेती विस्तारका लागि २५ लाख रुपैयाँको लागतमा कार्यक्रम संचालन गरेको थियो । महत्त्वपूर्ण जडिबुटी मानिए पनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा छन् । चिराइतो बिक्री नहुँदा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमलगायतका कृषक घरमै थन्क्याएर राख्न बाध्य छन् ।