झापा, २८ फागुन : मोफसलकै सर्वाधिक राशीको फूटलब प्रतियोगिता रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । झापा–११ र आर्मी बीच सोमबार भएको फाइनल खेलमा टाइब्रेकरमा ८–७ हुँदै आर्मी उपाधि चुमेको हो ।
निर्धारत समयमा दुवै टीमले १–१ गोल गरी बराबरी खेलेपछि १५ मिनेट अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमा पनि दुवै टीमबाट कुनै गोल हुन नसकेनपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको ५९औँ मिनेटमा कर्ण लिम्बूले गोल गरेपछि झापाले अग्रता लिएको थियो भने ७९औँ मिनेटमा आर्मीका भरत खवासले गोल फर्काउँदै खेल बराबरीमा लगेका थिए ।
दुवै टोलीले १०–१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८–७ ले जितेको हो । झापाका गोलरक्षक किशोर गिरीको दशौँ प्रहारले जाली चुम्न चुकेपछि झापा पराजित भएको हो । जीतसँगै आर्मीले १२ लाख ५१ हजार नगद, शील्ड प्राप्त गरेको छ भने उपविजेता झापा–११ ले ६ लाखमा चित्त बुझाएको छ ।