दृष्टिविहीन रेनुकालाई ५० हजार


बिर्तामोड, २ साउनः मेचीनगर नगरपालिका– ११ धाइजन निवासी दृष्टिविहीन रेनुका राईलाई सुम्नीमा संघ बिर्तामोडले ५० हजार ५० रुयैयाँ आर्थिक सहयोग गरेको छ । 
२२ वर्षीया रेनुकाले विगत १३ वर्षदेखि दुबै आँखाको दृष्टि गुमाएको उनकी आमा पत्माकुमारी राईले बताइन्  । उनले भनिन्, ‘८ महिनासम्म छोरीलाई ज्वरो आयो, त्यसपछि स्थानीय स्वास्थ्यचौकीमा जचाउँदा औलो भएको भनेर औषधी दिनुभयो, औषधी खान थालेपछि आँखा चिलाउने, पाक्ने गर्न थाल्यो तिलगंगामा आँखा अस्पताल काठमाडौँ जाँदा उक्त औषधीले नकारात्मक असर गरेको चिकित्सकले बताए, अहिले छोरीको उपचारका लागि सहयोग मागिरहेका छौँ ।’ 
रेनुका अहिले काठमाडौँको सडकमा गीत गाएर रकम संकलन गरिरहेकी छिन् । तिलगंगा आँखा अस्पतालले उनको एउटा आँखा फेर्न ५ लाख रुपैयाँ लाग्ने  जनाएको उनकी भाउजु सिता राईले सुनाइन् । उनले भनिन्, ‘एउटा आँखाको नशा सुकेका कारण फेर्न नमिल्ने अस्पतालले जनाएको छ, अहिलेसम्म १ लाख ५० हजार संकलन भएको छ, हामीलाई थप सहयोगको आवश्यकता छ ।’
कमजोर आर्थिक अवस्था भएको राई परिवारको अवस्था बारे फेसबुक मार्फत् जानकारी पाएर रकम संकलन कार्यमा जुटेको सुम्निमा संघकी अध्यक्ष ससिताले बताइन् । आफ्नो क्षमताले सकेसम्म थप सहयोग गर्दै जाने प्रतिबद्धता उनले जनाइन् । दाजु भाउजुको साथमा रहेकी रेनुकाको बुबाको ५ वर्ष अघि नै हात्तीको आक्रमणबाट निधन भएको थियो । 
रकम हस्तान्तरण कार्यक्रममा किरात राई यायोख्याका बिर्तामोडका अध्यक्ष बेनु राई, आदिबासी जनजाति महासंघ बिर्तामोडका अध्यक्ष गोपाल राई, रकम संकलनकर्ता समिल राई, प्रेम वाङ्देल लगायतले बोलेका थिए । सरु राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत कमला राईले गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता