
झापा, ५ साउनः भद्रपुर नगरपालिका–५ स्थित निर्माणाधिन मेची पुल दक्षिण मेची नदी किनारको सुकुम्बासी बस्तीका १६ घर परिवार नदी कटानबाट विस्थापित भएका छन् ।
दश वर्षयता बसोवास गर्दै आएका सुकुम्बासी बस्तीका १६ परिवार नदी कटानको मारमा परेपछि असार दोश्रो साताबाट विस्थापित भएका हुन् । मेची पुल निर्माण कम्पनीले बस्ती नजिकसम्म बाँध बाँधेर छोडे पनि १६ परिवारको आश्रय स्थलमा बाँध आइनपुग्दा बाढीको पानी बस्तीमा छिरेर कटान सुरु भएपछि घर छोडेर अन्यत्र शरण लिनु परेको पीडित श्यामल सरकारको गुनासो छ ।
८० घर परिवार बसोबास गर्दै आएको सो ठाउँमा दर्केझरी पर्न थाले बस्ती नै रित्तो पारेर स्थानीय हिड्नु पर्ने बाध्यता रहँदै आएको छ । वर्षादका समयमा त्रास र हण्डर खप्नु पर्ने स्थानीयले राज्यको अनुभूति गर्न नपाएको दुखेसो पोख्ने गरेका छन् । उनीहरूको एउटै भनाइ के हो भने—“विस्थापित परिवारलाई राहत वितरण गरेको फोटो वर्षेनी सार्वजनिक गर्नु भन्दा समस्या हल गर्न राजनीतिक दल, समाजसेवी, सामाजिक संघ संस्था तथा दाता परिवारलाई एक भइ वैकल्पित व्यवस्थापन गरिदिनु हो” ।
बर्षैनी डुबानको चपेटामा पर्दै आएका स्थानीयलाई यस पटक भने नदी कटानको चिन्ता देखिएको छ । मेची पुलबाट दक्षिणतर्फको बस्ती जोगाउन १७० मिटर तटबन्ध बनाइएको र बाँकी ७० मिटर जति काम नगर्दा नदी कटान समस्या आएको जनाइएको छ ।
थप ७० मिटर तटबन्ध निर्माणका लागि स्थानीयले भद्रपुर नगरपालिका, पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीसमक्ष माग गरेका थिए । तर, कतैबाट सुनुवाइ नभएको स्थानीय अजय सिंहले बताए । भद्रपुर–५ नम्बर वडामा रहेको बस्तीका स्थानीयलाई बाढी आए नजिकै रहेको भद्रपुर माविमा बस्ने व्यवस्थाबाहेक अन्य केही काम नभएको उनको भनाइ छ । भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्कीले विस्थापित परिवारलाई सुरिक्षत स्थानमा सार्ने योजना रहेको सुनाए । भने, ‘त्यसबाहेक थप काम गर्न आर्थिक स्रोतको अभाव छ ।’
इन्जिनियर सहितको टोलीले तटबन्ध नबढाइए बस्ती पुन ः डुबानमा पर्ने निष्कर्ष निकालेको थियो । पूर्वतर्फ मेची नदी र पश्चिममा स्थानीय नगर क्षेत्रको पैनीसहितको खोलाले बर्सेनी सुकुम्बासी बस्ती डुबाउने र कटान गर्ने गरेको छ । पुल निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाका अनुसार हुलाकी राजमार्ग आयोजनाले बजेट निकासा गर्नेसाथ अधुरो तटबन्ध पूरा हुने छ ।
सुकुम्बासी बस्तीसहित नगरकै दक्षिणी क्षेत्र भैसाबारीका १ सय २४, मेचीपारिकै नेपाली बस्ती भाङबारीका १ सय १५ र हात्तीमाराका १ सय परिवार बाढी र कटानको जोखिममा रहेका छन् । नगर प्रशासनले आफ्ना पीँडा सुनुवाइ नगरेको पीडितकोे आरोप छ । उनीहरू भन्छन्, ‘हामीलाई भोट तान्ने आधार मात्र बनाएर राजनीति गरियो, समस्याको हल खोजिएन हामी भोट बैँकमा सिमित भयौँ ।’