
शिक्षा क्षेत्रमा रहेका विकृति अन्त्य गर्ने लक्ष्यका साथ आन्दोलनका कार्यक्रम अघि सारिएको अखिल (क्रान्तिकारी) झापा अध्यक्ष अनिल सुवेदीले बताए । उनले भने, ‘वैशाखदेखि अहिलेसम्मको समयावधि भित्र हामीले झापाका सामुदायिक विद्यालय र नीजि विद्यालयको अनुगमन गर्यौँ, कुन विद्यालयले कति शुल्क लिएको छ र विद्यार्थी कति मारमा परेका छन् भन्ने विषयमा जानकारी लियौँ यसलाई चिर्न हाम्रो अभियान निरन्तर जारी रहने छ ।’ सुवेदीले सामुदायिक विद्यालयले पनि विद्यार्थीलाई महंगो शुल्क लिइरहेको पाइएको बताए । सामुदायिक मात्र नभएर नीजि विद्यालयले मनपरी शुल्क निर्धारण गरेको र त्यसलाई चिर्न दुई विद्यार्थी संगठन अघि बढेको सुवेदीले जानकारी दिए ।
शुल्क बृद्धि विरुद्ध निरन्तर संर्घष गर्ने र ठोस परिमाण हाता नलागेसम्म आन्दोलन नरोकिने अनेरास्ववियु झापा अध्यक्ष दुर्गा धमला बताउँछन् । संविधानले विद्यालय तहसम्मको शिक्षा निःशुल्क भने पनि झापाका धेरै विद्यालयले आफू खुशी शुल्क लिएको बताउँदै यसतर्फ विद्यार्थी संगठनको ध्यान गएको उनले स्पष्ट पारे । पछिल्लो समय देवी मावि बिर्तामोडमा विगत दुई वर्षदेखिको हिसाब किताब सार्वजनिक नभएको र सार्वजनिक गर्न विद्यालय व्यवस्थापन समितिलाई भदौ ७ गतेसम्मको समय लिएको स्मरण गर्दै झापाका अन्य विद्यालयमा रहेको विकृति पनि अन्त्य गर्ने कर्तव्य विद्यार्थी संगठन कै भएको उनले बताए ।
चरम शौक्षिक माफियाकरणको अन्त्य गर्दै ठोस नतिजा हाता लगाउने अनेरास्यववियु झापा क्याम्पस जिल्ला कमिटीका सचिव राजेश कार्की बताउँछन् । उनले भने, हामी झापाली विद्यार्थीलाई राष्ट्रले दिएको अधिकार दिलाएरै छाड्छौँ, महंगो शुल्कका कारण कोही पनि विद्यार्थीले शिक्षा लिनबाट बञ्चित हुननपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’
संयुक्त विज्ञप्तिमा साउन १२ देखि २९ गतेसम्मका चरणबद्ध आनदोलनका कार्यक्रम रहेका छन् । विगत २ वर्ष अघिदेखि भएका प्याप्सन, एनप्याप्सन तथा प्रशासनसँग सहमति अझै पनि कार्यान्वयन नहुने र बर्सेनि पुरानै विषयमा सहमति गर्ने, तोड्ने प्रवृति अन्त्य हुनु पर्ने मागे विज्ञप्तिमा छ ।