छठको तयारी पूरा

बिर्तामोड, २६ कार्तिकः झापाका मेची, निन्दा, अन्दुवा, विरिङ, कन्काई, कमल तथा रतुवा नदीमा छठ पूजा गर्नका लागि तयारी पूरा भएको छ ।

छठ समाज सेवा समिति बिर्तामोडले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी विरिङ नदीमा हुने छठको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । छठ सम्पन्न गर्न बिभिन्न ९ वटा उपसमिति निर्माण गरिएको समितिका अध्यक्ष घनश्याम चौधरीले बताए । पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष राजकुमार गुप्ता, महिला उपाध्यक्ष संगिता रौनियार, महासचिव मनोजकुमार साहलगायतको उपस्थिति रहेको थियो ।

विरिङ नदीमा हुने छठपूजामा ३ सय ६० घाट तयार गरिएको महिला उपाध्यक्ष रौनियारले बताइन् । एउटा घाटमा दुई परिवारले पूजा गर्न सक्ने उनले जनाइन् । त्यसका लागि ८ लाख अनुमानित खर्च हुने अर्थ व्यवस्थापनका संयोजक शत्रुघन चौधरीले बताए । ढलनिकास, फोहोरमैला र बढ्दोशहरी करणका कारण ५ बर्षअघिदेखि बिर्तामोडको अधुवा खोलामा हुने छठपूजा विरिङ खोलामा सारिएको हो । विरिङ खोलामा हुने छठपूजामा बिर्तामोड, चारपाने, लक्ष्मीपुर र दुर्गापुरका भक्तजन उपस्थित रहने जनाइएको छ । राजवंशी, पहाडी, मारवाडी र मुस्लिमसहित अन्य समुदायका लागि ७० घाट छुट्याइएको जनाइएको छ ।

प्रत्येक स्थानमा विशेष समारोह गरेर छठ पूजा गर्ने तयारीमा श्रद्धालुहरु लागेका छन् । बिशेषगरी तराइवासीहरुले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अध्र्य दिनेछन् । बुधबार विहानको उदाउँदो सूर्यलाई अध्र्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्लपञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन् जसलाई खरना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अध्र्य दिन्छन् ।

व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ ।

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको व्रतालुहरुको विश्वास छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख भएको बताइन्छ । वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा रहेको छ ।

त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ ।चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता