प्राविधिक शिक्षामा व्यवस्थापकीय समस्या


  • मनिषा चम्लागाईँ

बिर्तामोड, २४ असारः सरकारले  प्राविधिक शिक्षालाई सहज बनाएसँगै विद्यार्थीलाई सहज भएको छ । यस्तो सुविधाले न्युन आर्थिक अवस्था भएका विद्यार्थीलाई प्राविधिक शिक्षा लिने अवसर मिलेको हो । 
प्राविधिक शिक्षा उपलब्ध गराउँदै आएका झापाका केही सामुदायिक विद्यालयले एसईईमा सन्तोषजनक नतिजा ल्याएका छन् । तर, सरकारले एक पटक व्यवस्था गरेर थप सेवा सुविधाको बारेमा चासो नदिदाँ विद्यालयमा व्यवस्थापकीय समस्या सिर्जना भएको छ । वीरअमर सिंह मावि बिर्तामोडका प्रध्यानाध्यापक यदुनाथ अधिकारीले प्राविधिक धारको पठन पाठन थप सहज हुनु पर्ने बताए । विद्यालयमा व्यवस्था गरिएको ल्याब बारम्बार बिग्रने र मर्मत खर्च विद्यालयले नै उपलब्ध गराउनु पर्ने समस्या रहेको अधिकारीले सुनाए । उनले भने, ‘कक्षा ९ र १०मा ४०÷४० जना विद्यार्थी छन्, सबैजनालाई ल्याबको सेवा उपलब्ध गराउनु पर्छ, व्यवस्थापन गर्न धेरै समस्या छ ।’ आन्तरिक स्रोतले प्राविधिक शिक्षा चलाउनु पर्ने बाध्यता रहेको उनले सुनाए । विद्यालयको २० विगाह जग्गालाई आम्दानीको स्रोत बनाएर शिक्षा उपलब्ध गराउँदै आएको उनले जनाए । झापाका सामुदायिक विद्यलय तर्फ हिमाली मावि दमक पछि वीरअमर सिंह माविले एसईईमा दोस्रो स्थान ओगट्न सफल भएको उनले सुनाए । 
त्यस्तै, धुलबारी मावि धुलाबारीले पनि भेटेरीनरीको कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालय परिसरमा गाईँ, भैँसी, बँगुर, कुखुरा, माछा, बाख्रा पालेर शिक्षण गराउँदै आएको विद्यालयका प्रध्यानाध्यापक महेन्द्रविलास लुईँटेलले बताए । उनले भने, ‘पशुको लागि घाँस, दानापानी व्यवस्था गर्नु पर्दछ, यसको लागि छुट्टै कर्र्मचारीको व्यवस्था गरेका छौँ यो शिक्षा खर्चिलो छ ।’  प्राविधिक शिक्षा व्यवस्थापनमा सरकार गम्भीर हुन आवश्यक रहेको लुईँटेलले जानाए । प्राविधिक शिक्षाको लागि चार जना प्रशिक्षक, दुई जना साहेक प्रशिक्षक, एक जना क्यामेष्ट्रि शिक्षक र एक जना अंग्रेजी शिक्षकको रहेको लुर्इँटेलले जानकारी दिए । सरकारले उपलब्ध गराएको स्रोतले खर्च व्यवस्थापन गर्न कठिन हुने गरेको उनी सुनाउँछन् । उनले भने, ‘सरकारले प्रति विद्यार्थी वार्षिक ११ हजार रुपौयाँ उपलब्ध गराउँछ, यसको ५० प्रतिशत खर्च विद्यार्थीको ओजेटीमा हुन्छ ।’ विद्यालयका शिक्षक सिताराम यादव शिक्षकलाई आवश्यक तालिमको व्यवस्था सरकारी पक्षबाट हुनु पर्ने बताउँछन् । उनले भने, ‘हामी डाक्टर हौँ, शिक्षण विधि कस्तो हुनुपर्छ भन्ने विषयमा अनविज्ञ छौँ, त्यसैले  समय समयमा हामीलाई तालिमको आवश्यकता छ, यसप्रति सरकारको ध्यान जान सकेको छैन ।’ मेचीनगर नगरपालिका शिक्षा शाखा प्रमुख उद्धव विष्टले नगरको तर्फबाट तत्काल प्राविधिकधार सञ्चालन गर्दै आएका विद्यालयलाई बजेट नभएको बताए । उनले भने, ‘विद्यालयले समस्यासहित माग पेस गरेको छ, नगर परिषद्मा पारित भए मात्र सहयोग उपलब्ध गराउन सकिने छ ।’ अहिले विद्यालयको अनुगमन गर्ने बाहेक केही गर्न नसक्ने उनी बताउँछन् । 
सरकारले २०७२ सालदेखि न्यूनतम्मापदण्ड पूरा गरेका विद्यालयलाई प्राविधिक शिक्षा सञ्चानको स्वीकृति दिएको छ । झापाको वीरअमर सिंह मावि बिर्तामोड, हिमाली मावि दमक, जनता मावि गौरादह, धुलाबारी मावि धुलाबारी, भानु मावि शिवसतासी, भानु मावि फुलबारी, अर्जुनधारा मावि अर्जुनधारा, जलथल मावि जलथल, सरस्वती मावि दमकमा प्राविधिक धारको पढाइ हुन्छ । सरकारले  विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तरगत प्राविधिक शिक्षाको सहज पहुँच सुनिश्चत गर्ने उद्देश्यका साथ माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था गरेको छ । 
देशभरका ९९ वटा विद्यालयमा प्राविधिक कक्षा सञ्चालनमा ल्याइएको छ । पूर्वाधार पुगेका सामुदायिक विद्यालयमा प्राविधिक तथा रोजगारमुखी जनशक्ति उत्पादन गर्ने लक्ष्य सरकारले राखेको  छ । प्राविधिक शिक्षा लागु गर्न लागि कक्षा ९ देखि १२सम्म नयाँ पाठ्यक्रमको व्यवस्था गरेको छ । त्यस्तै, प्राविधिक तर्फका प्रशिक्षक, सहायक प्रशिक्षकको प्रबन्ध गरेको छ । प्राविधिक धारको शिक्षा विद्यालयमा नै लिन पाउँदा विद्यार्थी भने हर्षित छन् । तर, सरोकारवाला पक्षले प्राविधिकधार तर्फका विद्यालयको पठनपाठन, शैक्षिक अवस्थाको सुक्ष्म अध्ययन र अनुगमन गरी मुख्य समस्या यकिन गर्न आवश्यक छ  । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता