सयपत्री ५ लाख आम्दानी गर्ने लक्ष्य

  • मनिषा चम्लागाईँ

बिर्तामोड, २३ असोजः महिला उद्यमी संघ नेपाल झापाले गरेको सयपत्री फूल खेतीले चाडपर्व अघि नै राम्रो व्यापार गरेकोे छ । संघ संस्थाले गर्ने कार्यक्रमका लागि फूलको माग बढेपछी माला बजार पु¥याउन उद्यमी संघका महिला व्यस्त छन् ।
फूल टिप्न, माला गाँस्न र माग भएको ठाउँमा लैजान भ्याइनभ्याई भएको महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराईले बताइन् । संघले १ विगाह क्षेत्रफलमा सयपत्री फूलखेती गरेको छ । आफैँ बेर्ना तयार पारेर रोपेको विरुवा २ महिना पछि फूल्न थालेको भट्टराईले सुनाइन् । संघले फूलखेती सम्बन्धी तालिम लिएर काम सुरु गरेको हो । झापा र मोरङका बजारमा गरेर १ लाखको बेर्ना बेचेको भट्टराई बताउँछिन् । यस वर्षको तिहारमा ५ लाख रुपैयाँ बढीको माला बेच्ने लक्ष्य संघले लिएको छ । झापाको मागलाई धान्न १५ विगाह क्षेत्रफलमा फूलखेती गर्न आवश्यक रहेको भट्टराइले जनाइन् । आयआर्जनको प्रमुख स्रोत फूलखेती हुने कुरामा उद्यमी संघमा आबद्ध विश्वस्त छन् । 
विगतका वर्षमा ५ रोपनी जग्गामा लगाएको फूलबाट मनग्य आम्दानी गरेपछि फूलखेतीतर्फ आकर्षित भएको महिला उद्यमी संघ झापाकी सचिव नैनकला भट्टराईले बताइन् । उनले भनिन्, ‘तिहारमा सयपत्री फूलले राम्रो बजार पाउने भए पनि तिहार अघि देखि नै फूलको माग हुन थालेको छ, संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा हाम्रो फूलको माग हुन्छ ।’ अहिलेसम्ममा करिब १० हजार फूलको माला बजारमा पु¥याएको भट्टराईले सुनाइन् । ‘हिजो उद्यमी संघको नाममा मोजा र स्वीटर बनेर बस्ने महिला अहिले फूलखेतीमा अग्रसर हुनुहुन्छ’ संघकी उपाध्यक्ष सुस्मा भण्डारीले भनिन्, ‘हामी २ जनालाई रोजगार दिन पनि सफल भएका छौँ, सानो प्रयासले यति ठूलो सफलता हात पर्छ भन्ने हामीलाई लागेको थिएन ।’


संघमा आबद्ध झापाका ३५ जना महिला काममा अहोरात्र खटेका छन् । आफूले उत्पादन गरेको फूलले तिहारको समयमा बिर्तामोड बजारको मागलाई धान्न सक्ने संघकी सदस्य यसोदा चापागाईँले बताइन् । संघले सयपत्री फूलको माला ६० रुपैयाँमा बिक्री गर्दै आएको छ । फूल अर्गानिक रहेको उनीहरु बताउँछन् । संघका सदस्य महिलाले उत्पादन गरेको गड्यौला मलको प्रयोग गरेर फूल उत्पादन गरेको संघकी अध्यक्ष भट्टराईले सुनाइन् । 
संघले उत्पादन गरेको फूलको प्रत्येक बोटबाट औषतमा पाँचबाट माला बन्ने गरेको छ । उनीहरुले कलकते लोकल जातको सयपत्री रोपेका छन् । बर्खामा भारतबाट कम फूल आयत हुने हुनाले त्यस समयमा पनि फूल उत्पादन गर्न सके राम्रो बजार पाउने उनीहरु बताउँछन् । भारतमा अत्याधिक फूल उत्पादन हुने गर्दछ । नेपाली बजारमा भारतको फूलले राम्रो पकड जमाएको कारण भारतले तोकेको मूल्यमा नै फूल बिक्री गर्नु पर्ने बाध्यता रहेको संघकी सचिव भट्टराई बताउँछिन् । उनले भनिन्, ‘हाम्रो उत्पादनले व्यापारीको मागलाई धान्न सक्दैन, त्यसले गर्दा भारतसँग सम्पर्क टुट्ने डरले भारतीय उत्पादन रोज्न व्यापारी बाध्य छन् ।’ तिहारको समयमा भने बिर्तामोडमा बिक्री केन्द्र स्थापना गरेर फूल बेच्ने योजना संघले बनाएको छ । 

झापामा मात्र ३ करोड रुपैयाँको फूलको माला भारतबाट भित्र्ने जानकारहरु बताउँछन् । बजारमा फूलको माग भए पनि फूलखेती तर्फ ध्यान दिन नसक्दा भारतबाट आयात गरेको फूल प्रयोग गर्न नेपाली बाध्य छन् । महिलालाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यका साथ संघले फूल खेती गरेको हो । बिर्तामोडको मागलाई मात्र धान्न सके व्यापार घाटा केही कम हुने देखिन्छ । समृद्धिलाई नारामा मात्र सीतित नराख्ने उद्देश्य लिएर झापाका उद्यमी महिलाले गरेको कामलाई युवा पुस्ताले अनुकरण गर्न आवश्यक छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता