
इलाम ९ साउन : दक्षिणी इलामको माइ नगरपालिकामा भएको अनियमितता छानबीनका क्रममा प्रमुख प्रशासकिय अधिकृत कालिदास ढकाल निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुषन्धान आयोगले नगरमा भएको आर्थिक अनियमितता अनुषन्धानका लागि उनलाई निलम्बन गरि हिरासतमा लिएको छ । यसअघि नगरका तत्कालिन लेखा अधिकृत रविनचन्द्र ढकाललाई अख्तियारको टोलीले पक्राउ गरेको थियो । नगरको आन्तरिक लेखा परिक्षणका क्रममा लेखा अधिकृत ढकालले संचित कोषमा जम्मा हुने रकम इण्डोर्स गरी आफ्नो नामको बैक खातामा जम्मा गरेको पाइएपछि अख्तियारले नगरको श्रेस्ता लिएर अनुषन्धान अगाडि बढाएको हो । प्रमुख प्रशासकिय अधिकृत कालिदासका स्थानमा उप सविच माधव ढकाल सरुवा भएका छन् ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका कर्मचारीले आलेप गर्ने क्रममा तत्कालिन लेखा अधिकृत रविनचन्द्र ढकालले अनियमितता गरेको पाएका थिए । सो क्रममा गत वैशाखमै कार्यालयमा रिपोर्टिड. गरेपछि ढकाल सरुवा भएर गएको कार्यालय कटारी नगरपालिकामा पनि यस्तो हुने भन्दै सचेत गराइएको थियो । कटारी नगरपालिकाका नगर प्रमुखले अख्तियारमा छानबीनका लागि उजुरी गरेपछि ढकाल पक्राउ परेका थिए ।
ढकाल पक्राउ लगत्तै आलेपकै क्रममा रहेको नगरको आर्थिक श्रेस्ता अख्तियारले लगेको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार तत्कालिन लेखा अधिकृत ढकालले माइ नगरपालिकामा आर्थिक वर्ष २०७४।७५ मा निकासा भएको संचित कोषको रकम एक करोड ४८ लाख ६३ हजार दुइ भिन्नाभिन्नै मितिमा इण्डोर्स गरी आफ्नो नाममा रहेको व्यक्तिगत वैक खातामा सारेका थिए । पहिलो चौमासीकमा निकासा भएको रकमबाट उनले २०७४ भदौ १ गते ४९ लाख ८७ हजार पाँचसय र दोस्रो चौमासीकमा निकासा भएको रकम २०७४ मंसीर २७ गते ९८ लाख ७६ हजार रुपैया आफ्नो बैक खातामा सारेका थिए । कोलेनिकाका अनुसार वित्तिय समानीकरण र ससर्त अनुदान अन्तर्गत संचित कोषमा जम्मा भएको रकम संचित कोषबाट चालु र पुजीगत खातामा रकमान्तर गर्दा झुक्याएर ढकालले चालु र पुजीगत सँगै एक अर्को चेकबाट आफ्नो व्यक्तिगत वैक खातामा जम्मा गरेको पाइएको छ । सो क्रममा ढकालले सामाजिक सुरक्षा तर्फको रकम वितरण गर्न भनी बैंक र प्रमुख प्रशासकिय अधिकृतलाई समेत झुक्याएको बताइन्छ । अनुषन्धानका क्रममा अख्तियारले नेपाल बैक इलामका तत्कालिन प्रवन्धक मोहन निरौला समेत दुइ जनालाई वयान लिएको छ ।
संचित कोषको रकम व्यक्तिगत ट्रान्स्फर गर्ने ढकालको नियत पछि अनुषन्धानका क्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत कालिदास ढकाल समेत मुछिन पुगेका छन् । कालिदासको समेत मिलेमतो हो कि भन्ने आशंका र उनको कार्यालयको जिम्मेवारी रहने हुँदा अख्तियारले अनुषन्धानको दायरामा ल्याएको छ ।
माइ नगरमा यस्तै खाले अनियमितता समेत देखिएको छ । तत्कालिन लेखा अधिकृत र प्रमुख प्रशासकिय अधिकृत ढकालद्धयकै पालामा एक सेवा निवृत्त र एक सरुवा भएका कर्मचारीको तलव समेत गायव पारिएको छ । अवकास प्राप्त खरिदार याम बहादुर बस्नेतको तलव भत्ता र सरुवा भएर अन्यत्र गएकी कर्मचारी कमला कार्कीको गरी जम्मा चार लाख १५ हजार रकम समेत गायव पारिएको छ । यस्तै विद्यालयको लागि निकासा भएको रकममा पनि करार शिक्षक भुक्तानीका नाममा अनियमितता भएको बताइएको छ । शिक्षामा भएको ८९ लाख ७६ हजार चार सय २५ रुपैया निकासा भएको तर यसको सवै निकासा भएका देखिएको छैन ।
तत्कालिन लेखा अधिकृत ढकाल सरुवा भएर गएको कटारी नगरपालिकामा समेत सामाजिक सुरक्षा वापतको करोडौ रकममा अनियमितता पाइएको छ । सन्दकपुर अनलाइनबाट साभार