
बिर्तामोड, १८ कर्तिकः सामाजिक क्षेत्रमा क्रियाशील संस्था पहिलो पाइला नेपालले भाग्य बोक्ने झोला अभियानमा सहयोग गर्ने दातालाई सहयोगको अपिल गरेको छ ।
झापाको बिर्तामोडमा आइतबार पत्रकार भेटघाट गरी संस्थापक महासचिव विजय खड्काले अभियानमा ५ लाख रुपैयाँ लाग्ने र हालसम्म १ लाख रुपैयाँ संकलन भएको जानकारी दिए । बाँकी रकम जुटाउन संस्थाले नसक्ने भएकाले सहयोगको अपिल गरिएको हो । संस्थाले ०७४ माघ १० गते लमजुङका ३ विद्यालयका ५० जना विपन्न तथा कमजोर आर्थिक अवस्थाका बालबालिकालाई झोला वितरण गरी अभियान सुरु गरेको हो ।
सोही कार्यक्रममार्फत एक वर्ष भित्र देशभरका एक हजार जना बालबालिकालाई शैक्षिक सामाग्री सहितको झोला वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
वितरण गरिने एक हजार झोलामा १७ हजार ७० बराबरको शैक्षिक साम्रागी उपलब्ध गराइने पहिलो पाइलाका अध्यक्ष कृष्ण अग्रवालले जानकारी दिए । अभियान मार्फत लमजुङ, कपिलवस्तु, सिन्धुली, मोरङ, पोखरा, रसुवा, गुल्मी, झापा, भक्तपुर, बुटवलमा गरी ६४५ वटा झोला वितरण गरिसकिएको छ ।
अभियानको लागत रकम संकलन गर्न संस्थाले नेपालीको दोस्रो महान चाड तिहारमा देउसीभैलो कार्यक्रको समेत तय गरेको छ । झापा सहित संस्थाको शाखा रहेको अन्य विभिन्न ठाउँमा समेत देउसीभैलो सञ्चालन हुने संस्थाका सचिव मदन ओलीले जानकारी दिए ।
संस्थाले भाग्य बोक्ने झोला अभियान सँगसँगै कैलालीको मोन्याल गाउँपालिका –६मा रहेको कचाली बाल शिक्षाको भवन निमार्ण गर्ने भएको छ । भवन निर्माणमा ६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।